काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले १८० दिनभन्दा बढी समयसम्म नविकरण बीमाशुल्क नबुझाई सुस्त रहेका बीमालेखहरूलाई पुनः सक्रिय बनाउन मिति २०८१ साल फागुन १५ गतेदेखि २०८२ साल बैशाख १३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरेमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।
कम्पनीले यस छुट योजना अन्तर्गत दीर्घकालीन लाभ प्रदान गर्ने उद्देश्यले बीमितहरूलाई आफ्ना बीमालेखहरू शीघ्र नविकरण गर्न आग्रह गरेको छ। यो योजना अन्तर्गत बीमालेख नविकरण गर्दा बीमितहरूले आधा मात्र विलम्ब शुल्क तिर्नुपर्ने भएकाले आर्थिक रूपमा सहज हुने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका अनुसार, छुट सुविधा प्राप्त गरेका बीमालेखहरू नविकरणको मिति देखि एक वर्षभित्र समर्पण गरिएमा छुट गरिएको सम्पूर्ण विलम्ब शुल्कको रकम कट्टा गरिनेछ। यसले बीमालेखलाई छोटो अवधिमा बन्द गर्न चाहने बीमितहरूलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ।
योजनाअनुसार, एक पटक छुट सुविधा प्राप्त गरिसकेपछि त्यसै बीमालेखमा पुनः बीमा अवधिभर कुनै पनि प्रकारको छुट दिइने छैन। बीमितहरूले उक्त विषयमा सचेत रहनुपर्नेछ।
यो छुट योजना केवल त्यस्ता बीमालेखहरूमा लागू हुनेछ जुन १८० दिनभन्दा बढी समय नविकरण शुल्क नबुझाई निष्क्रिय अवस्थामा रहेका छन्। १८० दिनभन्दा कम समय व्यतीत भएका बीमालेखहरूमा यो छुट लागू नहुने कम्पनीले स्पष्ट पारेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरूप्रति उत्तरदायी भावनाका साथ आर्थिक सहुलियत प्रदान गर्नका लागि यस्तो योजना ल्याएको जनाएको छ। कम्पनीले बीमितहरूको सेवा सुगम, सरल र सुलभ बनाउने उद्देश्यले यस्ता किसिमका योजना भविष्यमा पनि ल्याउँदै जाने प्रतिबद्धता जनाएको छ।
