काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकामा कृषि कार्यक्रमका लागि विनियोजित रकम हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको अभियोगमा इन्जिनियर र वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न छुट्याइएको १५ लाख रूपैयाँ कार्यक्रम सञ्चालन नगरी कागजमै अनियमित तरिकाले खर्च गरिएको पाइएको हो
सबैला नगरपालिका वडा नम्बर ३, ७ र ८ मा कार्यक्रम सञ्चालनका लागि अर्चना सहकारी संस्था लिमिटेडसँग सम्झौता गरिएको थियो । तर, सम्झौता भए पनि कार्यक्रम सञ्चालित नभएको, खरिद गरिएको भनिएको बोका, पाठी, च्यापक र डाले घाँस कसलाई वितरण गरियो भन्ने विवरण नरहेको र खरिद गरिएको भनिएको सामग्री साँच्चिकै आपूर्ति नभएको प्रमाणित भएको आयोगको भनाइ छ ।
राधा कृषि फर्मबाट खरिद गरिएको भनिएका पशु तथा सामग्री वास्तवमा नबेचिएको र सो फर्मले सम्बन्धित आर्थिक वर्षमा कुनै कारोबार नगरेको जनकपुरस्थित आन्तरिक राजस्व कार्यालयले पुष्टि गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
यसरी, अनुदान वापतको १४ लाख ७७ हजार ५ सय रूपैयाँ बराबरको रकम झुट्टा बिल भरपाई र गलत कागजात तयार पार्दै हिनामिना तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरिएको पुष्टि भएको आयोगको निष्कर्ष छ ।
सो प्रकरणमा तत्कालीन इन्जिनियर रञ्जित कुमार यादव, वडा नम्बर ८ का तत्कालीन वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।