कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सुदुरपश्चिम प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या चार पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती चारजना सङ्क्रमितमध्ये तीनजना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीयस्तरमै सङ्क्रमण भएको पाइएको छ।
जानकारहरूका अनुसार ’लकडाउन’ अघि र पछिका केही दिनहरूमा भारतबाट करिब डेढ लाखको सङ्ख्यामा मानिसहरू सुदुरपश्चिम भित्रिएका थिए।
तर तीमध्ये दुई सयजनाको समेत परीक्षण हुन सकेको छैन भन्दै उनीहरूले परीक्षणलाई तीव्र बनाउनु पर्ने कुरामा जोड दिएका छन्।
यस क्षेत्रमा एक हजार मात्र परीक्षण किट रहेको बताइएको छ।
सेती प्रादेशिक अस्पतालमा रहेको मेसिनले दिनमा चारवटा मात्र स्वाबको परीक्षण गर्न सक्छ।
फागुन १ गतेदेखि कोरोनाभाइरस सङ्क्रमण जाँच्न ’थ्रोट स्वाब’ परीक्षणका लागि हालसम्म १५१ वटा पठाइएका मध्ये १८ वटा नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी छ।
गएको मङ्गलबार जाँच्ने मेसिन धनगढी र्पुयाइएपछि शुक्रवारदेखि मात्र यहीँबाट परीक्षण सुरु भएको थियो। त्यहाँ परीक्षण गरिएका कुनै पनि नमुनामा सङ्क्रमण नभेटिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ।
वरिष्ठ फिजिसियन डा शुभेषराज कायस्थले अहिलेको स्थितिमा तदारुकताका साथ परीक्षण गर्नु नितान्त आवश्यक रहेको बताएका छन्।
“अब सरकारले यहाँको स्रोत आकलन गरि हाल्नु र्पयो। विस्फोट हुने सम्भावना देखिएको छ।“
“पहाडी जिल्लामा पनि ठूलो सङ्ख्यामा मानिस भित्रिएका छन्। अहिलेसम्म बाहिरबाट आएकाहरूमा मात्र परीक्षण गरिएको छ अब समुदायस्तरमा जानु र्पयो।“
“समुदायस्तरमा फैलिएको छ भने सरकारले ठोस कदम चाल्नु पर्छ। निजी अस्पतालहरू पनि राम्रो व्यवस्था र सुविधायुक्त छन् तिनलाई पनि सरकारले प्रयोग गर्नुपर्ने उनले बताए ।