काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा गएको ठूलो पहिरोपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गरेको छ । यसै सन्दर्भमा हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण पाण्डेले घटनापछि प्रशासनले चालेका कदम, जोखिम मूल्यांकन, दीर्घकालीन व्यवस्थापनबारे जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयसँग मिडियाजर्नलले गरेको कुराकानीको सम्पादित अंश :
तिल गाउँमा गएको पहिरोपछि प्रशासनले तत्काल राहत र उद्धारका लागि के–कस्ता कार्यहरू सञ्चालन गरेको छ ?
बिहीबार राति ११ बजे आएको बाढीको जानकारी हामीलाई शुक्रबार बिहान ६ बजे प्राप्त भयो। त्यसपछि तत्कालै हिल्सा इलाका प्रहरी कार्यालय र त्यहाँ रहेको पिओपीबाट सुरक्षाकर्मीहरूको टोली घटनास्थलतर्फ पठायौं । पहिरो प्रभावित क्षेत्रमा पुग्न उनीहरूलाई ९ घण्टाको पैदल यात्रा गर्नु प¥यो ।
शनिबार बिहान टोली घटनास्थलमा पुगेपछि उद्धार कार्य, प्रभावितहरूको व्यवस्थापन र सुरक्षित स्थानमा राख्ने कार्य सुरु ग¥यो । प्रारम्भिक विवरण संकलनपछि बाढीको मूल कारण पत्ता लगाउन सुरक्षाकर्मीहरूको टोली ४ हजार ७०० मिटर उचाइसम्म पुगे पनि टाउको दुख्ने र सास फेर्न गाह्रो हुने समस्या भएपछि उनीहरू फर्किनुप¥यो ।
त्यसपछि स्थानीय पाँच जनाको अर्को टोली माथि पुगेको थियो । उनीहरूले दुईवटा स्थानबाट पानी चुहावट (लिकेज÷सिकेज) भएर ठूलो बाढी आएको हुनसक्ने निष्कर्ष निकाले । यस घटनाले मानवीय वा पशु क्षति नभए पनि खानेपानी पूर्वाधार, बाटाघाटा, काठेपुल, १५ किलोवाट क्षमताको विद्युत योजना लगायत भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । साथै, केही घरहरूमा चिरा परेको जानकारी प्राप्त भएको छ ।
पहिरो प्रभावित क्षेत्रका लागि राहत र सहयोग व्यवस्थापन कस्तो छ ?
स्थानीयहरू आफैंले नजिकको विद्यालय र त्रिपालको सहायतामा अस्थायी आश्रय बनाएर बसिरहेका छन । हालसम्म मानवीय क्षति छैन र घरहरू पनि पूर्ण रूपमा भत्किएका छैनन, तर चिरा परेका छन । प्रभावितको खानपान र बसोबास व्यवस्थापनमा वडा अध्यक्ष र पालिका अध्यक्ष सक्रिय रूपमा लागिपर्नुभएको छ ।
यद्यपि, माथिबाट पुनः बाढी वा पहिरो आउनसक्ने सम्भावनाले स्थानीयमा चिन्ता छ । यस्तो अवस्था अझै स्पष्ट हुन बाँकी रहेकाले विज्ञ टोलीले अध्ययन गरेर जोखिम नहुने प्रमाणित गरे मात्र स्थानीय पूर्ण रूपमा आश्वस्त हुने निष्कर्ष हामीले निकालेका छौं ।
भविष्यमा यस्ता विपद् दोहोरिन नदिन प्रशासनले के तयारी गरेको छ ?
हाम्रो अनुमान अनुसार यो घटना हिमताल फुटेर आएको बाढी वा जलवायु परिवर्तनका कारण हुनसक्छ। यद्यपि, यसबारे निश्चित निष्कर्ष विज्ञ टोलीले निकाल्नुपर्नेछ। यदि हिमताल फुटेको हो भन्ने पुष्टि भयो भने हिमालय क्षेत्रका जोखिमयुक्त बस्तीहरूलाई दीर्घकालीन योजनाअन्तर्गत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका उच्च हिमाली क्षेत्रका बस्तीलाई लक्षित गरी राष्ट्रव्यापी योजना बनाइनु जरुरी छ ।
जिल्ला प्रशासनले तत्काल के गर्दै छ र भविष्यका लागि के योजना बनाएको छ ?
हामीले हुम्ला प्रशासनको तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । यो घटनाबारे प्रदेश सरकार, संघ सरकार र सम्बन्धित सबै निकायलाई जानकारी गराइसकेका छौं। जोखिम न्यूनीकरणका लागि दीर्घकालीन राष्ट्रिय योजना आवश्यक छ, जसअन्तर्गत उच्च जोखिम भएका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने व्यवस्था गर्नुपर्छ। हामी यही आग्रह उच्च तहसम्म पु¥याएका छौं ।
यस किसिमका विपद् घटनाहरू पुनः नदोहोरिउन् भन्नका लागि दीर्घकालीन रुपमा के गर्न आवश्यक छ ?
यसमा राज्यको दीर्घकालीन सोच र ठोस कार्ययोजनाको खाँचो आवश्यक छ । यदि हिमताल फुटेकै कारण यो विपद् आएको हो भने, यो जलवायु परिवर्तनको असर हो भन्ने बुझिन्छ । यस्तो घटनाबाट भविष्यमा जनधनको क्षति हुन नदिनको लागि हिमालय क्षेत्रका जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक छ ।
त्यसका लागि संघीय सरकारको नेतृत्वमा राष्ट्रव्यापी रूपमा दीर्घकालीन र वैज्ञानिक आधारमा आधारित योजना बनाउनुपर्छ । जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर मात्रै यस्तो रणनीति कार्यान्वयन गर्न सकिन्छ । जोखिमको सामना गर्न हामी जिल्ला तहबाट सक्दो प्रयास गरिरहेका छौं मैले देशर भरका जोखिम क्षेत्रका कुरा गरेँ । तर अब यस्तो विषय उच्च तहबाट सम्बोधन हुनुपर्छ । जोखिम क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य अब राष्ट्रिय प्राथमिकताको विषय हुनुपर्छ।