काठमाडौँ । कालिकोट जिल्लास्थित नेपालको सबैभन्दा अग्लो भनिएको पचालझरना अब डिजिटल प्रविधिको माध्यमबाट विश्व सामु चिनिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ का लागि सार्वजनिक गरेको एक सय प्रमुख पर्यटकीय गन्तव्य सूचिमा पचालझरना ६४औं स्थानमा परेको छ ।
यससँगै नेपाल पर्यटन बोर्ड र यूएनडीपी को सहकार्यमा पचालझरनाको प्रवर्धनका लागि क्यूआर कोड प्रणाली सुरु गरिएको छ। अब पर्यटकले मोबाइलबाट क्यूआर कोड स्क्यान गरी झरनासम्बन्धी जानकारी, इतिहास, पहुँच मार्ग, आवास व्यवस्था, वन्यजन्तु तथा जैविक विविधताको विवरण सहजै थाहा पाउन सक्नेछन्।
गाउँपालिकाका उपाध्यक्ष अल्किना बमका अनुसार, “क्यूआर कोडको फ्रेम हामीले बुझेर ल्याइसकेका छौं । अब आन्तरिक तथा बाह्य पर्यटकलाई पचालझरनाको बारेमा जानकारी पाउन सजिलो हुनेछ।” एक थान कोड पर्यटन बोर्डमा र अर्को पचालझरना गाउँपालिकालाई हस्तान्तरण भइसकेको छ।
पचालझरना कालीकोटको पचालझरना गाउँपालिका–४ र ७ मा अवस्थित छ। ३८१ मिटर अग्लो यो झरना तेह्रथुमको ह्यातुङ झरना ९३६५ मिटर० भन्दा अग्लो भएको गाउँपालिकाले दाबी गरेको छ।
प्राविधिक कुलप्रसाद न्यौपाने का अनुसार, “हामीले नापजाँच गर्दा झरना ३८१ मिटर अग्लो रहेको पाइयो । बीचमा झरना ठोक्किने ठाउँ जोड्दा कुल लम्बाइ ४१५ मिटर पुग्छ ।”
पचालझरनाको शिरमा डाँफे, कालिज, घोरल, बनेल, कस्तुरी, हिमाली कालो भालुजस्ता दुर्लभ वन्यजन्तु पाइन्छन्। त्यहाँ पुग्न कर्णाली करिडोरको लाफागाडबाट गाडीमा एक घण्टा र त्यसपछि पैदल तीन घण्टा लाग्छ ।
पर्यटकको सहजताका लागि खार्दु गाउँमा पाँचवटा होमस्टे सञ्चालनमा छन्। गाउँपालिकाले रेलिङसहितको गोरेटो बाटो निर्माण गरेर झरनासम्मको यात्रा सुरक्षित बनाएको जानकारी दिएको छ ।
गाउँपालिकाले पचालझरनालाई व्यवस्थित गर्दै अन्य सम्भावित गन्तव्यहरूलाई पनि विकास गर्न पर्यटन बोर्डसँग सहकार्य गर्दै आएको बताइएको छ। उपाध्यक्ष बमले भनिन्, “विगतदेखि नै पचालझरनालाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने प्रयासमा थियौं। अब क्यूआर कोड जस्ता सूचना–प्रविधिमैत्री उपायमार्फत यसको प्रचार–प्रसार र पहुँच अझ विस्तार हुनेछ।”