काठमाडौँ । बिहानको झुल्के घाम । जंगलको फेद हुँदै राउटे बस्तिमा छिर्छ । सुर्खेतको बराहताल गाउँपालिका –२ गिरिघाट खोलाको छेउमा बनेका अस्थायी टहरा । अनि जंगल वरिपरिको चराचुरुङ्गीको चिरविचर आवाजसँगै राउटे समुदायको दिनचर्या सुरु हुन्छ । यहाँको बिहान प्रकृतिसँगै बग्छ । न त घडीको हतार छ, न त अन्य समुदाय जस्तै कार्यालय जाने धकाधकी । यहाँको बिहान भनेको जीवन चलाउने संघर्षको सुरुवात हो । जंगल राउटे समुदायको साथी हो, परम्परा उनीहरूको पहिचान ।
त्यही जंगलको काखमा बसेको अस्थायी टहरा भित्र ३६ वर्षीया मिहिन शाही आफ्नो एक महिने शिशुलाई कपडाले न्यानो बनाउँदै थिइन् । पहिले सुत्केरीपछिको कमजोरी र नवजात शिशुको स्वास्थ्यबारे उनलाई स्पष्ट ज्ञान थिएन । भएपनि मतलब गर्दैन थिइन् उनी । पहिले शिशु जन्माएपछि स्याहारसुसारमा खासै ध्यान नदिने उनी यो पटक भने आफ्नो छोरीको हेरचाहमा पूरा समय दिन थालेकी छिन ।
मिहिनले पहिले दुई छोरी जन्माएकी थिइन, तर, दुवै छोरी बचाउन सकिनन् । उचित स्याहारसुसार र खानपानको लापर्वाहीले गर्दा बच्चाहरू गुमाएको उनी बताउँछिन् । पहिले बच्चा जन्माउँदा डर लाग्थ्यो, बाच्ला कि नबाच्ला थाहा हुँदैनथ्यो,’उनले बिगत सम्झिदै भनिन्, ‘पहिले बच्चा जन्मे पनि बाच्न नसक्नुको कारण स्याहारसुसारको कमीले रहेछ भन्ने अहिले बुझ्न थालेकी छु ।’
मिहिन जस्तै २७ वर्षीया सम्झना शाहीले पनि नवजात शिशुको उचित हेरचाह नगरेको कारण दुई सन्तान गुमाएकी थिइन । उनले अहिले आफ्नो १० महिने छोरीलाई उचित स्याहारसुसार गर्दै आएकी छिन् । ‘पहिले बच्चा जन्माएपछि ध्यान दिने चलन थिएन । अहिले बच्चाको हेरचाह गर्नुपर्छ भन्ने बुझेकी छु । हाम्रो समुदायमा कार्यरत डाक्टर मेमले सिकाउनुभएको छ,’ सम्झनाले भनिन ।
मातृत्व र शिशु स्वास्थ्य सम्बन्धी शिक्षा
राउटे समुदायमा पछिल्लो समय यस्तो परिवर्तन आउनुमा गैरसरकारी संस्था सोसेक नेपालको महत्वपूर्ण भूमिका रहेको छ । संस्थाले समुदायमा राउटे समुदायका सुत्केरी, गर्भवती महिलाहरूलाई सुरक्षित मातृत्व र शिशु स्वास्थ्य सम्बन्धी शिक्षा दिने कार्यक्रम संचालन गरिरहेको राउटे परियोजनामा कार्यरत स्वास्थ्यकर्मी (अहेव) अनुजा पन्त बताउँछिन् ।
यस शिक्षा कार्यक्रमअन्तर्गत गर्भवती, सुत्केरी र अन्य महिलाहरूलाई हप्तामा दुई दिन स्वास्थ्य शिक्षा दिइदै आएको पन्तको भनाई छ । सुरु सुरुमा महिलाहरूलाई यस कार्यक्रममा सहभागी गराउनका लागि निकै अप्ठ्यारो भयो, सहभागी हुन इच्छा नराख्ने, किन सहभागी हुने अहिलेसम्म हामीले सिकैकै छौँ भन्ने कुरा गर्नुहुन्थ्यो,’उनले भनिन्, ‘तर, अहिले उनीहरू नियमित रूपमा आउने, जिज्ञासा राख्ने गरेका छन ।’
समदायकी २७ वर्षीया सम्झना शाही सुत्केरी भएको आठ महिना पूरा भइसकेको छ । जेठ महिनामा सुत्केरी भएकी उनले आफ्ना बच्चाको पोषणबारे जिज्ञासा व्यक्त गर्दै जिज्ञासा राख्दै भन्छिन्, ‘यदि बच्चालाई आमाको दूध नखुवाएर बाहिरको खाना खुवाए के हुन्छ ?’
उनको बुझाइमा, ‘जब बच्चालाई भोक लाग्छ, उसले आफैं दूध खानको लागि रोइहाल्छ नी । त्यसैले नियमित रूपमा दूध खुवाउनु पर्ने कारण के हो ? भन्ने जिज्ञासा थियो ।
सम्झनासँगै समुदायकी अर्की राउटे महिला मिहिन शाही पनि यस्तै जिज्ञासा राखेकी थिइन् । उनीहरूले राखेको जिज्ञासाले राउटे समुदायमा आमाको दूधको महत्व, पोषणका फाइदाहरू, र परम्परागत बुझाइबारेको छलफललाई उजागर गर्छ ।
पहिले राउटे समुदायमा गर्भवती महिलाले स्वास्थ्य जाँच गराउने चलन थिएन । तर, अहिले उनीहरूले गर्भावस्थामा चार पटक स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने बुझेको पन्तले जानकारी दिइन् ।
कार्यक्रमले महिलाहरूलाई गर्भावस्थामा पोषणयुक्त खाना खाने, नियमित स्वास्थ्य जाँच गर्ने, संस्थागत प्रसूति गर्ने, र नवजात शिशुलाई आमाको दुध खुवाउने जस्ता आधारभूत जानकारी दिइदै आएको छ । यसले गर्दा राउटे महिलाहरूमा सुरक्षित मातृत्व र शिशु स्वास्थ्यप्रति चेतना बढेको छ ।
राउटे समुदायका मुखिया शूर्य नारायण शाहीले भन्छन, ‘पहिले हाम्रो समुदायमा शिशु मृत्युदर धेरै हुन्थ्यो । त्यसको कारण हामीलाई थाहा थिएन । अहिले बुझ्दै गएका छौँ । त्यो कारण त उचित स्याहारसुसार नगरेकोले त्यस्तो हुने रहेछ ।’
अहिले राउटे समुदायका महिलाहरूले सुत्केरीपछि पोषणयुक्त खाना खाने, सरसफाई राख्ने, र नवजात शिशुलाई आमाको दुध खुवाउने जस्ता कुराहरू बुझ्दै गएको छन् । समुदायकी मिहिन शाही भन्छिन्, ‘ बच्चा जन्मे पनि कतै केही भइपो हाल्ने हो कि भन्ने पहिले जस्तो डर अहिले छैन । अहिले नियमित रुपमा सुरक्षित मातृत्व र शिशु स्वास्थ्य सम्बन्धी शिक्षा तालिममा सहभागी हुन थालेपछी अलि सुरक्षित महसुस हुन थालेको छ ।’
राउटे समुदायमा यो परिवर्तन केवल स्वास्थ्यमा मात्र सीमित छैन । यसले समुदायका महिलाहरूको जीवनशैलीमा पनि प्रभाव पर्न थालेको छ । अहिले उनीहरूले आफ्ना बच्चाहरूको उचित हेरचाह गर्ने र स्वास्थ्य सेवाबारे समस्या देखिए समुदायमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिने गरेको स्वास्थ्यकर्मी पन्त बताउँछिन् ।
अहिले उक्त तालिममा राउटे समुदायका १२ जना महिलाहरु सहभागीता जनाउने गर्छन । समुदायका चारजना सुत्केरी महिलाहरु सहित समुदायका अन्य बिवाहित महिलाहरु राखेर सुरक्षित मातृत्व सम्बन्धी स्वास्थ्य शिक्षा दिइँदै आएको छ ।