काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
सोमबार बिहान पौने ११ बजे मन्त्री गुप्ता बालुवाटार पुगेका हुन् ।
७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रतिपक्षी दलले मन्त्रीको अडियोबारे जवाफ मागेका थिए भने जनस्तरमा पनि सरकारको आलोचना भइरहेको छ ।
प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गर्ने तयारी गरिरहँदा उनी बालुवाटार पुगेका हुन् ।
स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा उनलाई बर्खास्तको निर्णय हुनेछ । ‘राजीनामा गर्न नै भनिन्छ । त्यो नै उत्तम विकल्प हो’ स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ ।’
सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ।
‘पहिलो कुरा त मन्त्री गुप्ताकै कुरा पनि पुष्टि हुन बाँकी छ । अब उनले भन्यो भन्दैमा तत्काल अर्को मन्त्रीलाई एक्सन लिने हुँदैन,’ स्रोत भन्छ ।
सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया र मन्त्री गुप्ता बीच सम्वाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।
यद्यपि अडियोमा नाम लिइएको व्यक्ति आयोगको जिल्ला अध्यक्ष नियुक्त भएनन् । विचौलियाले प्रस्ताव गरेको नाम एमाले जिल्ला र प्रदेश कमिटीका नेताहरुका कारण सफल हुन नसकेको बुझिन्छ ।
अडियोलाई आधार मान्दा भूमि आयोगको जिल्ला अध्यक्ष जस्तो राजनीतिक नियुक्तिमा मात्र नभएर मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा पनि डिल भएको छ । मलपोत कार्यालय प्रमुख सरुवामा ५३ लाख घुसको डिल भएको छ ।