काठमाडौँ । बागमती गाउँपालिकाले व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी सञ्चालन गर्न खेलाडी छनौट प्रक्रिया सुरु गरेको छ। आइतबारदेखि वडा नं– ४ स्थित सहिद स्मृति रंगशालामा प्रारम्भिक चरणको छनौट गरिएको हो।
पहिलो दिन वडा नं– ४ र ५ का खेलाडी सहभागी भएका छनोटमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले भदौ ८ गतेसम्म सबै वडाबाट खेलाडी छनौट पूरा हुने जानकारी दिए । उनका अनुसार अन्तिम चरणमा छनौट भएका खेलाडीलाई एकेडेमीमा समेटी व्यवस्थित तालिममार्फत व्यवसायिक स्तरका खेलाडी उत्पादन गरिनेछ ।
एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले स्थानीय तह, सरकार र एन्फाबीचको सहकार्यले फुटबल क्षेत्रमा नयाँ उत्साह जगाएको बताए । उनले एकेडेमी सञ्चालनका लागि एन्फा पनि सक्रिय सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
मुख्य प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको प्राविधिक टोलीले छनौट प्रक्रिया सञ्चालन गरिरहेको छ। राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमती गाउँपालिकाले अब दीर्घकालीन रुपमा फुटबल प्रतिभा विकास गर्ने उद्देश्यसहित एकेडेमी स्थापनाको तयारी अघि बढाएको हो । छनोटमा सफल खेलाडीलाई बागमती–८ स्थित एकेडेमी भवनमा आवासीय सुविधा सहित प्रशिक्षण प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
छनोट उद्घाटन कार्यक्रममा एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, सदस्य आलोक स्याङ्तन, वडा नं ४ का अध्यक्ष दन्तलाल माझी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर थिङ, उपाध्यक्ष मुक्ति लामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो।