काठमाडौँ । हिमाचल प्रदेशस्थित मण्डी जिल्लाको एउटा गाउँमा कुकुरले ६७ जनाको ज्यान बचाएको छ । घटना यही १६ गतेको हो । मध्यरातको समयमा कुकुर जोडजोडले भुक्दै रुन थाल्यो । ‘रक्की’ नामको उक्त कुकुर स्थानियले घरमा पालेका थिए ।
स्थानिय पुरुषका अनुसार कुकुरको अनौठो र चर्को आवाज सुनेपछि उनीहरु ब्यूँझिए । ‘म कुकुरको नजिक गएँ, त्यसबेला घरको भित्तामा चिरा परेको थियो र त्यहाँबाट पानी छिचोलिएको थियो’ उनले भनेका छन्, ‘म कुकुरसँगै बाहिर निस्किएँ ।’ त्यसबेला मध्यरात भइसकेको थियो । गाउँमा सबैजना सुतिसकेका थिए । उक्त पुरुषले गाउँभरी हल्ला गरेर त्यहाँबाट भाग्न भने ।
मुसलधारे पानी परिरहेको थियो । गाउँलेहरु हत्तपत्त उठेर भाग्न थाले । रातको करिब १ बजेको समयमा ठूलो आवाजसहित पहिरो गयो । हेर्दाहेर्दै मण्डीको धर्मपुर क्षेत्रस्थित सियाठी गाउँ पुरै माटोमा मिल्यो ।
अहिले त्यस क्षेत्रमा चार पाँच घर मात्र बाँकी छ । बाकी सबै पहिरोमा पुरिएका छन् ।
बचेका मानिसहरू अहिले त्रियाम्बला गाउँमा रहेको नैनादेवी मन्दिरमा विगत सात दिनदेखि शरण लिएर बसेका छन् । यो त्रासदीले धेरै गाउँलेलाई रक्तचाप र डिप्रेशनको समस्या भएको छ ।
हिमाचल प्रदेशमा मनसुन सुरु भएयता कम्तीमा ७८ जनाको मृत्यु भएको छ । तीमध्ये ५० जनाको मृत्यु भूस्खलन, आकस्मिक बाढी र चट्याङ जस्ता घटनामा भएको छ । बाढी र पहिरोबाट मण्डी जिल्लामा सबैभन्दा बढी मृत्यु भएको छ । आकस्मिक बाढीले मण्डीमा ठाउँ ठाउँका सडकहरू अवरुद्ध भएका छन् ।
भारतीय मौसम विज्ञान विभागले सोमबार हिमाचल प्रदेशका १० जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरेको छ ।
माण्डीस्थित सियाठी गाउँ भने बाढीबाट ठूलो मानविय क्षति हुनबाट जोगिएको छ । कुकुरले भुकेर सर्तक गराएपछि त्यहाँ मान्छेहरुले सुरक्षित ठाउँमा माग्ने मौका पाए । उनीहरु सुरक्षित ठाउँमा पुगेको केही समय बित्न नपाउँदै पहिरोले सबै गाउँ बगायो । भयानक विपतको संकेत गर्दै कुकुरले २० घर–परिवारको ज्यान जोगाएको कुरा अहिले भारतिय समाचारहरुमा चर्चामा छ । स्थानिय वासिन्दा र प्रशासनले रकीलाई तारिफ गरेका छन् । उनीहरुले भनेका छन्, ‘यदि यो कुकुरले सर्तक नगराएको भए गाउँसहित सबै मान्छे पहिरोमा पुरिने थिए । किनभने त्यसबेला सबैजना सुतिरहेको अवस्था थियो ।’