काठमाडौँ । कुनै समय यस्तो विद्यालय जहाँ बालबालिकाले धुलाम्मे भुइँमा बसेर पढ्थे, बेन्च थिएन, खेलमैदान थिएन, कक्षाकोठामा झ्यालढोका थिएनन्, शौचालय र खानेपानीको व्यवस्था समेत थिएन । शिक्षक कर्मचारीको आफ्नै बालबालिका निजी बोर्डिङ स्कुलमा पढ्थे र अभिभावकको पनि विद्यालयप्रति विश्वास थिएन । न राज्यले पर्याप्त दरबन्दी दिएको थियो, न समुदायले साथ दिएको थियो। यही र यस्तै थियो दैलेखको चामुण्डा–बिन्द्रासैनी नगरपालिका – १ मा रहेको श्री हिमालय माध्यमिक विद्यालयको अवस्था ।
तर, हिजो आज त्यो विद्यालय रूपान्तरणको यात्रामा अग्रसर छ । यो परिवर्तनको केन्द्रमा छन् विद्यालयका प्रधानाध्यापक हर्क बहादुर सर । चामुण्डाविन्द्रासैनी नगरपालिका – १ चापागाउँका हर्क बहादुर बिक । जुन विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी २०७८ सालमा समालेका थिए । नेतृत्वको सोच, इच्छा चाहानाले कसरी चमत्कार गर्न सक्छ भन्ने उनले उदाहरण प्रस्तुत गर्दै गरेका छन् ।
तिज डाडा, चापागाउँमा सबैले हर्कबहादुर सर नामले परिचित हर्कहादुर बिक २०७८ मा प्रधानाध्यापक भएर हिमालयमा पुग्दा । विद्यालयको अवस्था माथि भनेजस्तै निकै नाजुक र दयनीय थियो । २०४४ सालमा स्थापना भएको विद्यालय लामोसमयसम्म उपेक्षित रह्यो ।

विद्यालयको न त भवन थियो, न शिक्षकको पर्याप्त दरबन्दी, न खेलमैदान, न पठनपाठनको उपयुक्त वातावरण। बालबालिका धुलोमाटोमै बसेर पढ्थे। शिक्षकहरूमाझ राष्ट्रसेवक भएर तलब मात्र खानुपर्छ भन्ने सोच थियो, अभिभावकहरूसँग पनि बालबालिकाको भविष्यप्रति चासो चिन्ता थिएन ।
जब २०७८ सालमा प्रधानाध्यापक हर्कबहादुरकोे आगमनले विद्यालयको नियति मात्र बदलेन, पुरै समुदायको सोच र व्यवहारमा परिवर्तन ल्यायो। प्रधानाध्यापकको पद सम्हालेपछि हर्कबहादुर सरले सबभन्दा पहिले विद्यालयका शिक्षक तथा कर्मचारीका बालबालिका बोर्डिङ स्कूलबाट निकालेर आफ्नै विद्यालयमा भर्ना गराए। हाम्रो विद्यालय अब अरुजस्तै होइन, आफ्नै बालबालिका पढाउन योग्य बनाउनु पर्छ भनेर लागि परेको र त्यो सफल भएको प्रधानाध्यापक हर्क बहादुर बि.क बताउँछन् ।
जब म विद्यालयमा आएँ, सबैभन्दा पहिले शिक्षक कर्मचारीका छोराछोरी यहीँ विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय सहित सुरुवात आफैबाट गरेँँ,’उनले भने, ‘शिक्षक र कर्मचारीका बालबालिका यही विद्यालयमा पढ्नुपर्छ, हाम्रा बालबालिका अरुले पढाउँने अरुका हामीले यो हुन सक्दैन । हामीले हाम्रै विद्यालयमा पढाउँनुपर्छ भनेर निर्णय गरेपछि सबै सहमत भएर अहिले आफु पढाउने विद्यालयमा नै पढाइरहनुभएको छ ।’
सुरुवात आफैँबाट भयो । उनले आफ्ना दुई बालबालिका सुर्खेतको बोर्डिङबाट फिर्ता बोलाएर यही विद्यालयमा भर्ना गराए । त्यसपछि क्रमशः अरु शिक्षक र कर्मचारीले पनि यही गरे।
-1744102808.jpg)
शिक्षकका छोराछोरी विद्यालयमा पढ्न थालेपछि अभिभावकमा विश्वास पलायो । उनीहरूले बुझ्न थाले ‘हाम्रो विद्यालयमा पनि राम्रो सम्भव छ सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरेपछि अवस्था राम्रो हुन्छ ।’
विद्यालयको सुधारले अभिभावक देखि यहाँको समुदाय नै निकै उत्साहित छ । प्रधानाध्यापक हर्कबहादुर सर र उनको टिले गरेको कामले निकै प्रभावित छ । विद्यालय प्रशासन, अभिभावक समुदाय र विद्यार्थीको एकजुटले नमुना विद्यालयतर्फ उन्मुख रहेको छ ।
पहिले विद्यालयमा नियमित रुपमा जान नरुचाउँने सोही विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्रा रिता थामी अहिले एकदिन पनि विद्यालय नछुटाउने गरेको बताउँछिन् ।
पहिले विद्यालय जान खासै रुची हुँदैन थियो, त्यति जान मन लाग्दैन थियो,’उनी भन्छिन्, ‘अहिले विद्यालयमा धेरै राम्रो हुँदै गइरहेको छ । विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलाप, लगायतका कुनै पनि मनोरञ्जनात्मक क्रियाकलाप हुँदैन थिए । अहिले मनोरञ्जन सहित पठनपाठन हुन्छ त्यसैले पनि होला एक दिन पनि विद्यालय छुटाउन मन लाग्दैन ।’
यस विद्यालयमा अध्यनरत विद्यार्थी मात्र नभएर अभिभावक पनि उत्तिकै उत्साहित छन् । पहिले भन्दा विद्यालयको अवस्थामा धेरै सुधार आएको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्ब्र २ का खगेन्द्र कँडेल बताउँछन् ।
पहिले विद्यालयको अवस्था निकै नाजुक भइसकेको थियो,’उनी भन्छन्, हर्क सरको दृढ इच्छा योजना र अभिभावकको साथले विद्यालयले मुहार फेर्द गएको छ ।’
यसै विद्यालयमा कँडेलका चारजना छोराछोरी पास भएर अन्त विद्यालयमा गइसके भने । अहिले उनको एकजना छोरा कक्षा २ मा अध्यनरत छन् । ‘पहिले भन्दा अहिले बालकालिकामा धेरै परिर्वतन र जिज्ञासु स्वभाव बढ्दै गएको कँडेलको भनाई छ । विद्यालयको अवस्था पहिलेभन्दा अहिले धेरै फरक छ । हर्क सर लगायत विद्यालय परिवारले निकै मेहनत गर्नुभएको छ,’ कँडेलले भने ।
को हुन् प्रधानाध्यापक हर्क बहादुर ?
कक्षा ४ मा आमाको मृत्यु, घरको गरीबी, भाइबहिनीको जिम्मेवारी, र स्याउ बोक्ने मजदुरी—यी सबै कठिनाइहरूलाई पछ्याउँदै हर्कबहादुरले आफ्नो जीवनलाई शिक्षकको रूपमा उदाहरणीय बनाएका छन्। । दलित समुदायमा जन्मिएका हर्कबहादुर विभिन्न दुःख अभाव र संघर्ष गर्दै हाल हिमालय माध्यमिक विद्यालयमा कार्यरत उनको जीवन यात्रा नै संघर्ष र सफलताको प्रेरणादायी कथा हो ।
हर्कबहादुर कक्षा ४ मा पढ्दा आमाको निधनले उनको बाल्यकालमा ठूलो आघात पुर्यायो । घरको आर्थिक अवस्था कमजोर थियो, तर उनी पछि हटेनन । हिमालय आधारभूत विद्यालय (हाल माध्यमिक)बाट कक्षा ५ सम्म पढेर चामुण्डा माध्यमिक विद्यालय हाडाकोटमा एसएलसीसम्म पुगे । ‘भाइबहिनीको हेरचाह गर्दै, घरको काम गर्दै पढाइ पढ्नुपर्ने बाध्यता थियो’, उनले सम्झिए ।
२०७८ मा हिमालय माध्यामिक विद्यालयमा पोष्टिङ्ग भएका हर्कबहादुर सर सोही विद्यालयमा कखरा सिकेका विद्यार्थी हुन् । घरको आर्थिक अवस्था कम्जोर र त्यहीमाथि कक्षा ४ मा पढ्दै गर्दा उनकी आमाको मृत्यु भयो । जस्ले गर्दा उनी निकै समस्यामा परे । तर, पनि पढ्ने कुरामा उनी पछि हटेनन् । संघर्ष गर्दै काम गर्दै पढिरहे ।

कक्षा १ देखि ५ सम्म हिमालय आधारभूत विद्यालय अहिलेको हिमालय माध्यामिक विद्यालयमा पढे । त्यसपछि चामुण्डा माध्यामिक विद्यालय हाडाकोटमा कक्षा ६ देखि १० सम्म अध्यन गरे । घरको जिम्मेवारी सम्हाल्दै आफु पढ्दै भाइबहिनीलाई पढाउँदै अन्त उनले एसएलसी सालमा पास गरे । एसएलसी पास भएपछि २०६१ सालमा चामुण्डा माध्यामिक विद्यालय हाडाकोटमा ११÷१२ पढ्दै हिमालयमा मासिक एकहजार तलबमा शिक्षण पेशा गरे ।
उनको मेहनत लगनशिलता बढ्दै गयो । विद्यालय प्रशासनले उनको मेहनत र लगनशिलता देखेर २०६५ देखि २०६९ मा मासिक चार हजार बनायो । २०७० मा शिक्षक सेवा आयोगले लिएको परिक्षामा पहिलो प्रयासमैै नाम निकाल्न सफल भए ।
२०७१ साउन ३० स्थायी नियुक्ति बुझेँ । स्थायी सेवामा प्रवेश गरेँ । जनकल्याण आधारभूत विद्यालय चामुण्डाविन्द्रासैनी ४ मा पोष्ट भए । त्यहाँ २०७१ देखि २०७४ सम्म कार्यरत रहे । २०७५÷०७५ मा चामुण्ड माध्यामिक विद्यालयमा शिक्षण पेशा गरेर २०७७ सालमा हिमालय माध्यामिक विद्यालयमा कार्यरत रहेको उनी बताउँछन् ।
घरको पारिवारिक अवस्था कम्जोर भएकोले उनी विदामा भारतको सिम्लामा स्याउ बोक्ने काम समेत गर्दै आफ्नो पढाइ खर्च जुटाए । हाल ३९ वर्षीय हर्कबहादुरले आफ्नो जीवन शिक्षकतामा समर्पित गरिसकेका छन । उनको संघर्ष र समर्पणले हिमालय विद्यालयका सैयौं विद्यार्थीलाई प्रेरणा दिँदै आएका छन् । ‘शिक्षक भनेको समाजको ऐना हो। मेरो लक्ष्य यहाँका बालबालिकालार्ई शिक्षित बनाउनु हो, उनले भने ।
विद्यालयमा अभिभावकद्वारा श्रमदान
श्री हिमालय माध्यामिक विद्यालयलाई लामो समयदेखि उपेक्षा गरिएको र विद्यालयको नयाँ मुहार फेर्नु थियो । विद्यालयको भौतिक पूर्वाधार थिएन । तर, पनि प्रधानाध्यापक र सिंगो विद्यालय टिमले हिम्मत हारेन । शिक्षकहरूको योगदानबाट एउटा कोठा थपियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे भवनका लागि बजेट प्राप्त भयो र त्यसपछि अभिभावकसँग समन्वय गरेर अगाडी बढ्ने योजना बन्यो । विद्यालयको सिंगो टिमले विद्यालय सुधारको योजना लिएर समुदायमा पुग्दा समुदायका अभिभावकले पनि साथ दिने बचन भयो । समुदायका प्रत्येक एक–एक अभिभावकले १५–२० दिन श्रमदान गरे। समुदायकै श्रमबाट भवन बन्दै समेत निर्माण भयो । बालबालिकाका लागि सिकाई सहजीकरणमा केही सहज भएको हर्कबहादुर बताउँछन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिकासँग समन्वय गरेर चार कोठे नयाँ भवन निर्माण भयो, जसमा ५० लाखको लागतमा निर्माण भएको भवनसँगै अभिभावकबाट थप ६ लाख बराबरको श्रमदान समेत प्राप्त भएको उनी बताउँछन् । ‘कसैले कुचो दिनुभयो, कसैले डोको, कसैले नगद। आज ती अभिभावक नै विद्यालयका सच्चा निर्माणकर्ता हुन,’ प्रधानाध्यापकले भने ।
-1744102700.jpg)
संस्थागत साझेदारी
प्रधानाध्यापक र सिंगो विद्यालय परिवारले यत्तिमा मात्र सन्तुष्ट भएन । साझेदार गैरसरकारी संस्थासँग पनि समन्वय गर्ने योजना बनाइयो । सोही अनुसार संस्थागत साझेदारहरूसँगको समन्वयले विद्यालयले थप उचाइ लिएको छ। सेभ द चिल्डे«नको आर्थिक सहयोग सोसेक नेपालको सहयोगमा पुरानो भवन मर्मत भयो, बालविकास कक्षाका लागि टेलिभिजन, कार्पेट, राउण्ड टेबल, फिल्टर र सिसिटिभी जडानजस्ता प्रविधिमा आधारित उपकरणको व्यवस्था भएको प्रधानाध्यापक हर्कबहादुर बिक बताउँछन् ।
‘बालविकास कक्षाका लागि सोसेक नेपालले उपलब्ध गराएको टिभी हेर्नकै लागि भए पनि अहिले बालबालिकाको सहभागिता बढ्नुका साथै पढाइमा आकर्षण बढेको छ,’ प्रधानाध्यापक हर्कले भने ।
हिमालय माध्यामिक विद्यालयसँग २४ रोपनी जग्गा छ। त्यसमध्ये केही बाहिरी भागको ७ रोपनी पनि समन्वय गरेर प्रयोगमा ल्याउने योजना रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर राना बताउँछन् । यो वर्ष विद्यालयले पाँच सय अम्लिसो, डेढ सय टिमुर, कागती, अमिलो जस्ता आर्थिक लाभ हुने बिरुवा रोपेको रानको भनाई छ ।
नयाँ वर्षमा हामीले एक हजार अम्लिसो बोट लगाउने लक्ष्य लिएका छौँ,’अध्यक्ष रानाले भने, ‘स्कुलको घेराबारकै लागि स्थानीय जातका फलफूलका बिरुवा समेत लगाउने तयारी छ ।’
विद्यालय र हर्कबहादुर टीमप्रति अभिभावकको बढ्दो भरोसा
अहिले विद्यालयमा चारसय भन्दा बढी विद्यार्थी छन । विद्यालयको शिक्षाको गुस्तर, बातावरण र शैक्षिक विधि देखेर विद्यालयप्रति अन्य अभिभावकको पनि आर्कषण बढ्दो छ । नजिकका विद्यालयबाट पनि विद्यार्थी ल्याएर भर्नागर्ने क्रम जारी छ । यहि चैत्र २० गतेबाट भर्नासँगै पाठ्यपुस्तक बितरण सुरु भइसकेको छ । अभिभावक मासिक रूपमा भेला हुन्छन, बाल क्लब र अन्य गतिविधिहरू सक्रिय छन । अभिभावकहरु पनि विद्यालयप्रति निकै सकारात्मक र उत्तरदायी छन् ।

अहिले विद्यालय सुधारको योजनाले सामुदायिक शिक्षा प्रति अभिभावकको भरोसा बढाएको छ।‘पहिले सित्तैमा दुई रुपैयाँ दिन नमान्ने अभिभावक अहिले पाँच हजारदेखि ४० हजार रुपैयाँसम्म सहयोग गर्न थालेको प्रधानाध्यापक बताउँछन् ।
चुनौती, सपना र योजना
विद्यालयमा अझै शिक्षक दरबन्दी अपुग छ। एक लाख रुपैयाँ मासिक निजी स्रोतबाट शिक्षकहरूको तलब भत्ता दिनुपर्ने चुनौती छ । २० लाखभन्दा बढी तलब निजी स्रोतका शिक्षकलाई दिन बाँकी छ। अझै पनि प्रशासनिक भवन छैन, शौचालय छैन, पर्याप्त भवन नभएको प्रधानाध्यापक बिक बताउँछन् ।
चुनौती र सपना अझै बाँकी छन्, तर, पनि विद्यालयले हिम्मत हारेको छैन,’प्रधानाध्यापक हर्कबहादुर भन्छन्, ‘सरकारले बुझेर यि र यस्ता समस्या समधान तर्फ ध्यान दिएको भए सपना पुरा हुन्थे ।’
हिमालय माध्यामिक विद्यालयका प्रधानाध्यापक विद्यालयको काममा १२ घण्टा खट्छन् । बिहान ६ बजे देखि साँझको ६ बजेसम्म विद्यँलयमै भेटिन्छन् । विद्यालय पुग्दै गर्दा विद्यार्थीको विद्यालय पुग्ने बाटो देखि विद्यालयको कक्षाकोठा, चौर र शौचालयसम्मको रेखदेख गर्दै सफा समेत गर्ने गरेको बताउँछन् । ‘म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमै हुन्छु। कहिलेकाहीँ आफैँ कुचो लिएर विद्यालय सफा गर्छु। यो बालबालिकाका लागि शिक्षा मात्र होइन, प्रेरणा पनि हो’, प्रधानाध्यापक भन्छन ।
हामीले अरुलाई भन्नुपन्दा पनि हरेक कुराको सुरुवात आफैबाट गर्नुपर्ने उनको भनाई छ । अरुलाई यस्तो गर भन्नुभन्दा पनि पहिले आफूले गरेर देखाउँनुपर्छ,’उनी भन्छन्, ‘हेरेर वा आफै गर्नुपर्छ । काम सानो ठूलो नहुने रहेछ भेर मान्छेले आफै प्रेणाका रुपमा बुझेर काम गर्न सक्छ । कैयौँ पटक विद्यालयमा मैले त्यो गरेको छु । अहिले कसैलाई केही भन्नै पर्दै सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नुहुन्छ ।’
हिमालय माध्यमिक विद्यालयको यो यात्रा केवल एउटा विद्यालयको रूपान्तरण होइन । यो समुदाय, नेतृत्व र समर्पणको शक्तिशाली कथा हो। सीमित स्रोत र अपुग दरबन्दीका बाबजुद, सपनाले, सामूहिकताले र नेतृत्वले कसरी असम्भवलाई सम्भव बनायो भन्ने उदाहरण हो यो। उनीहरुले गरेको यो प्रयासले विद्यालय अब पालिकामै मात्र होइन, जिल्लामै पनि नमुना बन्ने लक्ष्यमा छ। र त्यो लक्ष्य टाढा देखिँदैन ।