ललितपुर । मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि ललितपुर जिल्लामा व्यापक तयारी अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले हालै तयार पारेको विपद् प्रतिकार्य योजना २०८२÷८३ अनुसार जिल्लामा जोखिमयुक्त क्षेत्र पहिचान गरी विभिन्न निकायबीच समन्वयमा पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गिता घिमिरेले जानकारी दिए अनुसार योजनामा जोखिमयुक्त क्षेत्रको अवस्थाबारे विवरण, सुरक्षित स्थानको पहिचान, जिम्मेवारी बाँडफाँड, तथा स्थानीय तहको भूमिका स्पष्ट उल्लेख गरिएको छ । विशेषगरी महाङ्काल गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ भने बागमती र कोन्ज्योसोम गाउँपालिका पनि जोखिमका हिसाबले क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
राष्ट्रिय कार्ययोजनामा १४ हजार घरधुरी प्रभावित हुने अनुमान गरिएको छ भने जिल्ला स्तरीय योजनामा जोखिमयुक्त स्थानहरुको संख्या उल्लेख गरी उद्धार तथा राहतका लागि रणनीति बनाइएको घिमिरेले जानकारी दिइन् । नागरिक स्तरमा जनचेतना फैलाउने जिम्मा स्थानीय तहलाई दिइएको छ । ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरपालिकाले विपद् स्वयंसेवक तालिम तथा उद्धार अभ्यास सञ्चालन गरिसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार ललितपुरमा २३८ जना प्रहरी, २४ जना सशस्त्र प्रहरी तथा नेपाली सेना आवश्यक परेको अवस्थामा परिचालन गरिने जानकारी दिइएको छ ।
त्यस्तै कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले स्रोत साधनको अभाव भए पनि विपद्को अवस्थामा प्रयोग गर्न सकिने तीन विद्यालय सुरक्षित स्थानका रूपमा तयारी अवस्थामा राखिएको बताए ।
यता ललितपुर महानगरपालिकाले नदीजन्य विपद् व्यवस्थापनका लागि चारवटा डुंगा खरिद गरी १८ दिने समुदायिक प्रकोप स्वयंसेवक तालिम सम्पन्न गरेको छ। गत असोज ११ र १२ गतेको बाढीपछि डुंगा अभाव देखिएकाले महानगरले थप तयारी स्वरूप पाँचवटा डुंगा खरिद गर्ने निर्णय लिएको छ ।
महानगरले सबै वडामा ३०–३५ जनाको स्वयंसेवक समूह गठन गरी उनीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम दिने तयारी गरिरहेको छ ।