काठमाडौँ । मधेश प्रदेशको अगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर प्रदेशसभामा देखिएको गतिरोध हटाउन गठन गरिएको कार्यकालको बैठक विपक्षी दलहरूले बहिस्कार गरेको छ ।
सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यबाट २९४ वटा पृष्ठ नै गायब भएको भन्दै विपक्षी दलहरूले कार्यदलको बैठक बहिस्कार गरेको प्रमुख प्रतिपक्षी दल जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले बताए ।
दुनियाँमा कहीँ नभएको काम यो प्रदेश सरकारले गरेको छ,उनले भने । रेडबुक सार्वजनिक गरेको ४ सय ५५ पृष्ठ भए पनि अहिले अन्तिम पृष्ठ ७ सय ४९ रहेको उनको भनाइ छ ।
यस्तोमा सरकारले बीचको बाँकी पृष्ठ नै गायब बनाएको उनको दाबी छ । करिब ३ अर्बको बजेट गायब गरेको छ । यस्तो बजेटमाथि हामीहरूलाई विश्वास छैन । त्यसकारण बहिस्कार गरेका छौँ,’ उनले भने ।
उनले सबै योजनाहरू समावेश भएको रेडबुक सार्वजनिक नगरेसम्म आफूहरु कार्यदलमा सहभागि नहुने बताए । विपक्षी दलहरूको सहभागीताबिना प्रदेशसभाको बैठक चले आफूहरूले सभामुखको राजीनामा माग्ने उनको भनाइ छ ।
२८ असारमा उपसभामुख वविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरिएको थियो । बजेटमा बिचौलिया हावी भएको लगायतका आरोप लगाउँदै विपक्षी दलहरूले प्रदेशसभा अवरुद्ध गरेपछि कार्यदल बनाइएको हो ।
बजेटमा भएको त्रुटि सच्चाउन सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । तर कार्यदलमा मन्त्रीलाई सदस्यको रूपमा राखिएको भन्दै विपक्षी दलहरूले आपति जनाउँदै २८ आसरमा बसेको सभाको बैठक अवरुद्ध गरेका थिए ।
त्यसपछि सभामुख मण्डलले १० मिनेटको लागि सभा स्थगित गरी सर्वदलीय बैठक राखेका थिए । बैठकमा उपसभामुखको संयोजकत्वमा नयाँ कार्यदल गठन गर्ने सहमति भएपछि सभाको गतिरोध हटेको थियो । तर, कार्यदलमा कुरा नमिलेपछि आज पुनः विपक्षी दलले कार्यदलको बैठक नै वहिस्कार गरेका छन् ।
कार्यदलमा कांग्रेसको तर्फबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमतको तर्फबाट चन्दन सिंह, सम्भु साह र लोसपाकी रमिता प्रधान छन् ।
यस्तै विपक्षी दलहरूबाट जसपा नेपालका रामअशिष यादव, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल, माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी बिमला अंशारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह रहेका छन् ।