काठमाडौँ । कर्णाली प्रदेशमा आगामी जेठमा तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिता यो आर्थिक वर्षमा नहुने औपचारिक जानकारी गराएका हुन् ।
२०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौं संस्करण कर्णालीमा आयोजना हुने घोषणा गरिएको थियो। त्यही क्रममा मंसिर २०८१ मा झण्डा हस्तान्तरण गर्दै आगामी प्रतियोगिता कर्णालीमा गर्ने निर्णय लिइएको थियो ।
तर भौतिक पूर्वाधारको अभाव र विविध कारण देखाउँदै खेलकुद मिति सारेर पहिलोपटक २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो। त्यसपछि आर्थिक अभावको कारण देखाउँदै पुनः मिति सारेर २०८२ सालको जेठ ३ देखि १० गतेसम्म गर्ने तय गरिएको थियो।
तर अब उक्त मितिमा पनि खेलकुद आयोजना गर्न नसकिने भएपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता यो आर्थिक वर्षमा नहुने पक्का भएको छ ।
राखेपका एक बोर्ड सदस्यका अनुसार प्रतियोगिता नहुनुको पछाडि राखेपका उपाध्यक्षको भूमिका पनि एक कारणका रूपमा देखिएको छ। नेकपा एमालेको कोटाबाट नियुक्त उपाध्यक्ष ध्रुव आचार्यसहित पाँच जना बोर्ड सदस्यले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि नै प्रतियोगिता मिति पुनः सर्नुपर्ने अवस्था आएको ती सदस्यले बताए ।
शुक्रबारको बोर्ड बैठकमा राष्ट्रिय खेलकुद र विभिन्न खेल संघहरूमा तदर्थ समिति गठनसम्बन्धी एजेन्डामा पनि छलफल भएको छ। बैठकमा सहभागी एक सदस्यका अनुसार, सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् र अन्तिम निर्णय बैठक सकिएपछि सार्वजनिक गरिनेछ ।
यो स्थगनले कर्णाली प्रदेशमा पूर्वाधार निर्माण, तयारी र समग्र खेलकुद विकासमा नकारात्मक प्रभाव पार्ने देखिएको छ । दशौं राष्ट्रिय खेलकुद कहिले र कहाँ हुने भन्ने विषयमा भने अझै निश्चितता आएको छैन ।