-प्रतिक्षा शाही ठकुरी
पर्खनु जीवनको रीत हो,
तर के को पर्खाइ हो, थाहा पाउन सकेको छैन,
खै के हो ?
प्रतीक्षा त छ, शायद आजसम्म नआएको
भोलिको होला कि,
कि त अधुरा सपना हुन्,
जुन पूरा हुन नपाउँदै बिउँझिहाल्छु ।
एति पनि हैनन् भने, पक्कै
मेरा अनगिन्ती इच्छा–आकांक्षाका छायाहरू होलान्,
कुनै मेरा प्रतीक्षास्वरूपका फल होलान्, कतिपय नहोलान्,
तर, प्रतीक्षा छ ।
पर्खँदाको रस तितो छ,
के पर्खँदै छु थाहा नपाउँदा अझै तितो हुँदै छ।
मेरो हौसला हो, न टुट्ने, न मेटिने ।
प्रतीक्षाको तिर्खा, मेटिएला कि नमेटिएला,
तर जीवनको बाफसँगै, उडिरहन्छु म ।
कहिलेकाहीँ लाग्छ, पर्खाइ नै जीवन हो,
जसमा पुग्ने गन्तव्य छैन, तर हिँडिरहनुपर्ने बाटो छ।
हरेक बिहानसँगै उठ्ने एक अधूरो चाहना,
र प्रत्येक रातसँगै ओइलिने कुनै अनकन्टार अपेक्षा ।
यो मुटुको गहिराइमा, कहिल्यै नबुझिने प्रश्नहरू गुँजिरहेका छन् —
म कुन क्षणको पर्खाइमा छु ?
कुन मोडमा आइपुग्छ त्यो बहाना, जसले यो प्रतीक्षा अन्त्य गर्छ ?
शायद त्यो क्षण कहिल्यै नआउने हो,
तर पर्खाइमा रमाउनु,
र त्यसै पर्खाइलाई जीवनको रूप दिनु —
यही त हो मेरो मौन संघर्ष, मेरो अनकही कथा।