काठमाडौँ । जाजरकोट जिल्लामा साइबेरियाली मलसाँप्रो सूचीकृत भएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जीव विज्ञान विभागद्वारा नियमित प्रकाशित हुने नेप्लिज जर्नल अफ जुलोजीमा प्रकाशित लेखमार्फत पहिलो पटक जाजरकोट जिल्लामा साइबेरियाली मलसाँप्रो सूचीकृत गरिएको छ ।
प्रकृति संरक्षण अभियान नेपालले जाजरकोटको नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाका विभिन्न जंगलमा ट्र्याप गरेको क्यामेरामा साइबेरियाली मलसाँप्रो कैद भएको कार्यक्रम संयोजक बद्री बरालले जानकारी दिए । मस्टेलिड प्रजातिअन्तर्गत नेपालमा सूचीकृत भएका १३ प्रजातिका जनावरहरूमध्ये हालसम्मको अनुसन्धानबाट जाजरकोट जिल्लामा चार प्रजातिका मस्टेलिड जनावरहरू सूचीकृत भएको कार्यक्रम संयोजक बरालले बताए ।
जाजरकोटमा सूचीकृत भएका चार प्रजातिका मस्टेलिड जनावरहरूमध्ये साइबेरियाली मलसाँप्रो, पित्तोदार मलसाँप्रो, मलसाँप्रो तथा कालो ओत रहेका कार्यक्रम संयोजक बरालले बताए । उनले भने, ‘साइबेरियाली मलसाँप्रोलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका साथै, नेपालका स्तनधारी जीवहरूको स्थितिसम्बन्धी राष्ट्रिय रेड लिस्टअनुसार ‘कम चिन्ताजनक’ श्रेणीमा मूल्यांकन गरिएको छ ।’
प्रकृति संरक्षण अभियान नेपालका कार्यक्रम संयोजक बद्री बरालको नेतृत्वमा दीपकराज बस्नेत, जीवन राईका साथै स्थानीयमा कुशे गाउँपालिकाका जागृति शाही, दिनेश बस्नेत, बारेकोट गाउँपालिकाका गोविन्दबहादुर सिंह र नलगाड नगरपालिकाका धीरेन्द्र ध्यारसहितको टोलीले क्यामेरा ट्र्याप गरेर विभिन्न वन्यजन्तुको सर्वेक्षण गरेका थिए । उक्त टोलीले गरेको सर्वेक्षणबाट साइबेरियाली मलसाँप्रो सूचीकृत गर्न सफल भएको थियो ।
हालसम्म नेपालको गौरीशंकर संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, अपी–नम्पा संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र मकालु वरुण राष्ट्रिय निकुञ्जमा साइबेरियाली मलसाँप्रो सूचीकृत भएको थियो । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र बाहिर हुम्ला र मुगुमा सूचीकृत भएको थियो ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौंको केन्द्रीय जीव विज्ञान विभागको नेप्लिज जर्नल अफ जुलोजीमा लेख प्रकाशित भएपछि पहिलो पटक जाजरकोटमा साइबेरियाली मलसाँप्रोको उपस्थिति औपचारिक रूपमा सूचीकृत भएको छ ।