सर्लाही (हरिवन) । सर्लाहीको हरिवनमा रहेको समृद्धि बचत तथा ऋण सहकारीको शनिबार १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को अवधिमा २२ करोड, ३० लाख, २० हजार ९ सय ७१ रुपैयाँको कूल कारोबार विवरण प्रस्तुत गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा १६ करोड, ३२ लाख, ४ हजार ६ सय ७ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ हजार ४ सय शेयर सदस्य मार्फत २ करोड, २६ लाख, ६३ हजार ८ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले १८ करोड ३ लाख, ५० हजार, १ सय ४६ रुपैयाँ कर्जा लगानी गरेर ९५ लाख, १३ हजार, ८ सय ३८ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका अध्यक्ष ताराराज पन्त (अर्जुन) ले जानकारी दिए ।
नियमित, ऐच्छिक, विशेष, ऋण, उखु किसान, दैनिक, सदस्य सुरक्षण, बाल, आवधिक, वृद्धभत्ता तथा कर्मचारी पेन्सन, बहुमूल्य सामाग्री तथा घर जग्गा खरिद, एकल महिला तथा अपाङ्ग, सुरक्षित सुत्केरी गरि १३ प्रकारका खाताबाट संस्थाले कारोबार गरिरहेको उल्लेख गरिएको छ । संस्थाले जगेडा तथा अन्य कोष तर्फ २ करोड, ४५ लाख, ६७ हजार, ६ सय ९६ रुपैयाँ विनियोजन गरि संस्थाको अवस्था बलियो बनाएको छ । संस्थाले यस वर्ष शेयर लाभांस कोषबाट कूल १४.९० प्रतिशत बोनस सदस्यलाई वितरण गरिएको संस्थाका सचिव सुरेश भट्टराईले जानकारी दिए ।
संस्थाका अध्यक्ष ताराराज पन्त (अर्जुन) अध्यक्षता भएको कार्यक्रमको उद्घाटन गर्दै हरिवन नगरपालिकाका प्रमुख हरिमाया रमेश बुढाथोकी (कमल) ले सहकारीले सामाजिक कार्य गर्दा नगरपालिका सँग समन्वय गरेर अगाडि बढ्दा नगरपालिकाले थप सहयोग गर्ने उल्लेख गर्दै आर्थिक मन्दीमा ऋण बुझाउन नसकेका विपन्न ऋणीहरुलाई निश्चित अवधिका लागि स्किम प्याकेज ल्याएर ऋण उठाउनु पर्ने सुझाव दिए । नगर प्रमुख बुढाथोकीले नगरपालिकाले सहकारी लगायत बजार अनुगमन गरेर गलत क्रियाकलाप नियन्त्रण गरिने जानकारी दिए ।
संस्थाका उपाध्यक्ष डाकुरनाथ खतिवडाको स्वागत मन्तव्य सहित शुरु भएको सभामा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्य, नेपाल बार एसोशियसन सर्लाहीका अध्यक्ष ओमप्रकाश थापा, हरिवन नगर सहकारी संजालका संयोजक रामप्रसाद घिमिर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका अवकाश प्राप्त व्यवस्थापक चिरन्जीवी भट्टराईसहित असल ऋणी, नियमित बचतकर्ता, बाल बचत तथा २०८० को एसर्ईई परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याएर उतिर्ण भएका शेयर सदस्यका परिवारका एक/एक जना छात्र–छात्रालाई सम्मान गरिएको थियो ।
त्यसैगरी साधारण सभाले संस्थाको नयाँ संचालक समितिका लागि संस्थाका संस्थापक अध्यक्ष ईन्द्र पाठकको नेतृत्वमा तीन सदस्यीय निर्वाचन कमिटी चयन गरेको छ । कमिटीमा अधिवक्ता ओमप्रकाश थापा र पूर्व शिक्षा उपसमिति सदस्य शिव कुमारी दाहाल सदस्य रहेका छन् ।