ललितपुर, ३ भदौ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ६८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,९३८ पुगेको छ। अहिले देशभरि ११,११८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।
त्यसैगरी काठमाडौं उपत्यकामा आज बुधबार १५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४५ जना महिला र ८९ जना पुरुष गरी १३४ जना, भत्तपुरमा २ जना महिला र ६ जना पुरुष र ललितपुरमा ७ महिला र १० पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितहरूमध्ये ३,१३१ जना घरमै र बाँकी ७,९८७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् ।
विगत २४ घण्टामा ११,५२२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा १२० जना भाइरसमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म १७,७०० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ६१ प्रतिशत छ।
देशभरि क्वारन्टीनमा १३,५७१ जना छन्। अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तर मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।
र याे पनि हेराैं
- लकडाउनकै मोडालिटिमा निषेधाज्ञा, अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द
- कुशे औँसी र कुशको महत्व
- काठमाडौंमा २०५ सहित, एकै दिन १ हजार १६ जनामा सङ्क्रमण पुष्टि
- पाटन अस्पतालमा कोरोना संक्रमित नेपाली कांग्रेसका नेता गिरीको निधन
- कोरोना संक्रमणबारे छलफल गर्न सिसिएमसी बैठक बस्दै