ललितपुर, २ साउन । विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप १०१ व्यक्तिमा सङ्क्रमण पुष्टि र एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अब देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,४४५पुगेको छ। तीमध्ये ११,५३४ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
विगत २४ घण्टामा २८५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।
उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,८७१ मानिस देशभरि आइसोलेशनमा छन्।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।
बिहीवार १६७ जनामा सङ्क्रमण पुष्टि भएको थियो। भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,६८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३,०८४९८ जनाको पीसीआर परीक्षण गरिएको छ।
अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २२, ७५६ मात्रै छ। अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।