काठमाडौँ । आजको समयमा युवापुस्तामाझ ट्याटु बनाउने क्रेज तीव्र रूपमा बढ्दै गएको छ। धेरै मानिसहरू फेसन र स्टाइलको रूपमा यसलाई अँगालिरहेका छन्। तर, यो फेसन स्वास्थ्यका दृष्टिकोणले खतरनाक पनि बन्न सक्ने सम्भावना देखिएको छ।
विशेषज्ञहरूका अनुसार, ट्याटु बनाउँदा प्रयोग गरिने मसी (स्याही), सुई र अन्य उपकरणहरूका कारण हेपाटाइटिस बी, हेपाटाइटिस सी, एचआईभी, छालासम्बन्धी एलर्जी, लिभर समस्या र रक्त क्यान्सर जस्ता गम्भीर रोग लाग्ने जोखिम रहन्छ।
भर्खरै स्वीडेनमा गरिएको एउटा अध्ययनमा ११,९०५ जनालाई समावेश गरिएको थियो। अध्ययन अनुसार, ट्याटु बनाएका व्यक्तिहरूमा लिम्फोमा (रक्त क्यान्सरको एक प्रकार) हुने सम्भावना उल्लेखनीय रूपमा देखिएको छ। विशेषगरी पछिल्लो दुई वर्षभित्र ट्याटु बनाएका व्यक्तिहरूमा यस्तो जोखिम झनै बढी पाइएको हो।
ट्याटु बनाउने चाहना भएका व्यक्तिहरूले सस्तोको लोभमा असुरक्षित स्थान रोज्दा स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना हुन्छ। सडक छेउका फुटपाथमा रहेका ट्याटु बनाउने ठाउँहरूमा प्रयोग हुने सुई, मसी र उपकरणहरू प्रायः अस्वच्छ र अमानक हुन्छन्। एउटै सुई धेरै व्यक्तिमा प्रयोग गर्दा संक्रमणको खतरा अत्यधिक हुन्छ।
ट्याटु बनाउँदा ध्यान दिनुपर्ने मुख्य कुरा यस्ता छन्:
-
प्रयोग हुने सुई नयाँ र स्टेरिलाइज गरिएको हुनुपर्छ।
-
आर्टिस्टले सरसफाइमा विशेष ध्यान दिनुपर्छ र सधैं पञ्जा (ग्लोभ्स) प्रयोग गर्नुपर्छ।
-
प्रयोग हुने मसी गुणस्तरीय र छालालाई असर नपर्ने हुनुपर्छ।
-
ट्याटु बनाइसकेपछि उपकरणहरू उचित रूपमा सफा गरिनुपर्छ।
विशेषज्ञहरू भन्छन्, ट्याटु बनाउनु आफैंमा गलत होइन, तर प्रमाणित र अनुभवी ट्याटु आर्टिस्टबाट मात्र सुरक्षित स्थानमा ट्याटु बनाउनुपर्छ। जथाभावी र असुरक्षित स्थानमा बनाइएको ट्याटुले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
फेसनभन्दा पहिला स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भएकाले ट्याटु बनाउने सोचमा हुनुहुन्छ भने सोचविचारपूर्वक निर्णय लिनु नै बुद्धिमानी हुनेछ।