काठमाडौँ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारासम्म काठमाडौंबाट पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गर्न ‘टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)’ को पहलमा एक विशेष भ्रमण टोली बिहीबार काठमाडौंबाट रारातर्फ प्रस्थान गरेको छ। नेपाल पर्यटन बोर्डको प्रांगणबाट यात्रा आरम्भ गरेको उक्त टोलीमा पर्यटन व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन्।
भ्रमण टोलीलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बिदाइ गर्दै काठमाडौंबाट रारासम्म सडकमार्ग हुँदै पर्यटक बस सेवा सञ्चालनको अभियानले कर्णालीलाई नयाँ सम्भावनासहितको गन्तव्यका रूपमा उभ्याउने विश्वास व्यक्त गरे । उनले भने, 'यो अध्ययन भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । रारा अब टाढाको गन्तव्य होइन भन्ने सन्देश यो यात्राले फैलाउनेछ ।'
टीबानका अध्यक्ष भिष्म न्यौपानेले नेपाल पर्यटन बोर्डले देखाएको सद्भावका कारण सम्भाव्यता अध्ययन यात्रा सम्भव भएको उल्लेख गर्दै बाटोको अवस्थाबारे सकारात्मक धारणा व्यक्त गरे । 'सडक र भौतिक पूर्वाधारको अवस्था सहज देखिएको छ,' उनले भने, 'यात्रामा देखिने सम्भावना र चुनौतीको सूक्ष्म विश्लेषणपछि आगामी योजनाहरु अघि बढाइनेछ ।'

टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले यो यात्रा ऐतिहासिक हुने बताए । 'काठमाडौंदेखि रारा पुग्ने यो नै उपयुक्त सिजन हो,' उनले भने, 'यदि हामीले सफलतापूर्वक बसमार्फत पर्यटक पुर्याएर प्याकेज बनायौं भने रारामा पर्यटकको चाप उल्लेखनीय रूपमा बढ्नेछ। यसले पर्यटन प्रवर्द्धनमा कोशेढुंगा सावित हुनेछ ।'
भ्रमण टोलीले यात्रा अवधिभर सडक अवस्थादेखि सम्भावित पर्यटक प्याकेज निर्माणसम्मका पक्षमा अध्ययन गर्नेछ। अध्ययनपश्चात् नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको टीबानले जनाएको छ ।