काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिका–६ को कोयलपुरस्थित नहर नजिकको झाडीभित्र गत शनिबार अपराह्न एक युवतीको शव भेटियो । शव सडेको र नग्न अवस्थामा थियो ।
प्रहरीले शव अन्दाजी २० वर्षीया युवतीको हुन सक्ने अनुमान गरेको छ । तर, उनको पहिचान खुलेको छैन । चार दिनसम्म पनि पहिचान खुल्न नसकेपछि प्रहरीले युवतीका कपडा र गहना सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले शवको पहिचान गर्न सहज हुने अपेक्षासहित युवतीले लगाएका कपडा, गहना र हातमा लगाउने ब्यान्ड सार्वजनिक गरिएको जानकारी दिइन् ।
‘‘सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएका छौँ । मृतकको पहिचान गर्न नै मुस्किल भएपछि उनका कपडा र गहना सर्वसाधारणको जानकारीका लागि राखेका हौँ,’’ उनले भनिन् ।
उनका अनुसार, स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । शव सडिसकेको अवस्थामा भेटिएको थियो । कम्मरभन्दा तल लुगा थिएन । शवको नजिकै पाइन्ट, चप्पल, कपालमा लगाइने क्लिप भेटिएको थियो ।
“यो कुनै दुर्घटना होइन, हत्या नै हो भन्ने हाम्रो प्रारम्भिक बुझाइ छ,’’ चुँडालले भनिन् ।
प्रहरीले बलात्कारपछि हत्या भएको आशंकासहित अनुसन्धान गरिरहेको छ । तर, शवको पहिचान नै हुन नसकेकाले अनुसन्धान गर्न कठिनाइ भइरहेको छ ।
चुँडालका अनुसार, शव बुढीगंगा औद्योगिक क्षेत्रमा भेटिएकाले युवती कुनै उद्योगमा काम गर्ने श्रमिक पनि हुन सक्ने अनुमान गरिएको छ ।