काठमाडौँ । लगातार वर्षाका कारण दैलेख जिल्लाको नारायण नगरपालिका–१, गणेशचोकस्थित नमुना वस्ती उच्च जोखिममा परेको छ । तत्कालीन द्वन्द्वकालमा विस्थापित भएर दैलेख सदरमुकाम आएका बादी समुदायलाई भिरालो जमिनमाथि स्थापना गरिएको उक्त वस्तीमा पहिरो र सतही कटानले घरधुरीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । वर्षाका कारण केही घरहरू बस्न अयोग्य बनेका छन् भने स्थानीय बासिन्दा दैनिक ज्यानको सुरक्षासँगै घरबार गुम्ने चिन्तामा छन् ।
बस्ती बसेको साढे दुइदशक बढी भयो । वस्तीमा हाल ४२ परिवारको बसोबास छ । तीमध्ये ८ वटा घर बढी जोखिमयुक्त रहेका छन् भने २० घरलाई त्रिपाल लगाएर सुरक्षा गरिएको छ । वस्तीका अधिकांश परिवार ज्यालामजदुरी गरेर गुजारा चलाउँछन् ।
बर्खामा पहिरो जाने जोखिम र घर चुहिने समस्या करिब एक दशकदेखि दोहोरिँदै आएको स्थानीयहरूको गुनासो छ । भिरालो जमिनमा बस्ती भएकाले वर्खा लागेसँगै जोखिममा पर्छ । बस्तीमुनि सडक भएकाले पनि बर्सेनि बस्तीमा आउने पहिरोले घर भत्कने र चर्कने गर्दछ । फेरि हिउँद लागेसँगै घर पुनर्निर्माण गरिने गरेको स्थानीय बताउँछन् ।
पानी परेको राती ढुक्कले निदान सक्ने अवस्था नरहेको रहेको बस्तीनै जोखिमको छायाँमा रहेको नमुना बस्तीकी रामकुमारी वादी बताउँछिन् । विगतमा एउटै परिवारका तीन जनाको ज्यान गएको थियो,’उनी भन्छिन्, ‘अहिले पनि पानी प¥यो भने केही घटना नघट्ने भन्ने कुनै आशा छैन ।’
आफुहरुको गरिखाने पुरानो पेशा लोप भएसँगै अहिले ज्याला मज्दुरी गरेर खान सहज भएको भएपनि वर्खा लागेसँगै पहिरो जाने डरले रातभर चिन्ताले नछोड्ने गरेको उनी बताउँछिन् । आफ्नो भएको सीप अहिले संकटमा छ अरु सीप छैन,’उनले भनिन्, ‘यहाँबाट अन्त गए साझबिहानको छाक टार्ने उपाय छैन । बजार नजिक भएकैले ज्याला मज्दुरीले हातमुख जोर्ने उपाय बनेको छ ।’
बस्तीकै अर्की हिरादेवी वादीले चुनावताका बेला विभिन्न आशा देखाएर भोट बटुल्ने गरेपनि हाम्रो यस्तो अवस्था भोटमाग्नेहरुनै टुलुटु हेरिरहेको बताइन् । चुनाव आयो भने सबै नेता कार्यकर्ता तपाइँहरुका समस्या हामी समाधान गछौँ भन्छन्,’उनी भनिछन्, ‘भोट माग्छन् चुनाव पनि जित्छन् हाम्रो समस्यामा रमीते बनेर हेर्नशिवाय अरु केही गर्दैनन् ।’
तिनवटै तहका सरकारले संवेदनशील भएर आफुहरुका लागि सुरक्षित बास र गासको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।
बस्तीका बासिन्दा बजार आशपास बाहेक अन्त सन मान्दैनन् ।बजार नजिक बस्ती भए ज्यला मज्दुरी गर्न सहज हुने र दैनिकी चलाउन सहज हुने भएकाले बजार क्षेत्रबाट टाढा नजाने उनीहरुको अडान छ ।
स्थानीय बासिन्दाहरू वर्षा याममा दोहोरिने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा स्थानान्तरण र स्थायी आवासको माग गर्दै आएका छन् । यतिका वर्ष जोखिम मोलेरै बसियो तर, अब त हामी जोखिममै बस्न सक्दैनौं त्यो जोखिम सहने शक्ति कम्जोर भइसक्यो,’उनले भनिन्, ‘हामीलाई अब सरकारले साझ बिहान काम गरेर चुलो बाल्न सक्ने सुरक्षित ठाउँ खोजी गरेर पुनर्वास गरिदिनुपर्छ ।’
बस्तीकोे भिरालो जमिन र सडकको निकटताले जोखिम बढेको छ। सार्वजनिक जग्गा अभावका कारण तत्काल वस्ती स्थानान्तरण असम्भव रहेको र नगरपालिकाले पनि जग्गा उपलब्ध गराउन सक्ने क्षमता नभएको नारायण नगरपालिका मेयर लोमन शर्मा बताउँछन् । हामीले बस्ती सुरक्षित बनाउन २० वटा घरमा त्रिपाल लगाएर सुरक्षित बनाएका छाँैँ,’उनी भन्छन्, ‘अर्को विकल्पका लागि संघीय सरकारसँग जग्गा उपलब्ध गराउन पहल गरिरहेका छौँ ।’
उनले थपे, “नजिकै बाल हेल्पलाइन र हाट बजारको भवन सुरक्षित आवासको व्यवस्था गरिएको छ, तर स्थानीय बासिन्दाहरू अहिलेसम्म आफ्नै घरमै बस्न रुचाएका छन् ।”
नारायण नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी दैलेखमार्फत १० घरधुरीलाई पाल वितरण गरी राहत उपलब्ध गराएको छ । सोसेक नेपालका बाल संरक्षक अधिकृत प्रभा कुमार विकले जोखिम न्यूनीकरण र सुरक्षित आवासको व्यवस्थापनमा काम भईरहेको बताए ।
विवादास्पद जमिनको अवस्था, पूर्जाविहीन परिवारहरूको पुनर्वास र जग्गा अभावले गर्दा वस्तीको तत्काल स्थानान्तरणमा कठिनाइहरू देखिएका छन् । नगरपालिकाले भूमि आयोगसँग सहकार्य गर्दै उचित जग्गा उपलब्ध गराउने प्रयास गरिरहेको मेयर शर्माको भनाई छ । हामीले भूमीआयोगबाट सबै प्रक्रिया पुरा गरेर जग्गा प्राप्तिका लागि पालिकाबाट सिफारिस गरेर आयोगमा पठाइसकेका छौँ,’उनले भने, ‘अब भूमि समस्या समाधान आयोगबाट उनीहरुलाई पूर्जा दिनुपर्ने हो तर, त्यो पूर्जा दिनको लागि जुन ठाउँमा उहाँहरुको बस्ती छ त्यो ठाउँमा जोखिमयुक्त जमिन भएकाले पूर्जा दिन नमिल्ने अवस्था छ ।’
मेयर शर्माका अनुसार २०५४÷०५५ मा जम्मा सात जनाको मात्र परिवार आएको बताए । पहिले सात जनाको परिवार मात्र यहाँ आएर बसेको थियो,’उनले भने, ‘पछि सबैले आ–आफ्न्तलाई बोलाउँदा अहिले यो ठाउँमा परिवार संख्या बढेको छ ।’
सोही निर्वाचन क्षेत्र दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट निवाचित प्रतिनिधि सभा सदस्य तथा शिक्षा समिति सभापति अम्मर बहादुर थापाले नमुना वस्तीबाट बस्ती स्थानान्तरण गर्ने प्रस्ताव गर्दा पनि स्थानीय बासिन्दाहरूले स्थानान्तरण हुन अस्वीकार गरिरहेको बताए ।
पहिले जग्गा उपलब्ध गराउने योजना थियो, तर वस्तीका बासिन्दाहरूले त्यो ठाउँ छोड्न मान्दैनन्,’थापाले भने, ‘वरिपरि उपयुक्त जग्गा अभावका कारण उनीहरूलाई केही टाढा जानुपर्ने अवस्था छ, तर त्यहाँ जान पनि उनीहरू इच्छुक छैनन् ।’
बस्तीको तल सडक र माथि वस्ती भएकाले उक्त क्षेत्र जोखिमपूर्ण भएपनि बस्तीवालाले अन्त स्थानान्तरण हुन नमानेको थापाको भनाई छ । पहिरो जानबाट रोक्न वाल लगाएर संरक्षण गर्ने योजना अनुसार योजना पनि हालेको तर, पनि भएन,’सांसद थापाले भने, ‘यदि बस्ती त्यहाँ देखि अन्यत्र स्थानान्तरण हुन मानेको अवस्थामा उनीहरूको लागि जग्गाको व्यवस्था हुन्छ ।’