काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि बजार विस्तार हुने अपेक्षा विपरीत, दैलेखका व्यापारीहरू अझै आर्थिक संकटमा छन् । व्यापारको गति सुस्त भएपछि धेरैजना निराश छन, भने कतिपय व्यापारी आफ्नो व्यवसाय बन्द गर्ने अवस्थामा पुगेका छन ।
दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक्सदेखि सुनचाँदीसम्मको व्यापार गर्ने व्यापारीहरू अहिले बिहान–बेलुकाको खर्च जुटाउन संघर्षरत छन् । पसलको घरभाडा, कामदारको तलब, बैंकको किस्ता सबैतिरबाट चाप छ । दैनिक खर्च उठाउनै गाह्रो भएको सदरमुकामस्थित कपडा व्यापारी प्रेम बिशुन्के बताउँछन् ।
मूल्यवृद्धिका कारण ग्राहकको खर्च गर्ने क्षमता घटेको व्यापारीहरूको अनुभव छ । उपभोग्य सामग्रीको मूल्य बढेसँगै बजारमा ग्राहकको उपस्थिति न्यून हुँदै गएको छ । कम आम्दानीका कारण बैंक तथा सहकारीको ऋण र ब्याज तिर्न धेरै व्यापारी असमर्थ भएका छन । नयाँ लगानीसहित व्यापार सुरु गरेका युवाहरू अझै ठूलो संकटमा छन । बजारको माग बुझ्न नसक्नु, ग्राहकको कमी, र अनावश्यक खर्चले घाटा बढाएको उनीहरूको गुनासो छ ।
स्थानीय तह र सरकारबाट तालिम, बजार पहुँच, प्राविधिक सहयोग र लगानीमैत्री वातावरणको अभाव व्यापारीहरूको साझा पीडा बनेको छ। बैंक तथा सहकारीको ऋण अहिले भारी बोझको रूपमा थपिएको छ ।
दुल्लु नगरपालिका–८ चगत्रामा १२ वर्षदेखि सुनचाँदी पसल गर्दै आएका हर्क सुनार भन्छन, ‘तीज आउन केही समय मात्र बाँकी छ, तर पनि ग्राहक आउन छोडिसकेका छन सरकारको नीतिले कर बढाएपछि बिक्री घटेको हो । किस्ता तिर्न ढिला भयो भने बैंकले सम्पत्ति लिलामीको धम्की दिन्छ ।’ उनले बहुमूल्य वस्तुमा लगाइएको कर तत्काल हटाउन माग गरे ।
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले व्यापारीको समस्या स्थानीय मात्र नभई राष्ट्रिय रहेको बताए । ‘व्यापारीलाई कम ब्याजदरमा ऋण दिनु आवश्यक छ । सरकारले तत्काल चासो देखाउनुपर्छ,’ थापाले भने। संघले व्यापारीका समस्या बुझेर समाधानका लागि दबाब दिने प्रतिवद्धता जनाएको छ ।
व्यापार मात्र होइन, गाउँघरका सर्वसाधारण पनि आर्थिक संकटमा छन । सहकारी तथा बैंकको ऋण तिर्न नसकेर धेरै परिवार भारततर्फ पलायन भएका छन । कतिपयको घरजग्गा लिलामीमा परेको छ, गाउँ सुनसान बन्दै गएको छ । यद्यपि सबै व्यापारी निराश छैनन । खाद्य खुद्रा व्यापार गर्दै आएका दानबहादुर थापा भन्छन, ‘समय अनुसार व्यापार बदल्न सकियो भने घाटा हुँदैन ।
ग्राहकको रुचिअनुसार नयाँ सामान दिन सक्नुपर्छ ।’ उनले अनुकूलन र बजारको आवश्यकता बुझेर काम गर्नेहरू अझै नाफामा रहेको बताए । व्यापारीहरूले सहुलियत ऋण, कर छुट, बजार प्रवद्र्धन, तालिम, र प्राविधिक सहयोगका लागि सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेका छन ।