काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले उनको पछिल्लो फिल्म ‘वसन्त’ का निर्मातालाई पैसा फिर्ता गर्न काठमाडौंमा रहेको आफ्नो घर बेच्न लागेका छन् भन्ने कुराले निकै चर्चा पाइरहेको छ ।
अहिले यो कुरा सामाजिक सञ्जालमा भाइरल बनेको छ । अझ प्रकाश सपुतको त करियरकै ओरालो यात्रा प्रारम्भ भयो भन्ने जस्ता कुराहरु समाचारको हेडलाइन नै बन्न थालेका छन् । यद्यपि, यस बारेमा न प्रकाश सपुतले नै केहि बोलेका थिए न त ‘वसन्त’ का निर्माता मोहन विश्वकर्माले नै कुनै अभिव्यक्ति दिएका थिए ।
तर सामाजिक सञ्जालमा यस प्रकारका नकारात्मक टिका–टिप्पणी बढेपछि भने ‘वसन्त’ फिल्कमा निर्माता मोहन विश्वकर्माले त्यस्ता समाचारहरुप्रति आपत्ति जनाएका छन् ।
निर्माता मोहन विश्वकर्मा भन्छन् – ‘हामीले निर्माण गरेको फिल्म ‘वसन्त’ को व्यवहारिक विषयलाई लिएर पछिल्लो समय विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आएका समाचार तथा टिका–टिप्पणीहरुप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । फिल्म ‘वसन्त’ हामीले नितान्त व्यवसायिक उद्देश्यले भन्दा पनि प्रतिभाशाली सर्जक प्रकाश सपूतको सपना, एउटा गम्भिर सामाजिक विषयवस्तु र नेपाली फिल्म क्षेत्रमा केहि योगदान गर्ने पवित्र उद्देश्यले फिल्म निर्माणमा सहकार्य गरेका हौँ ।’
उनले फिल्म विश्वको धेरै देशमा प्रर्दशन गर्न बाँकी रहेको तथा डिजिटल प्लाटफर्महरुमा पनि प्रदर्शन गर्न बाँकी रहेको पनि जानकारी गराएका छन् । त्यस्तै, उनले आफूहरुबीच अहिलेसम्म फिल्मका लागि भनेर हिसाब– किताबसमेत भइनसेको जानकारी निर्माता विश्वकर्माले दिएका छन् ।
अझ रोचक कुरा के हो यहि वर्षको अन्त्यसम्म भने निर्माता मोहन विश्वकर्माले त पुनः एक पटक प्रकाश सपूतसंग मिलेर अर्को पनि फिल्म निर्माण गर्न लागेका रहेछन् । यस्तो अवस्थामा आफूहरुको बारेमा भएका टीका–टिप्पणीले आफुहरुलाई निरुत्साहित बनााएको कुरा उल्लेख गर्दै उनले त्यस प्रकारको टिका–टिप्पणीको पछाडि नलाग्न समेत आग्रह गरेका छन् । उनले वसन्त सुपतसंगको पहिलो सहकार्य आफ्ना लागि बहुमुल्य सिकाइ र अनुभव भएको बताउँदै प्रकाश सपुतलाई आफ्नो कर्ममा दत्तचित्त भएर लाग्ने हौसलाको साथै शुभकामना दिएका छन् ।
अब ‘वसन्त’ फिल्मका निर्मातालाई ऋण तिर्नका लागि प्रकाशले घर बेच्दैछन् भन्ने खबर कसरी फैलियो, कसले फैलायो र यो खबरमा कतिको वास्तविकता रहेको छ ? भन्ने कुरा फिल्मका निर्माता स्वंयले नै खुलाएपछि के थाहा हुन्छ भने यदि कुनै कलाकार माथि साइबर सेना लाग्यो भने कुन हदसम्मको काल्पनिक खबर फैलँदो रहेछ भन्ने कुरा प्रष्ट भएको छ । सामाजिक सञ्जालमा चल्ने सबै खबरहरु वास्तविक हुँदैनन् । यद्यपि यसबारेमा अहिलेसम्म गायक तथा अभिनेता प्रकाश सपुतले प्रष्ट रुपमा कुनै अभिव्यक्ति दिएका छैनन् ।