काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र चीनस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले चीनको पूर्वी तटीय प्रान्त चचिआङको राजधानी हाङचाओमा ‘नेपाल मण्डप’को संयुक्त रूपमा उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा हाङचाओ सहरका उपमेयर चन वेइछिआङको पनि उपस्थिति थियो।
नेपाली दूतावासका अनुसार, नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा स्थापित उक्त मण्डपले हाङचाओ सहरमा नेपाल चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
उद्घाटन समारोहमा राजदूत ओलीले नेपाल मण्डपले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप नजिक ल्याउने र आपसी समझदारीलाई प्रगाढ बनाउने अपेक्षा राखिएको बताए ।
त्यसैगरी, मेयर महर्जनले ललितपुर महानगरको मौलिक सम्पदा र सांस्कृतिक सम्पत्तिहरूको चर्चा गर्दै सन २०२५ लाई चीनले नेपाल भ्रमण वर्षको रूपमा मान्यता दिएको स्मरण गराउँदै चीनका नागरिकलाई नेपाल भ्रमणका लागि निम्तो दिए ।
हाङचाओका उपमेयर चनले नेपाल र चीनलाई जोड्ने साझा आधार बुद्ध धर्म भएको उल्लेख गर्दै नेपाल मण्डपले ललितपुर र हाङचाओबीचको मित्रतालाई झल्काउने सांस्कृतिक प्रतीकको रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।
हाङचाओ सहर ऐतिहासिक, सांस्कृतिक र व्यापारिक दृष्टिले चीनको महत्त्वपूर्ण सहर मानिन्छ । यो सहरमा जी–२० सम्मेलनदेखि लिएर एसियाली खेलकुदजस्ता अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना भइसकेका छन् । यिनै गतिविधिबीच कुनै समय नेपाली नेता वीपी कोइराला र चिनियाँ नेता माओत्सेतुङबीच यही सहरमा ऐतिहासिक भेटघाटसमेत भएको थियो ।
साङ्घाईको नजिक अवस्थित हाङचाओ अहिले चीनको उदाउँदो सहरहरूमध्ये एक हो, जहाँ नेपाल मण्डपको स्थापना दुई देशबीचको कूटनीतिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध अझ बलियो बनाउने आशा गरिएको छ।