काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजना हुने बहुप्रतीक्षित ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ। “अझ धेरैका लागि अघि बढौँ” भन्ने नाराका साथ आयोजना हुने यस प्रदर्शनीको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलले गर्नेछन् ।
प्रदर्शनीमा पहिलोपटक यान्त्रिक चेतना भएका यन्त्रहरू युनिटिरी रोबोट्स र भविष्यमुखी हवाई सवारीको संकेतस्वरूप डिपल इभटुल युएभी प्रदर्शन गरिने बताइएको छ । साथै, १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक, ४ वटा दुईपांग्रे सवारी साधन ब्रान्डहरू, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायक गरी ३५ कम्पनीसहित १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् ।
कुल ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको यस प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ । प्रदर्शनी क्षेत्रलाई चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स तथा वित्तीय सेवा लगायत विभिन्न जोनमा विभाजन गरिएको छ। आगन्तुकहरूको सुविधाका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपतकालीन स्वास्थ्य सेवा, सुरक्षा निगरानी र आगो नियन्त्रणको व्यवस्था मिलाइएको छ ।
प्रदर्शनीको विशेष आकर्षणमा ‘विन्टेज मोटर शो’ समावेश गरिएको छ, जसमा मोरिस माइनर, फियाट, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, भिडब्लू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया लगायत ऐतिहासिक सवारी साधनहरू प्रदर्शन गरिनेछन्। त्यसैगरी, ‘स्वदेशमै निर्माण’ नामक प्याभिलियनमा नेपालमै निर्माण भएका सवारी साधन र पार्टपुर्जाहरू प्रदर्शनीमा राखिनेछन्।

‘अन्तर्राष्ट्रिय व्यापार प्याभिलियन’ मार्फत विदेशी लगानी र सहकार्यलाई प्रवर्द्धन गरिनेछ भने विद्युतीय सवारीसाधन, स्मार्ट मोबिलिटी र दिगोपन सम्बन्धी सेमिनार, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछन्।
यस अटो शोको शीर्ष प्रायोजक युनिट्री (एमएडब्लु वृद्दि रहेको छ भने सहप्रायोजक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, क्याम्पा कोला, याङ्गो, खल्ती, वर्ल्डलिंक, सिसिटिभी नेपाल, हिमालयन सेफ्टी सोलुसन्स, किस्ट अस्पताल, द प्लाजा होटललगायतका संस्थाहरू रहेका छन्।
कार्यक्रम व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रा।लि। (जेम्स) द्वारा गरिनेछ। अग्रिम टिकट खरिद खल्ती एपमार्फत गर्न सकिनेछ, जसमा भदौ २ गतेसम्म २० प्रतिशत नगद फिर्ता (क्यासब्याक) उपलब्ध हुनेछ।
नाडा अटो शो २०२५ का आयोजक समिति सभापति तथा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अब टुट्टै युगमा प्रवेश गरेको बताए । उनका अनुसार, “नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई नवप्रवर्तन, सम्भावना र दिगोपनको साझा मञ्च हो । हामी सबैलाई यस यात्रामा सहभागिता जनाउन आमन्त्रण गर्दछौँ ।”