काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा आएको विनाशकारी बाढीका कारण नेपालका नागरिकहरू पनि प्रभावित भएका छन्। जाजरकोटको कुशे गाउँपालिकाका कम्तीमा १३ जना नागरिक बाढीपछि सम्पर्कविहीन बनेका छन्।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा कुशे गाउँपालिका–२ का करिब १३ जना र अन्य वडाका केही व्यक्ति बाढीपछि हराएको जनाइएको छ। सामाजिक सञ्जाल र स्थानीय स्रोतहरूबाट प्राप्त सूचनाअनुसार उनीहरू बेपत्ता रहेको अनुमान गरिएको हो।
अध्यक्ष बस्नेतले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र कूटनीतिक माध्यममार्फत भारत सरकारसँग समन्वय गरी हराइरहेका नेपाली नागरिकहरूको तत्काल उद्धार र खोजी कार्य अघि बढाउन संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
बेपत्ता भएका व्यक्तिहरूमध्ये नवीन सिंहले आफ्ना पिता मानबहादुर सिंहसहित ७ जना बाढीपछि बेपत्ता भएको जानकारी फोनमार्फत दिएका छन्।
यसअघि बर्दिया जिल्लाका चार नेपाली नागरिक पनि बाढीमा बेपत्ता भएको पुष्टि भएको थियो। बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, त्यहाँ रहेका नेपाली तथा आफन्तमार्फत बेपत्ताको खबर प्राप्त भएको हो। साथै, थप ३ जना नेपाली घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी पौडेलले सबै विवरण सम्बन्धित मन्त्रालयलाई पठाइसकिएको र भारतीय पक्षसँग दिल्लीस्थित नेपाली दूतावासमार्फत समन्वय भइरहेको जानकारी दिएका छन्।
बुधबार दिउँसो आएको बाढीले उत्तराखण्डमा ठूलो जनधनको क्षति पुर्याएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने एक सयभन्दा बढी मानिस अझै बेपत्ता छन्। नेपाली दूतावासले पनि आफ्ना नागरिकको अवस्थाबारे भारतीय पक्षसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।