काठमाडौँ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जलवायु परिवर्तनका कारण राउटे समुदायले विभिन्न जोखिमसँग सामाना गरिरहेको बताएका छन् ।
आइतवार सुर्खेतको वीरेन्द्रनगरमा प्रकोप पूर्व तयारी नेपाल (डिपिनेट)को आयोजना एइआईएन लक्जेम्बर्ग र सोसेक नेपालको सहयोग गुराँस गाउँपालिकाको समन्वयमा आयोजित ‘जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर÷प्रभाव’सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले लोपोन्मुख राउटे समुदायलाई जलवायु परिवर्तनको असरबाट बचाउन सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताए । पछिल्लो समयमा राउटेलाई देखाउने काम भए पनि उनीहरूको सीप, कला उपयोग हुन नसकिरहेको उनको भनाइ थियो ।
'राउटे समुदायबाट निर्माण भएका कोशी, मधुसजस्ता सामग्रीको प्रदर्शनी र बजारीकरण गर्न आवश्यक छ, यो समुदायका विभिन्न सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गरिनुपर्छ ,' भण्डारीले भने ।
राउटेलाई चुरोट, सुर्ती तथा मादक पदार्थ सेवनजस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने धारणा राख्दै मन्त्री भण्डारीले उनीहरूको स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।
राउटे समुदायको भाषा र उनीहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेकाले प्रदेश सरकारले आगामी दिनमा योजनाबद्ध कार्य अगाडि बढाउने योजना बनाएको मन्त्री भण्डारीको भनाई छ ।
त्यस्तै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जलवायु परिवर्तनका कारण राउटे समुदायको परम्परागत जीवनशैली प्रभावित भइरहेको उल्लेख गरे।

राउटे समुदायको जिविकोपार्जन घना जङ्गलमा निर्भर छ, तर जलवायु परिवर्तनले वन स्रोतहरूमा नकारात्मक असर पुर्याएको छ,' उनले भने, वन विनाश, पानीको स्रोतहरूमा ह्रास, र तापक्रम वृद्धिले समुदायको दैनन्दिन जीवनमा गम्भीर चुनौती उत्पन्न गरेको छ ।'
थापाले राउटे समुदायको जीवनशैलीअनुसार अनुकूलन गर्ने खालका नीति आवश्यक रहेको औँल्याउँदै प्रदेश सरकार, स्थानीय तह, तथा सम्बन्धित निकायहरूबीच सहकार्य गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए ।