काठमाडौँ । शिक्षा क्षेत्रको गुणस्तर सुधार र व्यवहार परिवर्तनमा सामूहिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले दुई दिने विद्यालय स्तरीय सह(सिर्जना कार्यशाला दैलेखमा सम्पन्न भएको छ।
कार्यक्रम नारायण नगरपालिका, सोसेक नेपाल र परिचालन परियोजनाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यशालामा विद्यालय प्रशासन, शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी, शिक्षा शाखा, पत्रकार तथा जनप्रतिनिधिसहित करिब ३० जना सहभागी थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले शिक्षा सुधार एकल प्रयासले सम्भव नहुने बताउँदै, उच्च शिक्षाको लागि विद्यार्थीको घट्दो उपस्थिति गम्भीर चुनौतीको विषय भएको धारणा व्यक्त गरे । शिक्षामा साना-ठूला सबै पक्षको जिम्मेवारी समान रूपमा महत्त्वपूर्ण हुने उल्लेख गर्दै, “स-साना कुरामा ध्यान दिनु नै दीर्घकालीन सुधारको आधार हो,” उनले भने।
उपप्रमुख तप्ता कुमारी थापाले विशेष अतिथिको हैसियतमा सम्बोधन गर्दै, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र समुदायबीचको संयुक्त प्रयास विना शिक्षा प्रणालीमा रूपान्तरण सम्भव छैन भन्ने धारणा व्यक्त गरे । उनले यसै कारणले नगरपालिकाले सबै सरोकारवाला समेटिने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिइरहेको बताए ।
कार्यशालामा प्रशिक्षक युनिसेफ नेपालका शिक्षा अधिकृत पर्शुराम पन्थीले व्यवहार परिवर्तनका लागि सहजीकरण विधि, विद्यालय स्तरमा सिर्जनशील पहलकदमी तथा विद्यार्थी सहभागिता केन्द्रित रणनीतिहरूमा प्रशिक्षण दिए । सहभागीहरूले विभिन्न अभ्यासहरू, समुहगत छलफल र कार्य योजना निर्माण समेत गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले नयाँ पुस्ताको भविष्य सुरक्षित गर्न शिक्षामा गुणस्तर सुधार अत्यावश्यक भएको उल्लेख गरे। उनले विद्यालयमा बालमैत्री, गोपनीयता सुरक्षित र गुनासो व्यवस्थापन प्रणालीको विकास अपरिहार्य रहेको पनि जोड दिए ।