काठमाडौँ । एउटै एउटा डोरी, एउटै बन्धन, एउटै अन्त्य । भक्तपुरको बोडे, सिन्टिटारस्थित घरको भुइँतलामा बिहीबार बिहान ६: ४५ बजे दुई किशोरी– १७ वर्षीया मेनुका र १५ वर्षीया सृजना कँडेल– जीवनको अन्तिम निर्णयमा पुगेका अवस्थामा मृत भेटिए ।
। भक्तपुरको बोडे, सिन्टिटार स्थितमा दुई तले घरको भुईँ तलामा बस्दै आएका यी दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ ।
मोबाइललाई सेल्फीमोडमा राखेर दुवैले एउटै डोरीको पासो लगाएको फोटोसहित भिडिओ हालेको केहीबेरमै उनीहरू अफलाइन भएका थियो । उक्त भिडिओमा राखिएको गीत छ, मरेर गए नि नतोडिने बन्धन माया हो ।’
प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भेटिएको थियो । घाँटीमा डोरीको पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा देखिँदैन, सामान्य स्थितिमै फोटो पनि खिचेका छन् ।
उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका-८ का स्थानीयवासी हुन् । बाबुआमा रोजगारीका सिलसिलामा भारतमा छन् । काठमाडौंको कलंकीमा आन्टी बस्छिन् । प्रहरीले परिवारलाई खबर गरेपछि भारतबाट बाबुआमा नेपाल फर्किंदैछन् । मृतकहरूकी कान्छीआमा भर्खरै घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
शव बुझ्न बोडे पुगेकी कान्छीआमाले मृतकका बुबा भारतबाट काठमाडौं आउनका लागि जहाज चढिसकेको प्रहरीलाई बताएकी छन् । दिदीबहिनी भारतबाट भागेर नेपाल आएको उनले प्रहरीलाई भनिन् ।
दुई छोरी एकसाथ हराएपछि भारतमा विभिन्न मिडियाबाट मानिस हराएको सूचना गरिएको थियो । उनीहरू भागेर काठमाडौं आएका छन् भन्ने कुरा बिहान मृत अवस्थामा फेला परेपछि मात्रै थाहा भएको ती कान्छीआमाले प्रहरीलाई बताइन् । उनीहरूको साथमा मोबाइल भए पनि कहाँ, कसरी बसेको भन्नेबारे परिवारलाई केही नभनेको उनको भनाइ छ ।
आत्महत्याअघि फेसबुकमा बुबाको भारतमा चल्ने मोबाइल नम्बर हालेका थिए । त्यही आधारमा प्रहरीले उनीहरू मृत अवस्थामा फेला परेको खबर पहिला बुबालाई गरेको थियो । बुबाले कलंकीमा रहेकी आन्टीलाई तत्काल बोलाइदिन भनेका आधारमा उनी सम्पर्कमा आएकी हुन् ।
प्रहरीले उनीहरू मृत फेला पर्नासाथ पहिचान खुलाउने क्रममा मोबाइल हेरेको थियो । त्यसबाट आवश्यक सम्पर्क नम्बर पत्ता लागेपछि अहिले उक्त मोबाइल सिल गरेर राखिएको भक्तपुरका जिल्ला प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
भारत भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पाइएको छ ।