एजेन्सी, ३१ भदौ । अमेरिकी पत्रिका टाइम म्यागजिनले तालिबान समूहका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारदारलाई सन् २०२१ का प्रभावशाली सय व्यक्तिको सूचीमा राखेको छ ।
तालिबानहरूले फेरि अफगानिस्तानको सत्ता कब्जा गरेपछि बारदारलाई अन्तरिम सरकारको उपप्रधानमन्त्री नियुक्त गरिएको छ । बारदार यसअघि तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुख थिए । अमेरिकासँग भएको तालिबानको शान्ति सम्झौतामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
पछिल्लो समय तालिबानले काबुल कब्जा गर्दा रक्तपातविहीन भएको र असरफ घानी सरकारका अधिकारीहरूलाई आममाफी दिने निर्णयमा बारदारको भूमिका रहेको टाइमले जनाएको छ ।
अतिवादी समूह तालिबानमा बारदार नरम खालका भएको र उनले आगामी दिनमा विदेशी सहायता र अन्तर्राष्ट्रिय सहकार्यमा अफगानिस्तानका लागि मूख्य भूमिका निर्वाह गर्न सक्ने टाइमले उल्लेख गरिएको छ।
बारदारसँगै अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलगायत नेताहरू पनि सूचीमा छन् ।
पछिल्लो समय तालिबानभित्र विवाद भएको र हक्वानी समूहका लडाकुले बारदारलाई आक्रमण गरेको हल्ला चलेको थियो। बारदार मारिएको वा घाइते भएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो तर बुधबार एक भिडिओमा देखिएका बारदारले आफू अहिले कान्दहार सहरमा रहेको बताएका छन्।
केही समयअघि अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले बारदारलाई तालिबानका अहिलेका अनुहार भनेको थियो । ५० वर्षीय बारदार तालिबान स्थापना भएदेखि अहिलेसम्म निरन्तर त्यसैमा लागेका छन्। यसबीचमा उनी कहिले सैन्य कमाण्डर बनेका छन्, कहिले देशको रक्षा मन्त्री, कहिले पाकिस्तानको जेलमा बन्दी त कहिले अमेरिकासँग प्रमुख वार्ताकार।
काबुलको राष्ट्रपति कार्यालयमा तालिबानले कब्जा जमाएपछि उनी भिडिओमा देखिएका थिए। शालिन स्वरमा उनले सबैलाई शान्त रहन भने र आफूहरूले राष्ट्रको सेवा गर्ने बताए। तालिबान लडाकुहरूलाई अरूको सम्मान गर्न पनि निर्देशन दिए।
‘जसरी हामीले यो उपलब्धि हासिल ग¥यौं त्यो अपेक्षित थिएन। अल्लाहले हामीलाई विजय दिनुभएको छ,’ उक्त भिडिओमा मुल्लाह बारदारले भनेका छन्।
तालिबानका संस्थापक मुल्लाह मोहम्मद ओमरबारे किताब लेखेका तालिबान विज्ञ बेट ड्यामका अनुसार बारदार र ओमरको भेट दक्षिणी कान्दाहारमा भएको थियो। सन् १९७९ मा सोभियत युनियनले अफगानिस्तानमा अतिक्रमण गरेपछि कान्दाहारबाटै तालिबानको जन्म भएको थियो।