काठमाडौँ । कला, साहित्य, प्रविधि, सिर्जनात्मक प्रस्तुति, बहस र मनोरञ्जनलाई संयोजन गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि पहिलो चरणको ‘लैङ्गिक समानता मेला’ सम्पन्न भएको छ ।
बेलायती सरकारको आर्थिक सहयोगमा पिपुल इन नीडको नेतृत्वमा साझेदार संस्था हामी दाजुभाइ र दिव्य विकास स्रोत केन्द्रले सञ्चालन गर्दै आएको ‘सुरक्षा र न्याय कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको हो ।
मेलालाई दुई चरणमा सञ्चालन गर्ने योजना अन्तर्गत पहिलो चरण भदौ १३ गते शुक्रबार पुल्चोकस्थित स्क्वायर होटलमा सम्पन्न भएको हो । उक्त मेलामा ८० जना सरोकारवालाको सहभागिता रहेको थियो । दोस्रो चरण भने खुला निमन्त्रणासहित सर्वसाधारणका लागि आयोजना गरिने बताइएको छ । आगामी महिना मधेस प्रदेश लक्षित मेला पनि आयोजना गरिने हामी दाजुभाइ संस्थाकी कार्यक्रम व्यवस्थापक सुमिक्षा खड्काले जानकारी दिइन् ।
उनका अनुसार पहिलो चरणको मेला दुई सत्रमा विभाजन गरिएको थियो । पहिलो सत्रमा सहभागीहरूले साँप–सिढी, डार्ट खेल, मेहेन्दी बुथ, नीति बुथ, ‘वाल अफ एभिडेन्स’, तस्बिर बुथ, ‘प्रतिबद्धताको रुख’ लगायतका गतिविधिमार्फत् लैङ्गिक समानता र लैङ्गिक हिंसा अन्त्यबारे सन्देश प्रत्यक्ष अनुभव गर्ने अवसर पाए । दोस्रो सत्रमा भने सरकारी तथा गैरसरकारी सरोकारवाला, नीतिनिर्माता, विज्ञ र अभियन्ताबीच प्यानल छलफल गरिएको थियो। छलफलमा लैङ्गिक हिंसा रोकथामका लागि नीतिगत प्रावधान, प्रयास र व्यवहारिक चुनौतीबारे प्यानल छलफल गरिएको थियो ।
मेलाका प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली थिइन् । उनले लैङ्गिक हिंसा रोकथामका लागि नीतिगत प्रयास मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।
‘चेतना हुनु र सचेत हुनु फरक कुरा हो, अब हामी सचेततामा जोड दिनुपर्छ,’ उनले भनिन् । साथै उनले महिला आयोग अझ अपांगमैत्री बन्न नसकेको स्वीकार गर्दै अपांगमैत्री र लैङ्गिकमैत्री भवनका लागि पहल भइरहेको जानकारी दिइन् ।

त्यस्तै प्यानल छलफलमा सहभागी महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले लैङ्गिक हिंसा र बालविवाहसम्बन्धी उजुरीमा विभिन्न किसिमका दबाब आउने गरेको अनुभव साझा गरिन् ।
यस्ता उजुरीमा विभिन्न प्रकारका दबाब आउँछन, तर, हामीलाई कानुनले जे गर्न भनेको छ, हामी कानुनकै दायरामा रहेर त्यही गर्छौँ’,उनले भनिन्, ‘दबाबका कारण गल्ती गरे त्यसको जिम्मेवारी म आफैंले लिनुपर्छ । तर दुःखद कुरा के छ भने, घरेलु हिंसाका मुद्दामध्ये पाँच प्रतिशत पनि न्याय पाउन सक्दैनन् ।’
लैङ्गिक तथा यौनिक अल्पसङ्खयक अभियन्ता भूमिका श्रेष्ठले अन्तरलैङ्गिक बालबालिकामाथि जबरजस्ती यौनाङ्ग शल्यक्रिया गर्ने चलन अझै कायम रहेको बताउँदै तत्काल कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखेकी थिइन् । ‘हामी लगातार तीनै तहका सरकारको ढोका ढक्ढकाइरहेका छौँ,’ उनले भनिन्।

त्यस्तै, पुरुष सञ्जालका दक्षिण एशिया तथा नेपालका पूर्व संयोजक कपिल काफ्लेले समाजमा विशाक्त पुरुषत्वको प्रभावबारे चर्चा गर्दै यसले पुरुष–महिला दुवैलाई असर गर्ने बताए । विशाक्त पुरुषत्व पुरुषमा मात्र होइन, महिलामा पनि हुने गरेको उनको भनाई थियो । ‘जहाँ–जहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ विशाक्त पुरुषत्व प्रकट हुन्छ । मलाई के फाइदा होला भन्ने सोचमा केन्द्रित हुन्छ,’ उनले भने ।
‘विवाह गर्ने बेला पार्टनरसिपमा विशाक्त पुरुषत्व हावी हुन्छ भने, यौनिक आनन्दमा पनि त्यसको प्रभाव देखिन्छ । तर, पुरुषले यो कुरा बुझेका छैनन् । एउटी महिला र एउटा पुरुषबीचको सम्बन्धमा यदि लैङ्गिक समानताको व्यवहार भएन भने, मर्ने बेला आधा जीवन मात्र बाँचेर मरेको जस्तै हुन्छ,’ उनले स्पष्ट पारे । उनका अनुसार, ‘एक–आपसमा सम्मान गरेर, म जन्मजात पुरुष भएको घमण्ड त्यागेर, ‘तिमी ठूलो कि म ठूलो’ भन्ने मानसिकता छोडेर समानता स्वीकार गरियो भने मात्र जीवनमा समान अवसर पाउन सकिन्छ । हाम्रो जिन्दगी अहङ्कार, घमण्ड र असमानतामा डुबाएर होइन, परस्पर सम्मान र समानतामा बाँच्ने हो। त्यसैले, समानताको बाटो रोजेर मात्र हामीले सार्थक जीवन निर्माण गर्न सक्छौँ ।’
एक अध्ययनका अनुसार विवाहित, अविवाहित र एकल महिला मध्ये समाजमा सबैभन्दा बढी हिंसा एकल महिलामाथि हुने गरेको महिला अधिकारकर्मी आरती चटौतले बताइन् । ‘अध्ययनले देखाएको क्रमअनुसार एकल महिलापछि विवाहित महिलाले हिंसा भोग्छन् र त्यसपछि अविवाहित महिलामाथि हिंसा हुन्छ । यस्ता सबै प्रकारका हिंसाको अन्त्य गर्न तत्काल प्रभावकारी कदम आवश्यक छ,’ उनले भनिन् ।
‘विवाहित, अविवाहित र एकल महिला मध्ये सबैभन्दा बढी हिंसा एकल महिलामाथि हुने गरेको छ । त्यसपछि विवाहित र त्यसपछि अविवाहित महिलाले हिंसा भोग्छन्, ’ चटौतले भनिन् ।
प्यानल छलफलमा बालविवाह, लैङ्गिक हिंसा रोकथाम, मानसिक स्वास्थ्य, विशाक्त पुरुषत्व, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अवस्था, कार्यक्षेत्रमा हुने हिंसा, स्वस्थ सम्बन्ध निर्माण, लैङ्गिक समानताका लागि पुरुषहरूको सहभागिता र हिंसाप्रतिको मौनता तोड्नुपर्ने आवश्यकता जस्ता मुद्दामा गहन छलफल गरिएको थियो ।
मेलाको प्रमुख उद्देश्य लैङ्गिक हिंसा अन्त्यका विषयमा सरोकारवालाबीच एकरूपता ल्याउने, हाल निर्माण वा कार्यान्वयन भइरहेका नीतिहरुबारे सुझाव संकलन गर्ने र जीवन्त अनुभव तथा नीतिगत प्रावधानबीचको अन्तर घटाउने रहेको हामी दाजुभाइ परियोजना व्यवस्थापक सुमिक्षा खड्काले जानकारी दिइन् ।