काठमाडौँ । आधुनिक जीवनशैली, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग, प्रदूषण, असन्तुलित आहार र निद्राको कमीले गर्दा आँखासम्बन्धी समस्या दिनदिनै बढ्दै गएको छ। अब आँखाको चसक्क दुख्ने, थकान हुने, दृष्टि धमिलो हुने वा चस्मा लगाउने समस्या उमेर विशेषको मात्र नभई सबै पुस्ताको साझा चिन्ता बनेको छ।
यस्ता समस्याबाट जोगिन अब प्राकृतिक उपाय, विशेषतः फलफुलको सेवनप्रति जनचासो बढ्दो छ। गाजर, किवी, पपीता, आँप, अंगुर, सुन्तला, कागती र एभोकाडो जस्ता फलहरू आँखाको स्वास्थ्यका लागि लाभदायक मानिन्छन्।
विशेषज्ञहरूका अनुसार यस्ता फलफुलमा पाइने भिटामिन ए, लुटेइन, जिओक्सान्थिन, भिटामिन सी, जिंक र ओमेगा–३ फ्याटी एसिड आँखाको दृष्टि सुधार र सुरक्षा दुवैका लागि आवश्यक तत्व हुन्।
नेत्र विशेषज्ञ डा. सरोज अधिकारी भन्छन्, “फलफुलले मात्र होइन, सन्तुलित आहार, प्रशस्त पानी, नियमित निद्रा र आँखाको विश्रामले दृष्टि जोगाउन मद्दत गर्छ।”
विशेषज्ञहरू सुझाव दिन्छन् कि दैनिक कम्तीमा दुईथरी फलफुल सेवन गर्नुपर्छ। खाली पेट तथा चिनी नहालेर फलफुल खाँदा पोषक तत्व राम्रोसँग अवशोषित हुने उनीहरूको भनाइ छ।