- प्रतिक्षा शाही ठकुरी
उड्ने अनुमति किन लिनु जब कि
उड्ने पखेटा आफ्नै हो,
र आकाश त कसैको हैन-
फेरि किन म सीमित बनूँरु
धेरै नउड् छोरी भनेर भन्ने समाजलाई,
तिमी अरूको पखेटा काट्न अघि सारेको हातलाई हेर भनें।
म मेरो भविष्यलाई निगरानीमा राख्नेछु,
मेरो आकाश खुल्ला छ- म उड्नेछु।
मेरो दाइलाई मात्र होइन, मलाइ पनि बोल्न देउ,
शब्दहरू मेरा पनि अर्थ बोकेका छन्।
शान्त स्वरभित्र लुकेको आँधीलाई
अब नजरअन्दाज नगर्नू, समाज।
मेरो विचार कुनै पुरुषसँग गाँसिएर मात्र बन्दैन,
त्यो मेरै बौद्धिकता र अनुभूतिले बनेको हो।
स्वतन्त्र सोच र स्वतन्त्र सपना-
यी पनि मेरै अधिकार हुन् ।
मुख मात्र होइन, कर्ममा पनि देखाउ
म र मेरो दाइ फरक भए पनि समान छौँ ।
यो बुझ्न सिक समाज,
बराबरीको तराजु अब टेढो नहोस् ।
तिमीले बनाएको सीमित परिभाषा तोड्दै,
म आफ्नो गन्तव्य खोज्दै उड्नेछु।
म छोरी- डर होइन, सम्भावना हुँ ।
अब पर्खालभित्र बाँधिने नाम मात्रको नारी होइन म।