काठमाडौँ । बागलुङ ढोरपाटन नगरपालिका – ९ का विशेष विश्वकर्मा सार्वजनिक रुपमा मात्र होइन आफ्नै साथीभाईको अघि समेत सिधा नजरले बोल्न समेत सक्दैन थिए । तर, अहिले उनमा परिर्वतन आएको छ । अहिले उनी सबैसँग ढुक्कले खुलस्त कुरा गर्न सक्छन् । विशेषमा यस्तो विशेष परिर्वतन आउनुको प्रमुख कारण होे ‘वीमेन क्लब जुनियर्स’ ।
वीमेन क्लबमा सहभागी भएपश्चात् उनी जस्तै अन्य सहभागीहरुले सामाजिक विषयमा चासो राख्छन्, प्रश्न गर्छन, अनि सुझाव दिन्छन् । विशेष भन्छन्, ‘पहिले म निकै लजालु थिएँ, सार्वजनिक ठाउँ र सबैसँग बोल्न लजाउँथे, अहिले ममा परिर्वतन आएको छ ।’
गाउँ गएको समयमा विशेषले बालविवाहको मुद्दामा सचेतना फैलाउने विषयमा आमाकै हप्की खाएको स्मरण गरे । छिमेकमा नावालिकाको विवाहको तयारी भइरहेको देख्दा, उनले आफ्नी आमालाई विवाह रोक्न पहल गर्न सुझाएको बताए । ‘तर उल्टै आमाले भने, अरूको निजी विषयमा दखल दिनु हुन्न छोरा भन्दै हप्की खाएको र यस्तो प्रतिक्रिया सुन्दा स्तब्ध भएँ,’ उनले भने ।
यस्तो कुरामा समाजमा सबै मिलेर आवाज उठाउँनुपर्नेमा आफ्नै आमालाई भन्दा पनि उल्टै हप्काउनुभयो,’उनले भने, ‘यदि मेरो आमा शिक्षित भएको भए त्यसो भन्नुहुँदैन थियो । अशिक्षित भएकैले बोल्न हुन्न भनेर हप्काउनुभयो ।’
विशेष यो परिवर्तनको एकजना प्रतिनिधि पात्र मात्र हुन् । ललितपुरका विभिन्न विद्यालयमा अध्ययनरत सुरेश थापा, सुयोग काफ्ले, समिर, रनेश चौधरी र ओम पाण्डेसहित ‘हामी दाजुभाई’ संस्थाद्वारा सञ्चालित ‘वीमेन क्लब जुनियर्स’ मा सहभागी भएका किशोरहरूको जीवनमा यस्तै सकारात्मक रूपान्तरण आएको छ ।

विशेषजस्तै दैलेखको दुल्लु नगरपालिका –२ भाटिमेलेका सुरेश थापा पनि सार्वजनिक ठाउँमा बोल्न लजाउने, समाजका नराम्रा कुराहरुमा बोल्न नसक्ने, र उनको व्यवहार नै फरक थियो । बोल्नु अघि सोच्दैन थिए । चाडो रिसाउने र बोल्ने व्यवहार पनि फरक थियो । यति मात्र नभएर घरायसी सबै काम महिलाले मात्र गर्नुपर्छ भन्ने सोच भएका सुरेशमा अहिले बद्लाव आएको छ ।
जब सुरेश वीमेन क्लब जुनियरका सत्रहरू मार्फत, खुल्न र बढी सुन्न थाले । सम्मान, लैङ्गिक समानता र सहमति जस्ता विषयहरूमा छलफलले उनलाई आफ्नै कार्य र विश्वासहरूमा चिन्तन गर्न मद्दत ग¥यो । बिस्तारै, उनले आफ्नो मानसिकता परिवर्तन गर्न थाले । उनले बुझ्न थाले कि लिङ्गको प्रर्वाह नगरी सबैलाई माया र सम्मानका साथ व्यवहार गर्नुपर्छ ।
पहिले घरमा जादा पनि घरायसी काम, खाना पकाउने, भाँडा माझ्ने र अन्य सरसफाईको काम आमा दिदि–बहिनीकै जिम्मेवारी हो सोच्थेँ,’सुरेश भन्छन्, ‘तर, त्यो होइन रहेछ, अहिले मेरो सोचमा निकै परिर्वतन आएको छ । यो परिर्वतन आउनुमा हामी दाजु–भाईद्वारा संचालित वीमेन क्लब जुनियर्समा सहभागी भएपछि हो । म वीमेन क्लबलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
ललितपुरको टिका विद्याश्रम माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत सुरेशले आफ्नो पुरानो एक साथीको घटना स्मरण गरे ।
‘कक्षाकी एक छात्रालाई मन पराएकोमा आफ्नो वर्ण र भूगोलको पहिचानकै आधारमा गिज्याइएपछि साथीले विद्यालय नै परिवर्तन गरे आफ्नै ठाउँ तराई फर्किन बाध्य हुनुभयो,’ उनले मलिन स्वरमा सुनाए ।
उनले थपे, ‘कोही कहाँ जन्मिन्छ, कस्तो वर्ण वा कदको हुन्छ भन्ने कुराले कुनै पनि व्यक्तिको सम्मान र गरिमा घटाउँदैन । सबैको रगत एउटै हो–रातो ।’
सुरेश यस्तो ज्ञान ललितपुरमा वा नेपालको एउटा कुनामा मात्र सिमीत नभएर देशका सबै ठाउँमा संचालन गर्नुपर्ने बताए । उनले भने, ‘हामीले पाएको ज्ञान वास्तवमा मेरो आमा, कर्णाली र सिङ्गो राष्ट्रलाई नै आवश्यक छ र यस्तो ज्ञान नेपालका सातवटै प्रदेशका जिल्लामा संचालन गर्नु आवश्यक छ ।’
यता महेन्द्र आदर्श माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत सुयोग काफ्लेको पनि महिलाहरुले गर्ने घरायसी काम पुरुषहरुले गर्न हुँदैन भन्ने सोच थियो । जब उनी वीमेन क्लब जुनियर्समा सहभागी भए त्यसपछि उनमा पनि परिर्वतन आयो । वीमेन क्लब जुनियर्सले मेरा आँखा छर्लङ्ग खुलेका छन्,’ उनले भने, ‘अहिले म आफुले गर्न सक्ने सबै घरायसी काम आफै गर्छु । आमा दिदिबहिनीलाई सघाउँछु । र सबै काम महिला पुरुष दुबैले मिलेर गर्नुपर्छ भन्ने शिक्षा पाएको छु ।’

उन्नति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत समिर भन्छन् ‘पहिले म छिटो रिसाउने, कठोर व्यवहार गर्ने बानी थियो । विमेन क्लबको सत्रहरूमा सहभागी भएपछि ममा ठूलो परिवर्तन आयो—अब म अरूको कुरा सुन्छु, सोचेर बोल्छु, सबैलाई समान व्यवहार गर्छु । सबैभन्दा ठूलो कुरा मैले सिकेको सहमतिको महत्तव हो ।’
सधै चर्को स्वरमा बोल्ने, रिसाउने र विशेष गरी केटीहरूप्रति हेपाहा व्यवहार गर्ने समीरलाई अहिले उनका शिक्षक र साथीहरू शान्त र सहयोगी भनेर चिन्छन् । उन्नति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत समीरको यो रूपान्तरण अचानक आएको थिएन । यो विमेन क्लब मार्फत उनले सिकेका मूल्य, सोच र व्यवहारको नतिजा हो ।
‘पहिला म जे सोचें, त्यही बोल्थें। अहिले सोचेर मात्र बोल्छु,’ समीर भन्छन् । विमेन क्लब जुनियरमा सहभागी हुनुअघि, समीरको नजरमा पुरुष हुनुको अर्थ बलियो देखिनु, कठोर हुनु, रुन नहुने र घरको काम नगर्ने थियो । यस्ता धारणा हाम्रो समाजमा धेरै बालक–किशोरहरूले बोकेका हुन्छन् । र यस्तै सोचले उनीहरूको व्यवहारमा पनि प्रभाव पार्दछ ।
तर विमेन क्लबमा भाग लिन थालेपछि समीरलाई पुरुषत्वको परम्परागत परिभाषालाई चुनौती दिदै नयाँ कुरा सिके । सहमति, सम्मान, समानता, जिम्मेवारी जस्ता विषयमा छलफल हुँदै गएपछि, उनले आफैँमा प्रश्न उठाउन थाले—के म साँच्चिकै सही गरिरहेको छु ? के अरूको भावना मैले बुझ्न खोजेको छु ?

सिराहको लाहान नगरपालिका – १२ जेटिआइटीका रनेश चौधरी पाटन हाइस्कुलमा कक्षा ९ मा अध्यनरत छन् । कहिलेकाही विदाको समयमा घरमा जादा घरायसि सबैजसो काम दिदि र आमालाई नै गर्न दिन्थे । उनको सोच थियो कि घरायसि सबै काम महिलाले मात्र गर्नुपर्छ पुरुषले गर्न हुँदैन भन्ने सोच्थे । तर, आज उनमा त्यो सोच परिर्वतन भएको छ । विदाको समयमा घरमा पुग्दा आफुले सक्नेजति सबैजसो घरायसि काममा उनले सघाउछन् । उनको त्यो परिर्वतन देखेर घरमा आमा दिदि समेत चकित पर्छन । पहिले घरायसी काम नगर्ने डुलेर समय बिताउने उनी फुर्सदको समयमा पनि घरायसि काम गर्दा उनको घर परिवार र वरपरका आफन्त नै छक्क पर्ने गरेको उनी बताउँछन् ।
‘२३ वटा कक्षामा सहभागी भएर मैले बुझेँ– घरको काम, सरसफाइ, सबै कामको जिम्मा महिलाको मात्र होइन । मैले अहिले व्यवहारमा पनि लागू गर्न थालेको छु ।’
पुरुषत्व कुनै निश्चित बाहिरी व्यवहार नभएर जिम्मेवारी, समझदारी र संवेदनशीलताको संयोजन भएको चौधरी बताउँछन् । आजको युगमा पुरुष हुनु भनेको अरूको सम्मान गर्नु, आफ्ना कमजोरी स्वीकार्नु, र आत्ममूल्यलाई नतोडी अघि बढ्नु हो । पहिले मलाई यो पुरुषत्व भनेको के हो थाहै थिएन,’तर, वीमेनले हामीलाई पुरुषत्वको बारेमा धेरै कुरा सिक्न पायौँ ।’
डीकेए अष्ट्रियाको साझेदारीमा ‘हामी दाजुभाई’ संस्थाद्वारा सञ्चालित वीमेन क्लब जुनियरले क्लबमा सहभागी भएका धेरैजनामा सकारात्मक सोच र व्यवहारको विकास भएको छ । उनीहरु जस्तै क्लबमा आवद्व १२ वटा विद्यालयका २१६ जना विद्यार्थीहरुमा यस्तो परिर्वतन आएको सहजकर्ता रोजेन महर्जन बताउँछन् । रोजेन भन्छन्, ‘पहिले बोल्न डराउने किशोरहरू अहिले प्रश्न गर्छन्, उत्तर दिन्छन्, गाउँको बारेमा बोल्छन् । उनीहरूमा आत्मविश्वास बढेको छ । २४ सेसनको कक्षा सकिए पनि उनीहरू अझै सम्पर्कमा छन् र आफुले गरेका क्रियाकलापबारे हामीलाई अवगत गराउँछन् ।’

किशोरहरू अब सामाजिक सेवामा समेत संलग्न हुन थालेका छन्, जसले उनीहरूको सक्रिय नागरिक बन्ने यात्रालाई अझ टेवा पु¥याइरहेको छ । अहिले यो कार्यक्रम ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा सञ्चालित छ । पहिलो वर्ष वीमेन क्लब जुनियर्स ललितपुर महानगरपालिका वडा नम्बर – ६, ८, ९, ११, १७, १८ मा सञ्चालन भएको थियो ।
दोस्रो वर्ष महालक्ष्मी नगरपालिका –४, ८ र गोदावरी नगरपालिका –८, र ११ र ललितपुर महानगरपालिका – २, ६ नम्बर वडामा सञ्चालन भएको र अर्को चरण आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने हामी दाजु–भाईद्वारा सञ्चालित वीमेन क्लव जुनियर्स परियोजना संयोजक वर्षा थापा मगरले जानकारी दिइन् । उनका अनुसार ललितपुर जिल्लाका १२ वटा विद्यालयमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

पहिलो चरणमा ललितपुर महानगरपालिका वडा नम्बर –१७ मा रहेको प्रभात माध्यामिक विद्यालय, वडा नम्बर –६ को बालविकास माध्यामिक विद्यालय, वडा नम्बर –११ को पाटन माध्यामिक विद्यालय, निर्मल माध्यामिक विद्यालय वडा नम्बर –१८, श्री शान्ति माध्यामिक विद्यालय वडा नम्बर वडा नम्बर –८, श्री श्रमिक शान्ति माध्यामिक विद्यालय वडा नम्बर –९, का विद्यालयमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर –८, र ११ मा रहेको श्री गणेश माध्यामिक विद्यालय र कञ्चन माध्यामिक विद्यालय रहेका छन् ।
दोस्रो चरणमा उन्नती माध्यामिक विद्यालय वडा नम्बर –६, र टिका विद्याश्रम माध्यामिक विद्यालय, महालक्ष्मी नगरपालिका वडा नम्बर –८ मा रहेको वेस्ट वीङ माध्यामिक विद्यालय र वडा नम्बर –४ मा रहेको श्री महेन्द्र आदर्श माध्यामिक विद्यालयमा वीमेन क्लब जुनियर्स सञ्चालन गरिएको परियोजना संयोजक थापा मगरले जानकारी दिइन् ।
त्यस्तै वीमेन क्लबमा सहभागी भएपछि समाजमा रहेका लैङ्गिक विभेदका सोचमा परिवर्तन आएको अनुभव गर्दै पाटन माध्यमिक विद्यालयमा अध्ययनरत ओम पाण्डे भन्छन्- ‘अहिले म आफ्नो लुगा आफैँ धुन्छु, घरायसी काममा सघाउँछु, र विदामा घरमा आमा, दिदी–बहिनीलाई मद्दत गर्नुपर्छ भन्ने सोच विकसित भएको छ ।’ पाण्डेका अनुसार क्लबले महिला–पुरुषबीचको समानता र सहभागिता बुझाउने अवसर दिएको छ । ‘महिलाले मात्र होइन, पुरुषले पनि घरको काम गर्नुपर्छ भन्ने सोच वीमेन क्लबले सिकायो,’ उनले भने ।

वीमेन क्लबअन्तर्गत सञ्चालन भएको २२ वटा कक्षामा सहभागी भएर उनले घरभित्र पुरुषको पनि महत्तवपूर्ण भूमिका हुनुपर्ने महसुस गरेका छन् । ‘पहिला यस्ता कुरा हाम्रो चेतनामा थिएनन्,’ ओमले भने, ‘तर अब नकारात्मक सोचलाई सकारात्मकतामा रूपान्तरण गर्न सक्ने आत्मविश्वास पलाएको छ ।’
उत्साहित शिक्षक–शिक्षिका र अभिभावक
वीमेन क्लब जुनियर्स परियोजनाले विद्यार्थीमा सकारात्मक प्रभाव पर्न थालेपछि विद्यालय शिक्षक र अभिभावक पनि उत्साहित छन् । वीमेन क्लब जुनियर्सले बालबालिकाको पहिलेको व्यवहार र अहिलेको व्यवहारमा निकै भिन्न र सकारात्मक पाएको शिक्षक शिक्षिकाहरुको भनाई छ ।
पहिले विद्यालयमा धेरैजस्तो संस्था आएपनि किशोरी केन्द्रित मात्र कार्यक्रम हुन्थे तर, हामी दाजु–भाई संस्थाले किशोर लक्षित फरक काम गरेर देखाएको प्रभात माध्यामिक विद्यालयकी शिक्षिका नारायणी देवि बताउँछिन् ।
‘पहिले हाम्रो विद्यालयमा धेरैजसो संस्थाहरु आउँथे, तर ती कार्यक्रमहरू प्रायः किशोरीहरूमा मात्र केन्द्रित हुन्थे,’ उनले भनिन्, ‘किशोरीहरूलाई मात्र तालिम दिइन्थ्यो, तर किशोरहरूलाई दिइन्थेन । पछि किशोरहरूलाई पनि समावेश गरेर ‘हामी दाजुभाइ’ संस्थाले फरक तरिकाले काम गरेर देखायो ।’

‘जब पुरुषहरूसम्म सचेतना पुग्छ, त्यसको प्रत्यक्ष लाभ किशोरीहरूलाई पनि हुन्छ भन्ने कुरा यसले प्रष्ट देखायो । अब किशोरहरू आफैँ जागरूक भएका छन्, र उनीहरूको सोचमा आएको परिवर्तनले समाजमा लैङ्गिक समानताको प्रवद्र्धनमा महत्तवपूर्ण भूमिका खेल्नेछ,’ नारायणी देविले भनिन् ।
पछिल्लो समय किशोरहरूको चालचलन, व्यवहार र बोलिचालिमा उल्लेखनीय परिवर्तन आएको बाालविकास माध्यामिक विद्यालयकी प्रधानाध्यापमक चन्द्रा श्रेष्ठ बताउँछिन् । ‘म आफैँ पनि विद्यालयमा स्वास्थ्य शिक्षा पढाउँछु । पछिल्लो समय किशोरहरूको चाल–चलन, व्यवहार र बोलिचालिमा पहिलेभन्दा सकारात्मक परिवर्तन आएको छ,’ उनले भनिन् ।
क्लबबाट धेरै व्यवहारिक कुरा सिकेका छन, ‘जस्तै घरपरिवारप्रति कर्तव्यबोध, जिम्मेवारी लिने बानी, र समाजप्रति सकारात्मक सोच । अहिले त अभिभावकहरूले समेत भन्न थाल्नुभएको छ—‘पहिलेभन्दा हाम्रो छोरा–छोरीले जिम्मेवारी बोध गर्छन ।’
वीमेन क्लब परियोजनाअन्तर्गत काम गर्दा धेरै समस्याहरूजस्तै मानसिक अस्थिरता, भावना व्यक्त गर्न नसक्ने आत्मविश्वासको कमी, अविकसित समाज, सहानुभूतिको अभाव, संरक्षण आदिको विषयहरूलाई सम्बोधन गरिएको थियो । विमेन क्लब परियोजनाले विशेष गरि विद्यार्थीहरूको विचारलाई बुझ्ने, उनीहरूमा देखिएका व्यवहारिक परिवर्तनलाई आत्मसात गर्न उनीहरूलाई प्रेरित गर्ने कार्य गरेको श्रेष्ठ बताउँछिन् ।
हामी दाजुभाइले आफ्नो सत्रमा २५ कक्षा सञ्चालन ग¥यो, जसमा समूह कार्य, खेलहरू, सेमिनार, स्लाइड शो, नाटक, अन्तक्र्रिया कार्यक्रम, कला प्रतियोगिता र अभिभावक बैठक मार्फत घरमा उनीहरुमा आएका परिवर्तनबारे मूल्याङ्कन पनि समावेश थियो ।
पहिले क्लवको सुरुवातमा भाइबहिनीहरुसँग भेट्दा देख्दा लजाउनुहुन्थ्यो आज उहाँहरुकै मुखारविन्दुबाट प्रत्यक्ष अनुभव सुन्दा खुशी लागेको ललितपुर महानगरपालिका वडा नम्बर – ६ की वडा सदस्य एवंम बालअधिकार समिति अध्यक्ष उमा बज्राचार्यले बताइन् । आगामी दिनमा पनि वडाबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता उनले जनाइन् ।

हामी सबै जनप्रतिनिधि यो कार्यक्रमबाट निकै नै खुशी हुनुपर्छ,’ उनले भनिन्, ‘हाम्रो महालक्ष्मी, गोदावरी, र ललितपुरका २९ वटै वडामा यस्तो कार्यक्रम गर्न बजेट उपलब्ध गर्नका लागि अनुरोध गर्छु ।’
‘वीमेन क्लब जुनियर’ परियोजनाबाट किशोरहरूलाई प्रदान गरिएको शिक्षा अत्यन्त सराहनीय भएको ललितपुर महानगरपालिका महिला विकास शाखा प्रमुख शोभा देवी खरेल बताउँछिन् ।
उनले भनिन्, ‘लैंङ्गिक समानता, प्रजनन् स्वास्थ्य, सामाजिक मूल्य–मान्यता, र महिला–पुरुष बराबरीका विषयहरू विमेन क्लबमार्फत सिकाइँदो रहेछ भन्ने कुरा सुन्दा मलाई निकै खुशी लाग्यो ।’
खरेलका अनुसार अतीतमा यस्ता विषयवस्तुहरू प्रायः महिलाहरूलाई मात्र लक्षित गरेर सिकाइन्थ्यो । ‘सन १९८० को दशकदेखि यस्ता विषय महिलाहरूलाई मात्र सिकाउने गरिन्थ्यो,’ उनले भनिन्, ‘पुरुष र बालकहरूलाई भने यस्ता विषयहरूबाट अलग राखिन्थ्यो । तर, अहिले किशोरहरूलाई लक्षित गरी उनीहरूलाई ‘चेन्ज एजेन्ट’ अर्थात् परिवर्तनका अगुवा बनाउने यो प्रयास अत्यन्त सकारात्मक र आवश्यक छ ।’

खरेलले यस्ता कार्यक्रमलाई अन्य विद्यालयहरूमा पनि विस्तार गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्दै, सहभागी किशोरहरूबाट समाजमै सकारात्मक परिवर्तनको सन्देश फैलन सक्ने विश्वास व्यक्त गरिन् ।
किशोरहरुमा पहिलो भन्दा अहिले अहिले धेरै नै परिवर्तन आएको ललितपुर महानगरपालिका – १८ की वडा सदस्य रुकमणी महर्जनको भनाई छ । किशोर लक्षित कार्यक्रम प्रभावकारी रह्यो, तर यस्तै तालिम किशोरीहरूलाई पनि दिएको भए अझ राम्रो हुनेथियो,’ उनी भन्छिन्, ‘यदि किशोर–किशोरी दुवैलाई एकै ठाउँमा राखिएको भए, उनीहरू एक–अर्कालाई अझ राम्ररी बुझ्न सक्ने थिए ।’
‘पहिले पुरुषहरुले भन्थे—‘यो त महिलाहरूले गर्ने काम हो, हामीले होइन । तर अहिले त्यो सोच परिवर्तन भएको छ,’ वडा सदस्य महर्जनले भनिन् ।
अब सबैले बुझ्न थालेका छन् कि कुनै पनि काम लिङ्गको आधारमा होइन, क्षमताको आधारमा हुनुपर्छ । सहयोगी भावना र समानता अहिलेको युवामा देखिन थालेको छ, जुन अत्यन्त सकारात्मक हो । ‘मैले कार्यक्रमको पहिलो चरणमा सहभागी हुन पाइनँ, तर यो पटक भने सक्रिय रूपमा संलग्न हुन पाएँ । अहिले लाग्यो-यो त सचमुच किशोर–किशोरी दुवैले सिक्नुपर्ने, बुझ्नुपर्ने गम्भीर विषय रहेछ,’ उनले भनिन् ।
वीमेन क्लब जुनियरमा सहभागी भएदेखि किशोरहरूमा अहिले निकै सक्रियता देखिन थालेको वेस्ट वीङ माध्यामिक विद्यालयका शिक्षक सुरेश गुप्ता बताउँछन् । पहिलेभन्दा उनीहरू खुला रूपमा विचार राख्न थालेका छन्,’ उनी भन्छन्, ‘सामाजिक विषयहरूमा चासो दिन थालेका छन्, र अरूलाई पनि सचेत गराउन अग्रसर भएका छन् ।’

वीमेन क्लब जुयिर संचालन पश्चात् अहिले सकारात्मक परिर्वतन आएको छ । पहिले भन्दा अहिले सोचमा ठुलो अन्तर आएको सहजकर्ताहरु बताउँछन् । पहिले धेरैजसो सहभागीलाई पुरुषत्वको बारेमा थाहै नभएको वीमेन क्लव सहजकर्ता साधना गुरागाईँ बताउँछिन् ।
‘पहिले पुरुषत्वबारे धेरैलाई थाहा थिएन, तर वीमेन क्लबका सहजकर्ता साधना गुरागाइँका अनुसार अब सहभागीहरूमा सकारात्मक सोच आएको छ–पुरुष हुन ठूलो बोली हुनु जरुरी छैन र एलजीबिटीक्यू समुदायप्रति सम्मान बढेको छ ।’
के हो वीमेन क्लब जुनियर ?
वीमेन क्लब जुनियर एक किशोर– केन्द्रित कार्यक्रम हो, जसले १८ वर्ष मुनिका किशोरहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न र लैङ्गिक–आधारित भेदभाव तथा हिंसाको अन्त्यमा सक्रिय रुपमा संलग्न गराउँछ । सन् २०२१ मा ललितपुर महानगरपालिकाका विद्यालयहरूमा सुरु गरिएको यो परियोजना हाल महालक्ष्मी र गोदावरी नगरपालिका समेत संचालन भएको परियोजना संयोजक थापा मगरले बताइन् ।
उनका अनुसार कार्यक्रमअन्तर्गत, विद्यालयहरूमा क्लब गठन गरी प्रशिक्षित सहजकर्ताहरूको नेतृत्वमा साप्ताहिक सत्रहरू सञ्चालन गरिन्छ, जहाँ किशोरहरूले पुरुषत्व, बाल्यकाल, लैङ्गिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार लगायत विषयमा छलफल गर्छन् ।
हामी दाजुभाईद्वारा संचालित वीमेन क्लव जुनियरको यस पहलले युवा, अभिभावक र शिक्षकहरूलाई लैङ्गिक भेदभाव र हिंसाको विरुद्धमा सचेत बनाउँदै समावेशी र मर्यादित समाज निर्माणमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
यसरी ‘वीमेन क्लब जुनियर’ को पहलले युवा, अभिभावक र शिक्षकहरूलाई लैङ्गिक भेदभाव र हिंसाविरुद्ध सचेत बनाउँदै समावेशी र मर्यादित समाज निर्माणमा महत्तवपूर्ण योगदान पु¥याइरहेको छ । नेपालको ग्रामीण समाजमा आज पनि धेरै घरहरूमा घरायसी काम महिलाकै जिम्मेवारी ठानिन्छ। केटाहरू घरको काममा संलग्न हुँदा तिनलाई हेप्ने, जिस्क्याउने चलन पनि छ । तर यस्ता सामाजिक मान्यतामा परिवर्तन ल्याउन यस्तै क्लबसँगको अभ्यास अत्यन्त प्रभावकारी देखिन्छ ।