काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० मा नर्दन टेरिटोरी (एनटी) स्ट्राइकले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटको रूपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी केन रिचडर्सनको बलमा २३ रनमा आउट भएका हुन् । नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख र तेस्रो नम्बरका लोकेश बमलाई सस्तैमा गुमायो ।
कुशल ३.१ ओभरमा ८ रनमै बोल्ड भए । यही ओभरको चौथो बलमा लोकेश बम शून्यमै क्याच आउट भए । यस्तै, आसिफ शेख ११ रनमा आउट भए । उनीहरू तीनै खेलाडीलाई म्याट ह्यामन्डले पवेलियन फर्काएका हुन् ।
त्यसअघि डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ मा टस हारेर ब्याटिङको मौका पाएको नर्दनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
उसका लागि कप्तान तथा ओपनर डार्सी सर्टले उत्कृष्ट पारी खेले । उनले ३४ बलमा सात चौका र एक छक्कासहित ५१ रनको पारी खेलेका हुन् ।
यस्तै, थोमस एन्ड्रयूजले अविजित ३२, जोर्डन सिल्कले १९ र कोनर क्यारोलले १८ रन बनाए । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले चार ओभरमा ३८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।
यस्तै, साहब आलमले दुई तथा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र रुपेश सिंहको नाममा एक-एक विकेट रह्यो । एनटी स्ट्राइकले सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो । ऊ गत वर्ष सेमिफाइनलमा पुगेको थियो । नेपाल भने पहिलोपटक यो प्रतियोगिता खेलिरहेको हो ।