दैलेख । जिल्लाका ११ वटै स्थानीय तहले आर्थिक वर्ष २०८१÷०८२ को बजेट खर्च विवरण सार्वजनिक गरेका छन् । वर्षभरिको आर्थिक कारोबार सम्पन्न भएको घोषणा गर्दै अधिकांश पालिकाहरूले ८० प्रतिशतभन्दा माथि वित्तीय प्रगति हासिल गरेका छन् । यद्यपि, चालु खर्चको तुलनामा पुँजीगत खर्चको प्रतिशत केही कम देखिएकोले विकास निर्माणका कार्यहरूमा थप जोड दिनुपर्ने आवश्यकता छ ।
आर्थिक वर्षको अन्त्यसम्ममा पालिकाहरूले वित्तीय अनुशासन कायम राख्दै बजेट कार्यान्वयनमा सक्रियता देखाएका छन् । यसले स्थानीय सरकारहरूको वित्तीय व्यवस्थापन क्षमतामा केही सुधार आएको संकेत गर्दछ ।
पालिकागत वित्तीय प्रगति विवरण
जिल्लाका ११ पालिकाहरूमध्ये महाबु गाउँपालिकाले आयको अनुपातमा सबैभन्दा उच्च खर्च प्रगति ९०.२१ प्रतिशत हासिल गरेको छ । गाउँपालिकाको रु ४५ करोड ८३ लाख १५ हजार ४७९.०४ कुन आय प्रस्ताबित गरिएकोमा संघीय सरकारबाट प्राप्त हुनुपर्ने निकासा अपेक्षाकृत रुपमा प्राप्त नहुँदा वास्तविक आय रु ४३ करोड २५ लाख ६ हजार ३४६.४६ रुपैँया रहेको मबाबु गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कुल बजेटको ८५.१३ प्रतिशत खर्च गरेको छ, जसमा चालु खर्च ८८.५७ प्रतिशत र पुँजीगत खर्च ७८.२५ प्रतिशत रहेको छ । महाबुले संघीय सरकारबाट अपेक्षित निकासा प्राप्त नहुँदा पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गरेको देखिन्छ ।
त्यस्तै, डुङ्गेश्वर गाउँपालिकाले कुल खर्च प्रतिशत ८७.४२ प्रतिशत पु¥याएको छ, जसमा चालु खर्च ९०.५३ प्रतिशत र पुँजीगत खर्च ८०.९५ प्रतिशत रहेको छ । भगवतीमाई गाउँपालिकाले पनि ८७.८६ प्रतिशतको प्रभावशाली समग्र खर्च प्रतिशत हासिल गरेको छ, जसको चालु खर्च ८८.७७ प्रतिशत र पुँजीगत खर्च ८५.११ प्रतिशत रहेको छ ।
दैलेख जिल्लाको सदरमुकाम समेत रहेको नारायण नगरपालिकाले ८६.१३ प्रतिशत कुल खर्च गरेको छ, जसमा चालु खर्च ८८.०६ प्रतिशत र पुँजीगत खर्च ८१.०५ प्रतिशत रहेको छ । ठाटीकाँध गाउँपालिकाले कुल बजेटको ८६.३२ प्रतिशत खर्च गरेको छ, जसमा चालु खर्च ८८.३७ प्रतिशत र पुँजीगत खर्च ८२.१३ प्रतिशत रहेको छ ।
त्यस्तै आठबीस नगरपालिका ले ८३.९८ प्रतिशतको समग्र खर्च प्रगति देखाएको छ, जसमा चालु खर्च ८७.३३ प्रतिशत र पुँजीगत खर्च ७४.७० प्रतिशत रहेको छ । नौमूले गाउँपालिका ले ८२.८२ प्रतिशतको औसत प्रगति हासिल गरेको छ, जसको चालु खर्च ८९.४१ प्रतिशत र पुँजीगत खर्च ६८.७९ प्रतिशत रहेको छ । नौमूलेमा विनियोजित ५६ करोड रकममध्ये संघीय सरकारबाट ५०.५ करोड मात्र वास्तविक आय प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
भैरवी गाउँपालिका ले ८२.७४ प्रतिशत कुल खर्च गरेको छ, जसमा चालु खर्च ८६.५३ प्रतिशत र पुँजीगत खर्च ७५.८९ प्रतिशत रहेको छ । गुराँस गाउँपालिका ले ८१.५ प्रतिशतको समग्र खर्च प्रतिशत देखाएको छ, जसमा चालु खर्च ८४.५ प्रतिशत र पुँजीगत खर्च ७२.५ प्रतिशत रहेको छ ।
दुल्लु नगरपालिकाले कुल बजेटको ८१.७६ प्रतिशत खर्च गरेको छ । यस नगरपालिकाको चालु खर्च ८७.२५ प्रतिशत र पुँजीगत खर्च ७२.३३ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा चालु खर्चमा वृद्धि भए पनि पुँजीगत खर्चमा भने गिरावट आएको देखिन्छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाले भने चालु आर्थिक वर्षका स्वीकृत बजेट, योजना तथा कार्यक्रम अनुसारका सम्पूर्ण कार्यहरूको भुक्तानी सम्पन्न भएको जानकारी गराएको छ, तर विस्तृत खर्च प्रतिशत उल्लेख गरेको छैन ।
चालु र पुँजीगत खर्चको प्रवृत्ति
समग्रमा हेर्दा, अधिकांश पालिकाहरूमा चालु खर्चको प्रतिशत पुँजीगत खर्चभन्दा बढी देखिएको छ । यसले प्रशासनिक र नियमित सञ्चालन खर्चमा बढी बजेट खर्च भएको र विकास निर्माण तथा पूर्वाधार विकासमा गरिने पुँजीगत खर्चमा अपेक्षित प्रगति हुन नसकेको संकेत गर्दछ ।
उदाहरणका लागि, दुल्लु नगरपालिकामा चालु र पुँजीगत खर्चको फरक १४.९२ प्रतिशत रहेको छ, जसले यस प्रवृत्तिलाई पुष्टि गर्छ ।
नौमूले गाउँपालिकाको पुँजीगत खर्च ६८.७९ प्रतिशत मात्र रहेको छ, जुन अन्य पालिकाहरूको तुलनामा कम हो । पुँजीगत खर्च गर्न नसक्नुमा योजना सम्झौता ढिलो र विविध कारणले भएको पालिकाहरुको भनाई छ । योजना सम्झौता ठिलो हुनु कार्यान्वयन पक्षमा ढिलासुस्ती हुँदा पुँजीगत खर्च गर्न नसकेको नौमूले गाउँपालिका अध्यक्ष छबिराम सुबेदीको भनाई छ ।