काठमाडौँ । दुई दशकभन्दा बढी समयदेखि सक्रिय रुपमा विद्यार्थी राजनीतिमा लागेर स्वच्छ छवि बनाएका विद्यार्थी नेता मनराज थापाले आगामी अनेरास्ववियु महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थापा हाल अनेरास्ववियु केन्द्रीय शैक्षिक विभागको सचिवको जिम्मेवारीमा छन् ।
विगतमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवारी दिने तयारी गर्दै लामो समय संघर्षरत रहेका थापा विभिन्न चुनौतीका बीच पनि विद्यार्थी आन्दोलनबाट विचलित नभएको बताउँछन् । उनले विद्यार्थीका हकहितका लागि आवाज उठाउँदा ९ दिन हिरासत बस्नुपरेको अनुभव पनि बाँडेका छन् ।
त्रिचन्द्र क्याम्पसमा नेतृत्व पाउन अनेकौं प्रयास गर्दा संस्थागत षड्यन्त्र र गलत नीतिका कारण पछि पारिएको भए पनि आफ्नो ईमान, नैतिकता र निरन्तरतामा कुनै कमी नआएको उनको भनाइ छ ।
दैलेखबाट काठमाडौंसम्मको यात्रामा आफुले संगठनको हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएको बताए । “अबको विद्यार्थी आन्दोलन जेन जि पुस्तासँग जोडिनुपर्छ, आधुनिक नेपालको सपना र युवाको चाहनासँग मेल खानुपर्छ,” थापाले भने ।
उनले शिक्षालाई रोजगारीसँग जोड्नुपर्ने धारणा राख्दै आगामी दिनमा ती विषयमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा उम्मेदवारी घोषणा गरेका थापाले अग्रज नेताहरूको साथ र मैदानमा खटिएका साथीहरूको माया, समर्थन र सुझावको अपेक्षा सहित अनुरोध गरेका छन् ।