– प्रतिक्षा शाही ठकुरी
छोरी,
मेरि राजकुमारी,
म तिम्रो साथ सधैं रहनेछु,
वा नहुनेछु -
तर तिमी जहिले शिर उचाली हिँड्नू है।
समाजले भन्ला,
"ओइ, खुब घमण्डी भएकी छेस् !"
तर तिमी गर्वले भन्नू -
"म के हुँ, कहाँबाट आएकी हुँ, र मेरो गन्तव्य के हो,
म जान्दछु।"
तिमी साहसी बन्नू ।
भोलिका नयाँ परिवारले
"ओहो! छोरी भएर यस्तो गर्नु हुन्न, उस्तो गर्नु हुन्न" भन्दा,
तिमी दृढतापूर्वक भनिदिनू -
"मैले नै गर्नुपर्छ,
मेरो अधुरो सपना मैले नै पूरा गर्नुपर्छ।"
तिमी निडर बन्नू ।
सपना पूरा गर्दा बाधाहरू आउनेछन्,
आफन्तहरू नै रोक्न खोज्नेछन्,
तर तिमी नडराउनु -
म हुनेछु तिमीछेउ।
तिमी लाग्नू आफ्नै बाटोमा ।
सानोतिनो दुःख भोगी,
भोलिका मिठा गाथा लेख्न तिमी दौडिनु है ।
छोरी,
नभुल्नु है -
तिम्रा सपना कति महत्वपूर्ण छन् भनेर ।
तिम्री आमाजस्तै नअल्झिनु,
ती कलिला इच्छाहरूमा ।
तिमी आत्मा बन्नू - भरोसा बन्नू ।
तिमी सधैंभरि मेरी राजकुमारी बन्नू,
जसले कहिल्यै आफ्नो मुकुट झर्न दिने छैन ।
संसार जतिसुकै कठोर भए पनि,
तिमी आफ्नो कोमलता नछोड्नु।
तिमी रोउला, तर टुट्ने होइन ।
तिमी लडौला, तर हार मानेर झुक्ने होइन।
जीवनले परीक्षाहरू ल्याउनेछ,
तर तिमी सधैं उत्तरजस्तै स्पष्ट रहनू ।
तिमी मेरो सपना मात्र होइन,
तिमी आफैं एक अनुपम कथा हौ ।
राजकुमारी तिमी,
जसले आफ्नै राज्य स्थापना गर्नेछौ -
जहाँ डरको कुनै स्थान हुनेछैन,
केवल आत्मविश्वासको शासन हुनेछ।