काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ नमुना टोलकी ५२ वर्षीया सुमना चौधरी कृषि कर्ममा लागेकी एक कर्मठ महिला कृषक हुन् । उनको दैनिकी बिहानको सूर्योदयसँगै सुरु हुन्छ । सूर्योदयको किरणसँगै बारीतर्फ लाग्ने र तरकारी बारीलाई सुम्सुम्याउँदै दिनभर मेहनत गर्नेमा उनको ध्यान केन्द्रित हुन्छ ।
सुमनाका श्रीमान लालबहादुर चौधरी पनि सुमनालाई कृषितर्फ सघाउँदै बोइलर कुखुरा र बङ्गुर पालनतर्फ कस्सिएका छन् । भने सुमना एक कट्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्छिन । उनीहरुको यो दैनिकी हो । श्रीमान श्रीमती यसरी कृषि पशुपालनमा होमिएको लामो समय भएता पनि व्यवसायिक कृषिमा होमिएको भने केही पाँच वर्ष भयो ।
सुमना र उनका श्रीमानले सुरूमा केवल आफूलाई खानका लागि तरकारी लगाउँथे । तर, समयसँगै उनीहरूले व्यावसायिक खेतीतर्फ पाइला चाले । सुमनाका अनुसार, ‘पहिले त आफूलाई खान मात्र तरकारी लगाइन्थ्यो, तीन वर्ष भयो । व्यावसायिक खेती गर्दै आइरहेका छौँ ।’ तर, व्यावसायिक खेतीको प्रारम्भिक चरणमा उनीहरूलाई आधुनिक कृषि ज्ञानको कमीले निकै समस्या भएको थियो ।
सुमना मात्र होइन, सोही टोलकै काली चौधरी, सुमना चौधरी र संगिता चौधरीले पनि यस्तै समस्या भोग्दै आएकी थिइन । तरकारी बारीमा रोग–किरा लाग्दा उनीहरू रासायनिक विषादी प्रयोग गर्थे तर पनि उत्पादन राम्रो हुँदैनथ्यो ।
काली चौधरी भन्छिन, ‘पहिले त रोग–किराले सताउँदा के गर्ने थाहा थिएन । दिक्कै भइसकेकी थिएँ । तर, बिहानी परियोजनाबाट तालिम पाएपछि भने यो समस्या समाधान गर्न सफल भएका छौँ ।’
जैविक प्रविधि अपनाएपछि उत्पादनमा सुधार
बिहानी परियोजनाले सुमना र काली जस्ता किसानहरूलाई जैविक मल र विषादी प्रयोग गर्ने तालिम दियो । यसले उत्पादन सुधार मात्र गरेन, माटो र मानव स्वास्थ्यलाई समेत सकारात्मक प्रभाव पा¥यो,’ काली चौधरी भन्छिन, ‘पहिले रासायनिक विषादी प्रयोग गर्दा पनि राम्रो फल्दैनथ्यो । अहिले जैविक झोल मल प्रयोग गर्दा एउटै काउली ४ केजीसम्मको फलेको छ ।’
बिहानी परियोजनाबाट प्राप्त तालिम र बिउविजनले चौधरी समुदायका किसानहरूलाई व्यावसायिक खेतीमा सशक्त बनाएको छ । बिहानी परियोजना कृषि प्राविधिक निशा सुनार भन्छिन, ‘समूह गठन गरेर मौसमी र बेमौसमी तरकारी खेतीमा जोड दिनुका साथै जैविक मल बनाउने विधिहरू सिकाएका छौँ । यसले उत्पादन दरमा ठूलो सुधार ल्याएको छ ।’
समूहमा च्याउ खेती
नमुना टोलमा गठित उद्यमी महिला कृषि समूहले समूह मार्फत च्याउ उत्पादन समेत सुरु गरेका छन् । बिहानी परियोजनाको सहयोगमा दुईवटा टनेलमा आठसय च्याउका डल्ला च्याउ लगाइएको छ ।
बिहानी परियोजना संयोजक माया अधिकारीका अनुसार, आगामी तीन महिनाभित्र च्याउ खेतीबाट तीन लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको बताउँछिन् ।
राधिका थारु, जो यस समूह अर्थात कृषक महिला उद्यमी समूहकी अध्यक्ष हुन । उनी भन्छिन, ‘पहिले मज्दुरी गरेर बित्ने समय अहिले समूहमा च्याउ उत्पादन गर्दै बित्छ । तालिमले परम्परागत कृषिलाई व्यावसायिक प्रणालीमा रूपान्तरण गर्न सहयोग गरेको छ ।’
उचित बजार मूल्य पाइँदैन
व्यावसायिक उत्पादनमा सफलता पाए पनि चौधरी समुदायका किसानहरूले बजार व्यवस्थापनमा कठिनाइ भोगिरहेका छन । तरकारी उत्पादन मेहनत अनुसारको बजार भाउ नपाएको उनीहरुको गुनासो छ । तरकारी उत्पादन राम्रो हुन्छ तर मेहनत अनुसारको बजार मूल्य पाइँदैन,’सुमना भन्छिन्, ‘ काउली जस्ता तरकारी बजारमा मात्र २० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपर्ने अवस्था छ ।’
बजार समस्या समाधानका लागि बिहानी परियोजनाले किसानहरूको समूहलाई सहकारीमा दर्ता गराउन र स्थानीय बजारमा पहुँच पु¥याउन पहल गरिरहेको छ । जैविक उत्पादनको प्रचारप्रसार गर्दै किसानहरूको आम्दानी बढाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
चौधरी समुदायको कृषि प्रणालीलाई आत्मनिर्भर बनाउन जैविक मल निर्माण र गड्यौला उत्पादनमा समेत ध्यान दिइएको परियोजना संयोजक अधिकारीको भनाई छ । ‘प्रारम्भिक चरणमा १० वटा गड्यौला बिन स्थापना गर्ने योजना रहेको छ, जसले दीर्घकालीन रूपमा माटोको उर्वरता बढाउनेछ,’ संयोजक अधिकारीले भनिन् ।