जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१, जुम्लाका मौरीपालक किसानलाई व्यावसायिक सीप विकासका लागि पाँचदिने सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ। वडाध्यक्ष भीमबहादुर भण्डारीका अनुसार वडाको एक लाख रुपैयाँ बजेटबाट दस जना मौरीपालक किसानलाई तालिम र सामग्री प्रदान गरिएको हो।
वडाध्यक्ष भण्डारीले वडाभर ५०४ वटा मौरीघार रहेको जानकारी दिँदै, 'कनकासुन्दरी–१ लाई चाँडै मौरी पकेट क्षेत्र घोषणा गरिनेछ,' भने । उनले यहाँका गाउँहरू मह उत्पादनमा अन्य स्थानीय तहको तुलनामा अगाडि रहेको उल्लेख गरे ।
तालिममा कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका जिल्ला सचिव नारायण चौलागाईंले गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङका विषयमा प्रशिक्षण दिएका थिए । मौरीपालक किसान चन्द्रबहादुर भण्डारीले सीप र प्रविधिमा आधारित व्यावसायिक तालिमले किसानलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने धारणा व्यक्त गरे ।
जुम्लामा हाल ‘सेराना’ जातका मौरी प्रजातिको पालन हुँदै आएको छ। जिल्लाका आठवटै स्थानीय तहमा किसानहरू मौरीपालनप्रति आकर्षित भएका छन्। कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा हाल आठ हजारभन्दा बढी मौरीघार छन्। तर, जिल्लामा उत्पादन हुने महको तथ्याङ्क भने अहिलेसम्म व्यवस्थित रूपमा सङ्कलन भएको छैन । सहकारीले आगामी आर्थिक वर्षदेखि सबै स्थानीय तहबाट मह उत्पादनको सही तथ्याङ्क सङ्कलन गरिने जनाएको छ ।
चन्दननाथ नगरपालिका–२ खोलीकोटका रामकृष्ण बुढ्थापा २०५२ सालदेखि मौरीपालनमा सक्रिय रहँदै आएका छन् । दुईवटा घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले हाल १५० मौरीघार सञ्चालन गर्दै आएका छन् । तर, पछिल्ला वर्षहरूमा रोग, कीरा, जङ्गली जनावर र जलवायु परिवर्तनका कारण मौरी संरक्षणमा कठिनाइ बढेको बुढ्थापाले बताए ।
बुढ्थापाका अनुसार, हिउँदमा चिसोको कारण मौरी मर्ने, परागसेचन गर्ने मौरीहरू जेठदेखि साउनसम्म मर्ने, चरन क्षेत्र घट्नु, विषादीको प्रयोग र आधुनिक उपकरणको अभाव जस्ता समस्याले मौरीपालन व्यवसाय प्रभावित हुँदै आएको छ ।
कम लगानीमा उच्च आम्दानी लिन सकिने सम्भावना हुँदाहुँदै पनि मौरीपालक किसानहरू विभिन्न चुनौतीहरू सामना गर्न बाध्य छन् ।