एजेन्सि, ०४ मंसिर । संयुक्त राष्ट्र सङ्घले विश्व शौचालय दिवस मनाउँदै गरेको सन्दर्भमा एम्नेस्टी इन्टरनेसनल, वाटरएड र अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालले भारत, बंगलादेश, नेपाल र पाकिस्तानका अधिकारीहरूलाई आफ्नो ज्यानै जोखिममा राखी कोभिड–१९ महामारीको अग्रपङ्तिमा कार्यरत सरसफाइ कर्मीहरूलाई सुरक्षित राख्नका लागि तत्काल उपयुक्त कदम चाल्नका लागि आह्वान गरेका छन् ।
दक्षिण एसियामा शौचालय र बाटो सफा गर्ने, चर्पीको खाडल खाली गर्ने र ढल मरमत गर्ने श्रमिकहरूले स्वास्थ्य र सुरक्षासँग सम्बन्धित चर्को जोखिम भोगीरहेका छन् । उनीहरूले व्यक्तिगत सुरक्षात्मक उपकरण, जोखिमलाई सामना गर्ने तालिम, रोजगार सुरक्षा, सामाजिक सुरक्षा, स्वास्थ बीमा र हातधुने सुविधामा पहुँच आदिको अभाव झेलिरहेका छन् । यी देशमा सरसफाइसम्बन्धी काममा देखिने जातियताको आयामले गर्दा सरसफाइकर्मीहरूले अन्य पेशा अँगाल्न खोज्दा वा सुविधाहरू प्राप्त गर्ने क्रममा उच्च रूपमा लाञ्छित हुने वा विभेदको शिकार हुने गरेका छन् ।
वाटरएडद्वारा गरिएको नयाँ अनुसन्धानले भारत, पाकिस्तान, नेपाल र बंगलादेशमा कोभिड–१९ महामारीले गर्दा यी श्रमिकहरूको स्थिति अझै बढी नाजुक भएको देखाएको छ । कोभिड–१९ सम्बन्धी जोखिमका बारेमा र व्यक्तिगत सुरक्षात्मक उपकरण कसरी प्रयोग गर्ने भन्ने विषयमा सीमित तालिम दिएकै आधारमा कतिपयलाई त कोभिड–१९ क्वारेन्टाइन केन्द्रहरूमा सेवा गर्नका लागि पुनः खटाउने पनि गरिएको छ । कतिपय अवस्थामा काम गर्ने समयावधि बढाइएको र त्यसरी बढाइएको अतिरिक्त समयको पारिश्रमिक नदिइएको तथा कतिपय अवस्थामा उनीहरूले प्रदान गर्ने सेवाको मागमा पनि कमी आएको कारणले सफाइकर्मीहरूको आर्थिक सुरक्षा प्रभावित भएको छ । लकडाउनका कारण उनीहरूको यातायात खर्च पनि बढेको छ र रोजगारदाताले मास्क र अन्य उपकरण उपलब्ध नगराएपछि धेरैले आफ्नै पैसाले यी सामग्रीहरू किन्नुपर्ने बाध्यता छ।
“सरसफाइ कर्मीहरू महामारीको अवधिभर दक्षिण एसियाका शहर र नगरहरूलाई गतिशील राख्ने लुकेका श्रमशक्तिका रूपमा देखिएका छन् तर उनीहरूले धेरै खराब र प्राय आफ्नो ज्यानै जोखिममा रहेको अवस्थामा काम गरिरहेका छन् र उनीहरू जात र धर्मको आधारमा गरिने विभेद र लाञ्छनाको शिकार पनि बन्ने गरेका छन् । वाटरएडका दक्षिण एसिया क्षेत्रीय एड्भोकेसी म्यानेजर वनिता सुनेजाले भन्नुभयो ।
“कोभिड–१९ र लकडाउनका कारण खासगरी अनौपचारिक रूपमा काम गरिरहेका यी सरसफाइकर्मीहरूमा यस्ता जोखिमहरू अझ गम्भीर भएका छन् । धेरैजसो महिला सफाइकर्मीहरू अनौपचारिक श्रमिकका रूपमा रहेका छन् र उनीहरूले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । यी श्रमिकहरूको सुरक्षा र मर्यादा असमानुपातिक रूपमा प्रभावित भएको छ ।”
अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता सञ्जालले बिना कुनै सुरक्षा उपकरण ढल निकास वा बिना सुरक्षात्मक उपकरण सुख्खा शौचालय सफा गर्ने काम गर्न बाध्य पारिएका तल्लो जातका सफाइकर्मीहरूको दुरावस्थालाई उजागर गर्दै अभियानहरू चलाएको छ । धेरैजसो श्रमिकहरूले जातीय प्रणाली अन्तर्गतको निर्दिष्ट अवस्थितिका कारण यो पेशालाई वंशजका आधारमा ग्रहण गरेका हुन्छन् । यो सामाजिक दर्जा उनीहरू बसाइसराइ गर्ने क्रममा उनीहरूसँगै बंगलादेश जस्ता देशहरूसम्म पुगिसकेको छ जहाँ सडक सफा गर्नेहरू धेरैजसो दलितहरू छन् र उनीहरू सफाइसम्बन्धी काम गर्ने श्रमिकहरू मात्र बस्ने अलग्गै कोलोनीमा बस्दछन् । यी देशका श्रमिक र मानवअधिकार रक्षकहरू उनीहरूको अधिकारको लागि लडिरहेका छन् तर उनीहरूलाई विश्वव्यापी ऐक्यबद्धता र द्रुत गतिको कार्यको आवश्यकता छ ।
“यी श्रमिकहरूले कुनै पदक खोजिरहेका छैनन् । उनीहरूले आफ्नो अधिकार र मर्यादाको सम्मानका लागि आग्रह गरिरहेका छन् र समुदायका अन्य तप्का र व्यक्तिहरूको स्वास्थ्य र सुरक्षामा जुन खालको चासो अधिकारीहरूले देखाइरहेका छन् त्यो उनीहरूमा पनि विस्तार होस् भन्ने उनीहरूको माग हो” इन्टरनेसनल दलित ऐक्यबद्धता सञ्जालकी कार्यकारी निर्देशक मिना बर्माले बताउनु भयो ।
सफाइकर्मीहरू लक्षित अनेक लाञ्छना र विभेदका घटना सन्दर्भहरू दक्षिण एसियाभरी नै हुने गरेको प्रतिवेदनहरू प्राप्त भएका छन् । एम्नेस्टी इन्टरनेसनलले भारतमा सफाइ श्रमिकहरूको सम्मान र संरक्षण सुनिश्चित गर्नका लागि भारत सरकारलाई आह्वान गरेको छ । धेरै लामो समयदेखि समाजले सरसफाइ श्रमिकहरूको अधिकार र उनीहरूको कार्य अवस्थाका बारेमा बेवास्ता गर्ने विकल्पलाई रोजेको छ । चाहे कोभिड–१९ को समय होस् वा अन्य सामान्य समय सफाइ श्रमिकहरूको पनि सुरक्षा, मर्यादा र कार्यस्थलमा आवश्यक संरक्षणसम्बन्धी उत्तिकै अधिकार हुन्छ जति अन्य श्रमिकहरूको हुने गर्दछ । अधिकांशजसो दलित समुदायबाट प्रतिनिधित्व गर्ने करिब ५० लाख सफाइ श्रमिकहरू हातैले ढल,नल र मानवमल तथा,सेप्टिक ट्याङ्की आदि सफा गर्न बाध्य छन् । सरकारहरूले यी अत्यावश्यकीय श्रमिकहरूको योगदानलाई स्वीकार्नुपर्दछ र उनीहरूको अधिकार संरक्षण गर्नुका साथै सुरक्षाको ख्याल गर्नुपर्दछ ।
“सफाइ श्रमिकहरूमध्ये धेरैजसो दक्षिण एसियामा तल्लो जातका मानिने दलितहरू रहेका छन् । वंशजको कारण उनीहरूले ऐतिहासिक रूपमा चरम स्वरुपको अमर्यादित व्यवहार, दमन, बहिष्करण र विभेद भोगेका छन् ।
पहिल्यैदेखिको उनीहरूको सीमान्तकृत अवस्थालाई कोभिड–१९ महामारीले झन जटिल बनाइदिएको छ, “एम्नेस्टी इन्टरनेसनलका महासचिवको कार्यालयका निर्देशक डेभिड ग्रिफिथ्सले भन्नुभयो । “यसले जन्मकै आधारमा कसैलाई मानव मलमूत्र हातैले सफा गर्ने र वसारपसार गर्ने परम्परागत कार्य गर्नमा बाध्य बनाइनुपर्दछ भन्ने कुरा विश्वास नै गर्न नसकिने तवरमा रहेको देखाउँछ । सरकारले यी श्रमिकहरूको अधिकार संरक्षणको लागि गम्भीर कार्य गर्नुका साथै कसैलाई पनि यस्तो गैरकानुनी,अपमानजनक र अमानवीय व्यवहारको शिकार बनाउने कार्यबाट तत्कालै रोक्नु पर्दछ ।”
र याे पनि हेराै