ललितपुर, करीव दुई महिनाअगाडि चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वको १२० भन्दा धेरै देशहरुमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पशुबाट मानवमा सर्ने कोरोना भाइरस सात प्रकारका छन् र यसले मुलतः मानव श्वासप्रश्वास प्रणालीमा संक्रमण पैदा गर्छ ।
यसमध्ये चार प्रकारका कोरोना भाइरस (-229E, NL63, OC43 / HKUI) को असर रुघाखोकीजस्तो सामान्य हुन्छ भने (SARS -COV / MERS -COV) को संक्रमणको असर अलि धेरै रहन्छ । हाल देखिएको कोरोना भाइरस भने सातौं प्रकारको कोरोना भाइरस हो ।
प्रारम्भिक अध्ययन अनुसन्धानले यो भाइरस केही वर्षअघि देखिएको सार्स र मार्सजस्तै पशुबाट मान्छेमा सरेको जुनोटिक प्रकृतिको रहेको साथै मानिसबाट पनि पशुमा सरेको पाइएको छ ।
यो भाइरसले संक्रमित मान्छेले खोक्दा, हाछ्यू गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट अर्को स्वस्थ मान्छेको हात, आँखा, मुख हुँदै शरीरभित्र छिरेर श्वासप्रश्वास प्रणालीमा संक्रमण पैदा गर्छ । यसको सामान्य लक्षण देखिन र पहिचान गर्न पनि २ देखि १४ दिनसम्म लाग्ने भएकाले तत्कालका लागि यसलाई फरक प्रकृतिको भाइरसको रूपमा हेरिएको छ ।
यही विशेषताका कारण कोभिड १९ संक्रमित व्यक्तिबाट अन्य धेरै मानिसमा फैलिँदै प्रकोपको अवस्थामा पुगेको छ । डब्लूएचओ र जनस्वास्थ्य विज्ञहरूका अनुसार यसको प्रमुख लक्षणको रूपमा उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, श्वास फेर्न गार्हो हुने, घाटी बस्ने हुन्छ । साथै यो भाइरसले निमोनिया, किड्नीले काम नगर्ने र ज्यानसमेत जानसक्ने अवस्था सिर्जना भएको पाइएको छ ।
विद्यालय बन्द गर्ने, एसईई सार्नेजस्ता निर्णय गर्नेरनगर्ने सन्दर्भमा हाम्रो चिन्ता शैक्षिक क्यालेन्डर नबिगार्ने भन्दा पनि यसले जनतालाई दिने मनोवैज्ञानिक सन्देश के हुन्छ भन्ने छ
यससम्बन्धी वैज्ञानिक खोज अनुसन्धान भइरहेका छन्, आगामी दिनहरूमा थप तथ्यहरू आउँदै जानेछ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संङ्क्रमितको संङख्या झण्डै सवा लाखको हाराहारीमा छ । जसमध्ये आधा सङ्क्रमित पूर्ण रूपमा ठीक भइसकेका छन् । उपचाररतमध्ये ८४ प्रतिशत ठीक हुने क्रममा छन् र बाँकी १६ प्रतिशतको अवस्था सघन छ । मृत्यु हुनेको सङ्ख्या झण्डै ३ प्रतिशत हाराहारीमा देखिएको छ र त्यसमा पाका उमेरका दीर्घरोगीहरूको सङ्ख्या धेरै छ ।
वर्तमान अवस्थालाई डब्लूएचओका महासचिवले नियन्त्रणयोग्य परिस्थिति भनेर सम्बोधन गरेका छन् । यसको अर्थ अहिलेको अवस्थामा कुनै मुलुकले आधारभूत स्वास्थ्य व्यवस्था, जस्तै संक्रमित भएको व्यक्ति पत्ता लगाउने र उसको सम्पर्कमा अएका व्यक्ति ट्रेसिङ गर्नेलगायतका तयारी नगरेको खण्डमा महामारी घातक हुनसक्छ भन्ने हो ।
मुलुकको परिस्थितिअनुसार महामारीसँग लड्न कटिबद्ध भई रणनीति बनाएर काम गरिरहेका सरकार, सचेत नागरिक र समुदायको सामूहिक पहलकदमीमा प्रकोप नियन्त्रण गर्न सकिने देखिन्छ । जस्तै, चीन, जहाँ सबैभन्दा ठूलो सङ्ख्यामा संक्रमित छन् । र, त्यहाँको स्वास्थ्य विभागले हालसालै स्थिति नियन्त्रणमा आइसकेको घोषणा गरिसकेको छ । अनलाईनखबरबाट साभार