ललितपुर, ६ भदौ । नेपालमा संक्रमण हुने जिल्ला र संख्यासमेत फैलिँदै गएपछि सरकारलाई बिरामी उपचारमा कठिनाइ परेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्।
कोभिड–१९ व्यवस्थापनमै सरकारले तोेकेका हब तथा सेटलाइट अस्पतालहरूले समेत व्यवस्थापनमा सहयोग नगर्दा त्यस्तो हुन गएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताएका छन् ।
‘निजी अस्पताल र मेडिकल कलेजले सहयोग गर्न नमानेका उनले बताए । त्यसैगरी स्थानीय टोलछिमेकले लक्षण नभएका संक्रमितलाई समेत घरमा बस्न नदिएपछि संस्थागत आइसोलेसन र अस्पतालमा राख्नैपर्ने बाध्यता परेको मन्त्रालयले जनाएको छ।
‘लक्षण नभएकालाई होम आइसोलेसनमा राख्न टोलवासीले फैलिने शंका गरेर बस्न नदिएको अवस्था रहेको छ ।
त्यसैगरी अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ ।
पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय छ । लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् ।मन्त्रालयले हालै कोभिडका बिरामीका लागि २० प्रतिशत बेड छुट्टयाउन निजी तथा सामुदायिक अस्पताललाई भनेको थियो भने मेडिकल कलेजहरुलाई एक तिहाई बेड बराबर आइसोलेसन सेन्टर बनाउन भनेको थियो ।
तर निजी अस्पताल र जनस्वास्थ्य विज्ञहरुले भने कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा संक्रमण फैलिन सक्ने र स्वास्थ्यकर्मीको व्यवस्थापन पनि कठिन हुने बताएका थिए । मन्त्रिपरिषद्को बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ । साथै पीसीआर परीक्षणलाई बढाउने र कट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने निर्णय भएको सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।