दक्षिण कोरियामा कोरोनाभाइरसको प्रकोप फैलिएपछि त्यहाँ कार्यरत नेपाली नागरिकहरूले आफूहरू आत्तिएको बताएका छन् ।
दक्षिण कोरियामा झन्डै ४६,००० हजार नेपाली नागरिक रहेको बताइन्छ । तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि गएका व्यक्ति र विद्यार्थी छन् ।
सुरुमा राजधानी सोलमा मात्रै देखिएको सङ्क्रमण अहिले विभिन्न स्थानमा फैलिसकेको अधिकारीहरूले बताएका छन् । कोरोनाभाइरस फैलिएका स्थानमा नेपालीहरू छरिएर रहेकाले उनीहरूलाई सतर्क रहन भनिएको दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ ।
के भन्छन् दक्षिण कोरियामा कार्यरत नेपाली?
दक्षिण कोरियामा कार्यरत केही नेपालीले कोरोनाभाइरसको प्रकोप फैलिएकाले नेपालीहरू भयभीत भएको बीबीसीमा लेखिएको छ
“रुघा लाग्दा पनि सङ्क्रमण भयो कि भन्ने खालको मनोवैज्ञानिक त्रासमा हामीहरू छौँ,“ एउटा विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा कार्यरत रोशन शर्मा पौडेलले बीबीसीलाई बताए।
सङ्क्रमण देखिएका सहरमा मानिसहरूलाई समूहमा नहिँड्न, विशेष खालको मास्क अनिवार्य लगाउन, स्वास्थ्यमा समस्या देखिए उपचार गरिहाल्न र सङ्क्रमण भएको शङ्का लागे तुरुन्त जानकारी गराउन सूचना जारी गरिएको पनि उनले बताए।
“कुनै भवनमा सङ्क्रमण पाइयो भने त्यसलाई पूरै बन्द गरेर राखिन्छ,“ पौडेलले भने, “यहाँका शैक्षिक संस्थामा नयाँ सत्र मार्चबाट सुरु हुने भए पनि कोरोनाभाइरसकै कारण दुई हप्ता पछि सारिएको छ।“
उनका अनुसार पहिला घुँइचो हुने सार्वजनिक सवारीसाधनहरू हिजोआज सुनसान देखिन्छन्।
दक्षिण कोरियाकै अर्को सहरमा रहेकी मञ्जु पन्थीले पनि आफूहरू त्यहाँको सरकारले भनेका नियमहरूबारे सचेत रहेको बताइन्।
“अहिलेसम्म डराइ हाल्नुपर्ने अवस्था त छैन, तर पनि सङ्क्रमण बढेकाले हामी पूर्ण रूपमा सतर्क भएर बसेका छौँ,“ उनले भनिन्।
नेपालीहरूको अवस्था के छ?
गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपालीहरूमा सङ्क्रमण नदेखिएको भए पनि सतर्क रहन निरन्तर रूपमा भनिएको बीबीसीलाई बताए।
“अहिलेसम्म नेपालीहरूलाई सङ्क्रमण देखिएको छैन। तर यहाँका सबैजसो सहरमा नेपालीहरू रोजगारी वा अध्ययनका लागि रहेकाले हामीले सतर्क रहन भनेका छौँ,“ सुवेदीले भने।