काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर -२, बडापोखरा गाउँ, जसलाई अहिले विषरहित व्यवसायिक तरकारी खेतीको केन्द्रको रूपमा चिनिन्छ । केही वर्ष अघिसम्म आफुलाई खानका लागि मात्र तरकारी उत्पादन गर्ने यहाँका कृषक अहिले व्यवसायिक रुपमै तरकारी खेती गर्न थालेका छन् । बडापोखरा गाउँका कृषकहरूले विषरहित र अर्गानिक खेतीमा प्रगति गर्दै आत्मनिर्भर बनेका छन ।
भगवती बडापोखरा कृषक समूहका अध्यक्ष हुन धर्म बहादुर थापा । थापाको कथा गाउँको रूपान्तरणको प्रतिबिम्ब हो । ४३ वर्षका थापा बिहान भालेको डाकोसँगै आफ्नो बारीमा पुग्छन् । विषादीको प्रयोग नगरी अर्गानिक तरकारी उत्पादन गर्ने उनी विगत चार वर्षदेखि व्यवसायिक तरकारी खेतीमा सक्रिय छन् ।
“पहिले खानका लागि मात्रै तरकारी लगाउँथेँ,” उनी भन्छन, “तर अहिले तीन पाथी बारीमा लटरम्म तरकारी फलाएर राम्रो आम्दानी गरिरहेको छु ।” थापाको बारीमा विभिन्न तरकारी आलु, टमाटर, सिमी, काउली, गोलभेंडा, र बन्दागोभी लगायतका सिजन अनुसारका तरकारी उत्पादन गर्छन । उनी आफ्नो परिश्रम र उत्पादनबाट आत्मनिर्भर मात्रै होइन, परिवारको आर्थिक बोझ पनि हल्का गर्न सफल छन् ।
धर्म थापा जस्तै ४५ वर्षीया नानकला थापा पनि व्यवसायिक तरकारी खेतीमा होमिएकी सफलताकी उदाहरण हुन् । उनी पनि भगवती बडापोखरा कृषक समूहककी सदस्य हुन् । समूहमा आवद्ध रहेका ४२ जना कृषक आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै बेमौसमी र मौसमी तरकारी उत्पादनमा संलग्न छन ।
नानकला थापाले विषादी प्रयोगको सट्टा जैविक मल र झोल मल प्रयोग गर्दै उत्पादनमा वृद्धि गर्दै आएकी छन । “पहिले विषादीले उत्पादन बढ्ने ठान्थ्यौं,” उनी भन्छिन्, “तर अहिले विषरहित खेतीले उत्पादन मात्र होइन, माटोको उर्वराशक्ति पनि बढाएको छ ।”
मूल प्रेरणा स्रोत बन्यो सोसेक
बडापोखरा गाउँको कृषि क्रान्तिको मूल प्रेरणा स्रोत गैरसरकारी संस्था सोसेक नेपाल हो । ग्रामिण क्षेत्रमा पछाडि परेका समुदायका समस्या पहिचान गर्दै सोसेक नेपालले आधुनिक कृषि तालिम, जैविक मलको प्रयोग विधि, टनेल निर्माण, र उन्नत बीउबिजन उपलब्ध गराउँदै आएको छ । सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सोसेक नेपाल पछाडि परेका र आवाजविहिनहरुको आवाज भएको बताए ।
सोसेक नेपालले ग्रामिण क्षेत्रका पछाडी परेका समुदायको समस्या पहिचान गर्नमा तल्लिन छ,”उनले भने, “सोसेक सदैव आवाजबिहिनहरुको आवाज बनिरहने सुनिरहने छ ।”
सोसेक नेपालका कृषि प्राविधिक हिक्मेन्द माझीका अनुसार, जलवायुमैत्री कृषि प्रविधि प्रयोग गराउँदै किसानहरूलाई आत्मनिर्भर बनाइएको हो । १२ वटा पक्की टनेल, ३५ वटा कच्ची टनेल, र २५ वटा भकारो निर्माण गरेर किसानलाई व्यवसायिक तरकारी खेतीमा सक्रिय बनाइएको छ ।
सोसेक नेपाालको साथ पाएर स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि तरकारी खेतीमा हिरा रावत र धर्म बहादुर थापा मात्र नभएर बडापोखरा गाउँ नै होमिएको छ । दुल्लु नगरपालिका वडा नम्बर —२ ,३,४ र ९ वडाका कृषक समूह समुह मार्फत व्यवसायिक कृषि खेतीमा होमिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझी बताउँछन् । उनका अनुसार दुल्लु नगरपालिका वडा नम्बर —२ को भगवती बडापोखरा कृषक समूह र तरिया बेमौसमी तरकारी उत्पादन समूह रहेका छन् ।
त्यस्तै वडा नम्बर —३ को मुलपानि कृषक समूह वडा नम्बर —४ को भण्डारी टोल बहुउद्देश्यीय कृषक समूह र वडा नम्बर ९ को कालिका दलित कृषि तथा पशुपन्छि सहकारी समूह प्यादुरामा स्माट कृषि गाउँ कार्यक्रम संन्चालन भएपछि किसानहरु व्यवसायिक तरकारी खेतिमा लागेका छन । दुल्लु नगरपालिका क्षेत्रका बडा पोखरा, तरिया, सुवाछडा,भण्डारी टोल,पाली,प्यादुराका किसान अहिले परम्परागत खेति छाडेर मौसमी तथा बेमौसमी तरकारी खेति तर्फ आकर्षित भएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझी बताउँछन् ।
२०७९÷ ०८० देखि दुल्लु नगरपालिका क्षेत्रमा लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यहाँका एकसय २० जना कृषकहरू मौसमी तथा बेमौसमी तरकारी खेतिमा लागेको माझीको भनाई छ । जस मध्ये ४० जनाले पक्कि प्लाष्टिक टनेलभित्र तरकारी खेती गर्दै आईरहेका छन भने ८० जनाले कच्चि प्लाष्टिक टनेलमा व्यवसायिक तरकारी खेती गरेका छन् ।
जलवायुमैत्री कृषि र उत्पादनमा वृद्धि
जलवायुमैत्री कार्यक्रमले कृषकहरूलाई विषरहित तरकारी उत्पादनतर्फ आकर्षित गरेको छ । जैविक झोल मल १, २, ३ प्रयोग गरेर यहाँका कृषकले उत्पादनमा उल्लेखनीय वृद्धि गरेका छन ।
कृषक समूहका सदस्यहरूले वार्षिक १५ लाख रुपैयाँको तरकारी उत्पादन गरेर स्थानीय र छिमेकी बजारमा बिक्री गर्दै आएका छन्। प्रत्येक कृषकले औसतमा वार्षिक ५०÷६० हजार रुपैयाँ आम्दानी गरिरहेको भगवती बडापोखरा कृषक समूहका अध्यक्ष धर्म बहादुर थापा बताउँछन् ।
जलवायुमैत्री कृषि गाउँ कार्यक्रम लागु भएपछि यहाँका कृषकहरु आत्मनिर्भर हुँदै गएका छन् । व्यवसायिक तरकारी खेती गरेर आत्मनिर्भर हुँदै गएपछि परिवार परिवार पालनपोषण देखि पढाउन लेखाउन सहज भएको कृषकहरुको भनाई रहेको छ ।
व्यवसायिक कृषि गरे घर खर्च चलाएर पनि समुह मार्फत कृषकहरुले बचत गर्ने गरेका छन् । घरपरिवार पालन पोषण देखि सबै कुरा गरेर पनि बाँकी पैसा समुह मार्फत बचत गर्ने गरेको कृषक नानकला थापा बताउँछन् ।
बजारको चिन्ता छैन
विषरहित व्यवसायिक तरकारी खेती गर्दै आएका बडापोखराका कृषकहरुलाई बजारको चिन्ता छैन । तरकारी उत्पादन र आम्दानीमा उल्लेखनीय वृद्धि भएको बडापोखरामा बजारको लागि बडापोखरा कृषक समूह भन्नेबित्तिकै व्यापारी र उपभोक्ताले तरकारी खरिद गर्ने गरेको समूहका अध्यक्ष धर्म थापा बताउँछन् । “समूहगत रुपमा तरकारी उत्पादन गर्दा धेरै नै फाइदा हुने र विरहित तरकारी उत्पादन गर्दा सबैले रुचाउने पनि रहेछन्,” अध्यक्ष थापा भन्छन्, “भगवती बडापोखरा कृषक समूहले उत्पादन गरेको तरकारी माग अनुसार पु¥याउनै सकेका छैनौँ ।”
बडापोखरा गाउँले देखाएको कृषि क्रान्तिले नेपालका अन्य ग्रामीण क्षेत्रहरूका लागि उदाहरण प्रस्तुत गरेको छ । विषादीमुक्त खेती, जैविक मलको प्रयोग, र समूहगत प्रयासले यहाँका कृषकहरूको जीवनस्तरमा परिवर्तन ल्याएको छ ।
आफ्नो परिश्रम र संस्थागत सहयोगबाट आत्मनिर्भर बन्दै गएका यी कृषकहरूको कथा केवल दुल्लु नगरपालिकामा मात्र सीमित छैन । यो प्रयासले सिंगो मुलुकलाई विषरहित कृषि क्रान्तितर्फ अघि बढ्न उत्प्रेरणा प्रदान गर्नेछ ।