काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी गरेको स्वीकार गरिसकेको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नो भागमा परेको बिगो बिगो फैसला अघि नै तिर्न तयार हुनुले अपराध स्वीकारेको पुष्टि हुने उनीहरूको दाबी छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौँला सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भनेर रास्वपाले चलाइरहेको हस्ताक्षर अभियानप्रति आपत्ति जनाए।
उनले भने, ‘६२/६३ लाख संकलन गर्नुभएछ सँगै हस्ताक्षर पनि, जसका नाममा हस्ताक्षर संकलन भइरहेको छ तीनै व्यक्ति बिगो स्वीकार गरेर जमानतमा छुटिपाऊ भनेर निवेदन दिए, म सोध्न चाहन्छु सत्य के हो ? बिगो स्वीकार गर्ने कुरा आफैँमा अपराधको स्वीकार गर्ने कुरा होइन? तपाईँको दलले घुमाउरो तरिकाले बिगो स्वीकार गरेर अभियोग स्वीकार गर्ने तहमा पुगिसकेपछि राजनीतिक प्रतिशोध भनेर लगाइएको आरोप नाटक हो भन्ने कुरा प्रमाणित भएन र ?’
कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि रास्वपाका सांसदहरूले आफूहरूलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गरेर बाहिरिएको भन्दै आक्रोश पोखिन्।
उनले भनिन्, ‘उहाँको सभापतिको विषयमा भर्खरै हिजो रुपन्देही अदालतले एउटा निर्णय पनि गरेको छ। उहाँले आफूलाई सहकारी ठगीको रकम उहाँको भागमा जति पर्छ– २ करोड ७४ लाख ८४ हजारको बैङ्क जमानत रकम म त्यो तिर्छु मलाई बाहिरबाट मुद्दा लड्न दिइयोस् भनेर भन्नुभयो। अदालतले त्यो कुरालाई अस्वीकार गरिदियो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो। तर अदालतले छाड्न मानेन त्यसमा धेरै कुरा थियो होला।’
बिगो बापतको रकम मुद्दाको छिनोफानो नहुँदै सहकारी पीडितले पाउँछ ? भन्दै प्रश्न गरिन्। उनले थपे, ‘कसरी शब्दमा खेलेर जालझेल गरिन्छ, हिजो मात्रै त्यहाँ देखियो। अदालतले धेरै निर्णय गरेको छ। अनि उहाँहरू दोष सरकारलाई लगाइराख्नुभएको छ।’
उनले अदालतमा विचाराधीन मुद्दाको विषयमा क्युआर कोडसहित हस्ताक्षर अभियान चलाएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘पैसा पनि दिनुपर्ने हस्ताक्षर पनि गर्नुपर्ने, यो विषयले अदालतको अपहेलन गरेको मानिन्छ कि मानिँदैनर ?’