धादिङ, साउन ०६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गुल्जुङमा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ ।
निरन्तर आएको अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।
आइतबारदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।
काठमाडौंसँग टुट्यो पृथ्वी राजमार्गको सम्पर्क
अविरल वर्षापछिको बाढीले धादिङ र चितवन जोड्ने मौवाखोलाको पुलको एकतर्फी भाग बगाएको छ।
सोमबार दिउँसो करिब २ बजेतिर आएको बाढीले धादिङतर्फ मौवाखोलाको पुल करिब पाँच मिटर सडक कटान गरेको हो।
धादिङका प्रमुख जिल्ला अधिकारीका अनुसार तत्काल पुल मर्मत गर्न सक्ने अवस्था छैन। ‘पानी परिरहेको छ, धादिङदेखि मौवाखोला पुग्ने ९ ठाउँमा पहिरो छ,’ उनले भने, ‘मौवाखोलाकै बाढीले पुलको एकतर्फ सडक कटान गरेको हो। अहिले खोलामा पानी केही कम भएको छ तर तत्काल मर्मत गर्न सकिने अवस्था छैन।’
भोलिसम्म उक्त पुल मर्मत गरेपछि पृथ्वी राजमार्ग सुचारू हुने उनले जानकारी दिए। उक्त पुलमा क्षति पुगेपछि पृथ्वी राजमार्गको काठमाडौंसँगको सम्बन्ध टुटेको छ।
‘पाँच मिटरजति कटान भएको सडकमा माटो भरेर सडक सुचारू गर्नुपर्छ त्यसका लागि पानी पर्न कम हुनुपर्छ,’ उनले भने, ‘आज पुल मर्मत सम्भव छैन। वर्षा थामियो भने भोलि मर्मत गर्छौं।’
बाढीले पुलसँगैको सडक कटान गरेपछि धादिङतर्फ फसेका करिब २२ वटा सवारी साधन र एक सय जनाजति मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको उनले जानकारी दिए।
‘हिँडेर पनि चितवनतर्फ जान जोखिम छ। त्यहाँ रहेका मानिस र सवारी साधनलाई धादिङतर्फ सुरक्षित स्थानमा लगेका छौं,’ प्रजिअ तामाङले भने।
उक्त खोलामा तत्काल डाइभर्सनसमेत राख्न नसकिने भएकोले सडक सुचारू गर्न कठिनाइ भएको उनले बताए।
चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार मौवाखोला, कालीखोला लगायतमा सडक अवरूद्ध रहेको बताए ।