काठमाडौँ । मलिन अनुहार । टाउकोमा रुमाल । सेतै कपाल । गालामा खुम्चिदै गरेका धर्काले बुढेसकालले छोएको प्रष्ट देखिन्छ । उमेरले ५४ वर्ष पुगेकी उनी हुन् दक्षिण एसियाको एक मात्र घुमन्ते फिरन्ते जाती राउटे समुदायकी दुनी शाही ।
शाहीले कर्णाली प्रदेश आसपासका जंगलमा डुल्दै फिर्दै फिरन्ते जीवन बिताउँदै आएको ५४ वर्ष भयो । समुदायमा उनलाई सबैले १४ सन्तानकी एक्लि आमा भनेर चिन्छन् । १४ सन्तानकी एक्लि आमा सुन्दा अनौठो लाग्ला तर, यो यतार्थ हो । १४ सन्तान जन्माएकी उनको साथमा सन्तान छैनन् । सन्तानको मृत्युसँगै उनको साथमा अहिले नत श्रीमान छन् नत छोरा या छोरी नै छन् । सबैले उनको साथ छोडेर उनलाई एक्लो पारेर गएको झझल्को आइरहने उनी बताउँछन् । सबैले साथ छोडेर गए,आँखाको डिलमुनी आएको आशुलाई पुछ्दै भनिन्', १४ सन्तान जन्मिए । कोही जन्मिदै मरे कोही हुर्किदै संसार छोडे त कोही सन्तान तन्नेरी अवस्थामै संसार छोडे अहिले एक्ली छु ।’
सन्तानसँगै राउटे समुदायका महामुखिया समेत रहेका दुनी शाहीका श्रीमान महिन बहादुर शाहीले संसार छाडेदेखि उनी झनै एक्लिएकी छिन् । २०८० कात्तिक १९ गते महिनबहादुरले पनि ६९ वर्षको उमेरमा संसार छाडेका थिए । श्रीमानले संसार छाडेसँगै उनी अहिले एक्लिएकी छन् ।
सन्तान र श्रीमान गुमाएकी दुनी शाही अहिले बिक्षिप्त बनेकी छिन् । बुढेसकाकालको साहारा खोज्ने बेलामा साथमा नत छोरा छन् नत छोराछोरी नै छन् । उनीसँग बाँकी छत केबल उनीहरुको यादमात्र छ ।
जीवनभर घुमन्ते फिरन्ते जीवन बिताउने क्रममा श्रीमानसँगै कैयन जंघार तरेको सम्झिदै उनी टोलाउँछिन् । कैयन उकाली ओरालीहरु हिडिन् । बनजंगल पाखापखेरा डुल्ले क्रममा श्रीमानसँगै साउने झरी र बर्खामा उर्लिएको खोलाहरु तरेको यादहरु उनको मानसपटलमा अहिलेपनि ताजा बनेर आउने बताउँछिन् । श्रीमान साथमा नरहे पनि उकाली ओराली, भञ्ज्याङ चौतारी र गाउँघरका पाखा पखेरामा श्रीमानसँगै काठका भाडाकुडासँग अन्न साटेका सम्झनाहरु आफुसँगै रहेको उनी बताउँछिन् । तर, अहिले उनको साथमा नत श्रीमान छन् नत छोराछोरी नै छन् ।
केही महिना अघि पति महिनबहादुर शाहीको मृत्यु पछि दुनी शाही एक्ली छन् । दुई बर्ष अगाडी जेठो छोरा नारायण शाहीको बस्तिमै सुतेको अवस्थामा जलेर मृत्यु भयो र चार बर्ष अघि कान्छो छोरा शिवराजको मृत्युपछि पीरमा पिरोलिएकी दुनी शाहीको पतिको मृत्यु पछि उनी झनै एक्लिएकी छन् ।
आठवटा छोरी र ६ वटा छोरा जन्माएकी उनी सधैसो हँसिलो मुहारमा आधा नेपाली र आधा खाम्ची भाषा बोल्ने दुनीलाई यतिवेला जीवयापन गर्न कठिन हुँदै गएको छ । अहिले उनको साथमा छोरीबाट जन्मिएको एउटा १० वर्षिय नाती छन् । दुईवटी एकल बुहारी छन् । बुहारी सुन्दरी शाही र सुरमान शाही पनि उनीबाट अलग्गै बस्छन् । सुन्दरी २२ बर्षकी भईन भने सुरमान १७ बर्षकी भइन् । नारायण पत्नी सुन्दरी हुन भने शिवराजको सुरमान शाही हुन् । कलिलै उमेरमा विहेवारी गरेकी यी दुई किशोरी श्रीमान गुमाएर बाल्यकालमै एकल बनेको दुनी शाही बताउँछिन् ।
उनीहरुका सन्तान छैनन् । नारायणको दुई बर्ष अघि आगोमा जलेर मृत्यु भएको थियो भने शिवराजको चारबर्ष अघि उच्च रक्तचापका कारणले मृत्यु भएको सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत स्वाथ्यकर्मी विनोद विसी बताउँछन् ।
राउटे समुदायमा महिलाहरुले काठको काम गर्दैनन् । आन्तरिक घरको मात्र काम गर्छन । काठको काम नगर्ने भएपछि दुनी शाहीलाई चिन्ताले पिरोल्न थालेको छ । एक पछि अर्काे परिवारको मृत्युले दिनहुँ कम्जोर हुदै गएको उनी बताउँछिन् । यताउता हिड्डुल गर्न गाह्रो हुन्छ,उनले भनिन्, ‘घरमा काठबाट कोशी बनाईदिने कोही पुरुष छैनन् । नाती बालकखै छ । पुरुष नहुँदा जीवनयापन गर्न गाह्रो छ ।’
उनी बोल्दै गइन् । हामी सुन्दै गयौँ । १४ सन्तानको जन्म दिएर पनि आफुसँगै कोही नहुनु निकै पीडा भएको बताइन् । मैले १४ छोराछोरी जंगलमै जन्माए । तर अहिले सम्म कोही पनि बाँचेनन्,’उनले भनिन्, ‘नारायण, शिवराज, र छोरी ढुग्री ठुलै भएर मरे । अरु त स्यानोमै बिरामी हुँदै बितेर गए ।’
पछिल्लो तथ्यांकलाई हेर्ने हो भने यो समुदायमा १५ देखी ८० बर्षसम्मका एकल महिलाहरु रहेका छन् । रास्कोटी,सोमबंंशी मध्ये कल्याल जातीमा एकल महिलाको संख्या अधिक छ । तीन जना एकल पुरुष छन् । कलिलै उमेरमा एकल बनेकाहरुका सन्तान छैनन् भने अधिकांंश एकल महिलाले सन्तान जन्माएपनि मृत्यु हुँदा निसन्तान जस्तै बनेका छन् ।
राउटे समुदायका महिलाहरु घरको आन्तरिक व्यवस्थापकका रुपमा नेतृत्व गर्दै आएको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्री बताउँछन् । समुदायका महिलाहरुको आन्तरिक व्यवस्थापनमा मुख्य नै मानिन्छन्,उनले भने, र घर बाहिरको काम पुरुषको हो घरको व्यवस्थापनमा महिलाकै नेतृत्व रहन्छ ।’
श्रीमान गुमाएर एकल भएकी महिला बाहेक अन्य महिला काठबाट बनेका कोशी मधुश लगायतका काठका सामाग्रि विक्री गर्न जादैनन् । महिलालाई काठको भाँडाकुडा बनाउन आउदैन । एकल महिलाको घर खर्च चलाउनका लागि आफन्तले जंगलबाट काठका भाँडाकुडाँ बनाएर सहयोग गर्छन । उनीहरुको जीवनयापन गर्ने माध्यम त्यही हो भने अर्को नेपाल सरकारले उपलब्ध गर्ने सामाजिक सुरक्षा भत्ता रहेको खत्रीले बताए ।