ललितपुर,२३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,१६८ पुगेको छ । तीमध्ये ७,४९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन् ।
अहिले देशभरि आइसोलेशनमा ८,६३४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन् । अहिले पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका छन् ।
गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
गएको तीन दिनमा भने दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ । शनिवार २३२ जना र आइतवार २९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा बोल्दै डा. गौतमले सङ्क्रमित हुने क्रम घटिरहेको बताए।
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,१३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २, ६१,८६१ पुगेको छ । अहिले देशभरि क्वारन्टीनमा २५,७२७ जना छन्।
मन्त्रालयका अनुसार अहिले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य छ । त्यसैगरी महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरमा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।